७ वैशाख २०८१ शुक्रबार
समाज

न्याय नपाएसम्म मर्दिनँ : गंगामाया

काठमाडौं- छोराको हत्यारालाई कारबाही माग गर्दा पति गुमाएकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्याय नपाएसम्म आफूले प्राण नत्याग्ने बताएकी छन्। सातौं अन्तर्राष्ट्रिय सत्य अधिकार दिवसका अवसरमा शुक्रबार वीर अस्पतालअगाडि मानव अधिकारकर्मी र पीडितहरूको धर्नामा संलग्न हँुदै गंगामायाले यस्तो प्रतिज्ञा गरेकी हुन्।

आफ्नो छोराको हत्या गर्नेहरू खुला रूपमा प्रधानमन्त्री कार्यालयदेखि चितवनसम्म घुमेर बसेको तर न्याय माग्दा आफूले पति गुमाएको स्मरण गर्दै उनले सास रहेसम्म संर्घष गर्ने बताइन्।

'मैले र मेरा पतिले न्याय माग्दै अनशन गरेका थियौं। द्वन्द्वकालमा बिनाहतियार हिँडेको मेरो छोराको हत्या गर्नेलाई कानुनी कारबाही मागेका थियौं', गंगामायाले भावुक हुँदै भनिन्, 'न्याय माग्दा लास पनि एक वर्षदेखि फि्रजमै बस्नुपर्ने हो?'

सर्वोच्च, पुनरावेदन हुँदै जिल्ला अदालत गएर मुद्दा बसेको तर सरकारको दबाबका कारण फैसला हुन नसकेको आरोप उनले लगाइन्।

यसअघि बसेको अनशन सरकारले पीडितलाई कारबाही गर्ने वचन दिएकाले तोडे पनि फेरि बस्न सक्ने कुरा ख्याल गर्न गंगामायाले चेतावनी दिइन्।

धर्नामा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारी, सावित्री श्रेष्ठ, जनक राउत, मानवअधिकारकर्मीहरू चरण प्रसाई, राजन कुइँकेललगायत सहभागी थिए।

अध्यक्ष अधिकारीले न्याय पाउने पीडितको अधिकार भए पनि सरकारी निगाहका रूपमा पीडकहरूले व्याख्या गर्दा दण्डहीनता बढेको बताए।

द्वन्द्वकालका मुद्दा सम्बोधन गर्न गठित सत्य निरूपण आयोगलाई समेत दलहरूले काम नलाग्ने बनाएको आरोप लगाए। उनले आयोगमा अध्यक्ष र सचिव हराउने, सर्वोच्चको फैसलाअनुसार ऐन संशोधन नगर्ने र पीडक मैत्री मापदण्ड निर्माण गर्ने कार्यले न्याय पाउने आस समाप्त भएको बताए।

तर पीडितहरू न्याय पाउने कार्यमा लडाइँ लड्न भने पछि नहट्न पनि उनले आग्रह गरे।

धर्नामा सम्बोधन गर्दै अधिकारकर्मी प्रसाईले राज्यले दण्डहीनतालाई प्रश्रय दिएको आरोप लगाए। उनले भने, 'सर्वोच्चले अन्तिम फैसला सुनाएका बालकृष्ण ढुंगेललाई सार्वजनिक अभिनन्दन गर्नु न्यायको उपहास हो।' सर्वोच्च फैसला गर्ने  र सरकारमा रहेका दलहरू नागरिक अभिनन्दन गर्ने कार्यले दण्डहीनतालाई सहयोग गरेको तर्क प्रसाईको छ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेको आरोपमा चितवन जिल्ला अदालतको आदेशले पक्राउ परेका रामप्रसाद अधिकारीलगायत सबै धरौटीमा रिहा भइसकेका छन्। काठमाडौं बालाजुबाट पक्राउ परेका अधिकारीलाई अदालत पेस गरिए पनि मुख्य अभियुक्त नदेखिएको भन्दै साधारण धरौटीमा रिहा गरिएको थियो। जिल्ला अदालत चितवनले छविलाल पौडेल र भीमसेन पौडेलललाई धरौटीमा छाडेको थियो।

किटानी जाहेरीमा परेका आरोपितहरू धरौटीमा रिहा भए पनि सरकारी वकिलको कार्यालयले पुनरावेदन अदालत हेटौंडामा निवेदन दर्ता गरेको थियो। पुनरावेदनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने र आरोपितहरू पक्राउ हुनुपर्ने माग गर्दै निवेदन दर्ता गरिएकोमा उसले पनि जिल्लाकै आदेश सदर गरेको थियो। जिल्ला र पुनरावेदन दुवै तहवाट एकै प्रकृतिको आदेश दिएपछि अधिकारी दम्पती सर्वोच्च पुगेका थिए। सर्वोच्चले छविलाल पौडेललाई थुनामा राख्न भनेको थियो। तर हालसम्म उनी फरार छन्।

चितवनको जयमंगलास्थित हजुरबुबाको घर हिँडेका बेला ०६१ जेठ २४ गते रत्ननगरको बकुलहर चोकमा कृष्णप्रसादको गोली हानी हत्या गरिएको थियो। मृतकका दाजु नूरप्रसादले दिएको किटानी जाहेरीअनुसार १३ जना प्रतिवादी रहेको यस मुद्दामा ११ जना अदालतमा पेस भएका थिए। तीमध्ये सीता अधिकारी र जानुका पौडेल सादा तारेखमा र अन्य धरौटीमा रिहा भएका हुन्। म्याद तामेली भइसक्दा पनि प्रतिवादी रु› आचार्य र सुभ›ा अधिकारी भने उपस्थित भएका छैनन्।

हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै उनका बाबु नन्दप्रसाद र आमा गंगामाया पटकपटक अनसनमा बस्दै आएका छन्। अनशनकै क्रममा नन्दप्रसादको मृत्यु भइसकेको छ भने आमा वीर अस्पतालमा छिन्। परिवारले शव बुझ्न अस्वीकार गरेपछि हालसम्म नन्दप्रसादको अन्तिम संस्कार हुने सकेको छैन।

प्रकाशित: १२ चैत्र २०७३ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App