coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मेसीकी फ्यान सोना

फागुन २५ गते राति बार्सिलोना र पिएसजी टिमको खेल हुने भएपछि कागेश्वरी मनोहरा नगरपालिकाकी सोना थापा दंग थिइन्। झन्डै तीन साताअगाडि भएको खेलमा पिएसजीसँग ४–० ले बार्सिलोना हारेको पीडा उनले भुल्न सकेकी थिइनन्। अघिल्लो साताको पराजय बिर्सने गरी यसपालि बार्सिलोनाले बदला लिन्छ भन्नेेमा उनी विश्वस्त थिइन्।

उनी साँझैदेखि उक्त बहुप्रतीक्षित खेलकोे पर्खाइमा थिइन्। भोलिपल्ट कलेज जानुपर्ने भए पनि उनी राति नसुतेरै फुटबल हेर्ने निधोमा पुगिन्। खेलस्थलको मौसम सफा थियो। तर सोनाको खेल हेर्ने सपनामा अचानक आँधी आयो।

रातभर फुटबल हेरेर कलेज जाँदा छोरी बिरामी होली भन्ने मायाले आमाले उनलाई टिभी हेर्न दिइनन्। सोना निराश भइन्। सुरुमा त उनले मानिनन्, फुटबल हेेरेर कलेज जान्छु भनिन्। रातभरि नसुतेकी छोरी कलेज जाँदा बिरामी हुने चिन्ता आमालाई भयो। त्यसैले उनले टिभी चल्ने बिजुलीको लाइन बन्द गरिन्।

सोनाले आमासँग खेल हेर्न दिन अनुरोध गरिरहिन्, निकै कराइन् तर आमाले मानिनन्। आमालाई छोरीको माया थियो, छोरीलाई आमा र फुटबल दुवैको।

त्यो रात बार्सिलोना र पिएसजीबीच घमासान चलिरहेको थियो। यहाँ आमा र छोरीबीच टिभीमा फुटबल हेर्ने विषयलाई लिएर द्वन्द्व चलिरहेेको थियो। उता बार्सिलोनाले जित्यो, यता कसैले जितेन। बिहान उठ्दा दुवै पराजित देखिन्थे। बार्सिलोनाले पिएसजीमाथि ६–१ ले विजयी बनेको उक्त खेलमा सोना रातभरि रोइन्। छोरी रोएरै रातभरि नसुतेपछि आमा पनि दुःखी बनिन्।

'म रातभरि निदाउन सकिनँ,' सोनाले भनिन्, 'खेल सकिएको दुई साता भइसक्यो तर अझै त्यो पीडा बाँकी छ।'

रातभर रोए पनि केही दिन आमासँग बोलचाल नभएको उनले सुनाइन्। 'पछि ममी बिस्तारै बोल्न आउनुभएको थियो,' रिलायन्य कलेजमा स्नातक प्रथम वर्षमा अध्यरनत सोनाले भनिन्, 'तर अझै मलाई राम्रोसँग बोल्न मन छैन।'

सोनाकी आमा अम्बिकालाई पनि त्यो रात छोरी रोएको पीडा छ। 'बिहान कोठामा जाँदा छोरी सोफामै निदाएको देख्दा पीर लाग्यो,' उनले भनिन्, 'बिहान कलेज जानुपर्छ भनेर पनि मैले नहेर भनेकी हुँ।'

फुटबलप्रति सोनाको रुचि सानैदेखिको हो। उनी फुटबल त्यसमा पनि मेसी भनेपछि हुरुक्कै हुन्छिन्। उनी सधैँजसो मेसीको नाम अंकित जर्सी लगाउँछिन्। पहिले उनी बेकह्याम र रोनाल्डिनोको प्रशसंक थिइन्। पछि मेसीकै यति फ्यान हुन पुगिन्, उनी प्रायः मेसीकै जर्सीमा देखिन्छिन्। मेसी खेलेकाले नै उनलाई बार्सिलोना मन पर्छ। बार्सिलोनाले जितेको खेलमा मेसीको राम्रो खेले उनी फुरुंग हुन्छिन्। 'उसको गोडामा बल परेपछि मन खुसी हुन्छ,' उनले भनिन्, 'उसले बल छुँदा गोल भएको अनुभूति हुन्छ।'

सोनाका बुबा पनि मेसीका फ्यान हुन भने भाइ सनम रोनाल्डोका। त्यसैले कतिपटक दिदीभाइबीच पनि फुटबलको विषयमा झगडा पर्ने गरेको छ। 'रियल म्याड्रिड र बार्सिलानोको खेल भएको दिन त हाम्रो घरमा पनि प्रभाव पर्छ,' उनले भनिन्, 'म्याड्रिडले गोल गर्दा भाइ कराउँछ, बार्सिलोनाले गोल गर्दा म चिच्याउँछु।' फुटबलले जीवनमा खुसी दिने उनी सुनाउँछिन्।

उनलाई मेसी मन पर्नुका कारण उनको खेल्ने शैली नै हो। आफूले गोल नगरे पनि साथीलाई गोल गर्ने अवसर जुटाइदिने मेसीको शैलीमा उनी मोहित छन्। 'मलाई पहिला खेल मन पर्‍यो,' उनले भनिन्, 'बिस्तारै मेसी राम्रो लाग्न थाल्यो।'

आइतबार राति मेसीको दुई गोलको मद्दतले भ्यालेन्सिया पराजित भएपछि उनको मन केही हल्का भएको छ। तर उनी अझै आमासँग खुलेर बोलेकी छैनन्। 'त्यो रात मेरो मन दुखेको थियो,' उनले भनिन्, 'बिस्तारै ठीक हुनेछ।' उनको सपना छ, एक दिन स्पेनमा गएर मेसीलाई भेट्ने अनि प्रत्यक्ष फुटबल हेर्ने। त्योभन्दा पनि ठूलो सपना छ, आमाको काखमा टाउको राखेर मध्यरातमा फुटबल हेर्ने।

को हुन् मेसी?

अर्जेन्टिनाका लियोनेल आन्द्रेस मेसीको जन्म २४ जुन १९८७ मा भएको हो।

अर्जेन्टनाका फुटबल खेलाडी मेसी अहिले बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि खेल्छन्। उनी अहिलको पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीमध्ये एक मानिन्छन्।

मेसीले २१ वर्षको उमेरमै बालोन डी'ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे। उनको खेल शैली र क्षमताका कारण उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गरिन्छ।

सन् २००४–०५ सिजनमा पहिलोपटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे। साथै, सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने। मेसीले सुरुवातमै बार्सिलोनालाई ला लिगा जिताउन सफल भए। फुटबलमा उनका नाममा विभिन्न रेकर्ड कायम भएका छन्। सानो र छरितो जिउका मेसीले खेलमा शारीरिक बनोटले खासै फरक नपार्ने सन्देश दिन सफल भएका छन्। त्यसैले उनी सबैका रोल मोडेल बनेका छन्।

प्रकाशित: १२ चैत्र २०७३ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App