coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इँटाभट्टामै स्कुल

गोरखा- विद्यालय उमेरका बालबालिका विभिन्न उद्योग कलकारखानामा श्रम गर्न बाध्य भइरहेका बेला गोरखाको एक इँटा उद्योगले इँटाभट्टामै बाल विकास कक्षा सञ्चालन गरिदिएको छ।

गोरखाको कुन्दुरटारमा सञ्चालित कुन्दुर इँटा उद्योगले कामदारका छोराछोरी पढाउन उद्योग परिसरमै विद्यालय खोलेको हो। 'हामीलाई उद्योगभित्रै विद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेबारे थाहा थिएन', सञ्चालक डिलबहादुर थापाले भने, 'गैरसरकारी संस्थाको सहयोग र योजनामा उद्योगको पनि लगानीसहित बालकक्षा सुरु गरेका छौं।'

उद्योगभित्र काम गर्ने तीन सय मजदुर छन्। अहिले ती मजदुरका २५ जना छोराछोरी नजिकैको शान्ति प्राविमा पढ्छन्। १८ जना उद्योग परिसरभित्रकै बाल कक्षामा पढ्छन्। 'विभिन्न ठाउँबाट कामका लागि आउने अभिभावकसँग छोराछोरी पनि हुन्छन्, तिनलाई पनि काम लगाउँथे', थापाले भने, 'अहिले उद्योगमा हामी बालबालिकालाई काम लगाउँदैनौं, यहाँ भएका पढ्ने उमेरका सबै पढ्छन्।'

तराई मूलबाट आएका र माझी, चौधरी समुदायका कामदार उद्योगमा धेरै छन्। काम गर्न बालबालिका पनि सँगै लिएर आएका अभिभावक उद्योग सञ्चालक र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्डो नेपालले बालबालिकालाई पढाउन सुझाव दिएपछि उत्साहित बनेका छन्।

'छोरा २ र छोरी १ मा पढ्छन्, हामी दुई जना इँटा बनाउने काम गर्छौं', सर्लाहीबाट उद्योगमा काम गर्न आएकी रेखा माझीले भनिन्। छोराछोरीलाई आफू जता गयो उतै लिएर हिँड्ने गर्दा पढाउन नसकेको, कापी, किताब, विद्यालय पोसाकमा खर्च हुने हुँदा पढाउन समस्या भएको उनले गुनासो गरिन्। अहिले बालबालिकालाई नेस्डो नेपाल र उद्योग सञ्चालकले सबै खर्च बेहोर्ने गरी पठनपाठन भइरहेको छ।

अर्की मजदुर गीता माझी छोराछोरीलाई नियमित विद्यालय पठाउँछिन्। 'हामीले पढ्न नपाउँदा दिनरात इँटा बनाएर बस्नुपरेको छ', उनले भनिन्, 'छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने, जागिर खुवाउने रहर छ।' छोराछोरीले आफूले जस्तै दुःख भोग्नुनपरोस् भनेर पढाउन पठाएको उनले बताइन्। इँटा उद्योगबाट पढ्न आउने विद्यार्थीमा एक वर्ष समयमा धेरै सुधार भएको शान्ति प्राविकी प्रधानाध्यापक विष्णु सापकोटाले बताइन्। 'अहिले सरसफाइमा पनि ध्यान दिन्छन, पोसाक लगाएर आउँछन्, सिकाइमा पनि सुधार भएको छ।'

बालबालिकालाई पढाउन २ वर्षसम्म टेस्डोले सहयोग गर्ने र त्यसपछि उद्योग सञ्चालक तथा समुदायले पनि ध्यान दिनुपर्ने नेस्डो नेपालका अध्यक्ष उत्तम अधिकारी बताउँछन्। अहिले उद्योगमा बाल कक्षा सञ्चालन गरिएको छ। त्यहाँ तीन जना सहजकर्ता छन्। बालवालिकालाई रमाइलो वातावरणमा खेल्दै सिकाउँदै गरिन्छ। कक्षा १ बाट माथि पढ्नेलाई भने सरकारी विद्यालयमा पठाइएको छ।

प्रकाशित: १२ चैत्र २०७३ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App