६ वैशाख २०८१ बिहीबार
खेल

आर्मीको फराकिलो जित

सर्लाही- नेपाल आर्मीले ४–० को नतिजामा सरस्वती युवा क्लब काठमाडौंलाई पराजित गरेको छ।  सर्लाहीको बागमतीमा जारी राजर्षि जनक फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलको ५०औ मिनेटमा विवेक बस्नेतको क्रसको सदुपयोग गर्दै आर्मीका टंक बस्नेतले गोलको खाता खोलेका थिए। त्यसको ५ मिनेट नबित्दै आर्मीका जस्पिन कार्कीले डी एरियानजिकबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि आर्मीको अग्रता फराकिलो भयो। खेलको ७९औं मिनेटमा आर्मीका राजीव गुरुङले गोल गर्दै आफ्नो टोलीलाई थप मजबुत बनाए। खेलको अन्तिम समयमा आर्मीकै कार्कीले आफ्नो दोस्रो तथा क्लबका लागि चौथो गोल गरे। म्यान अफ द म्याच कार्कीले ५ हजार नगद प्राप्त गरे।

मध्यान्तरअघि प्रतिस्पर्धात्मक रहेको खेलमा मध्यान्तरलगत्तै आर्मीका खेलाडी आक्रामक रूपमा प्रस्तुत भएपछि सरस्वतीका खेलाडी निरीह देखिन्थे। आर्मीका विमल पाण्डे र दीपक गुरुङले पहंेलो कार्ड पाए। हारसँगै सरस्वती प्रतियोगिताबाट बाहिरिएको छ भने आर्मी क्वार्टरफाइनल चरणमा पुगेको छ। प्रथम हुनेलाई ४ लाख र द्वितीय हुनेलाई २ लाख रुपैंयाँ पुरस्कार रहेकोे प्रतियोगिताको शुक्रबार मनाङ मर्स्याङ्दी र ब्वाइज युनियन काठमाडौंबीच प्रतिस्पर्धा हुँदै छ।

यसअघि बुधबार उद्घाटन खेलमा सिएमजी संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा विजयी भएको भएको थियो। चैत्र १६ गतेसम्म चल्ने राजर्षि जनक कपमा विभागीय टिम नेपाल आर्मी र सशस्त्र प्रहरी क्लबसहित ए डिभिजनका सिएमजी संकटा, मनाङ मंर्स्याङ्दी, हिमालयन शेर्पा, सरस्वती, जावलाखेल युवा क्लब र ब्वाइज युनियन क्लब सहभागी छन्।

मिथिला क्षेत्र बहुल रहेको दुई नं. प्रदेशको सान बढाउने गरी राजर्षि जनक कप फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अर्जुन चौधरीले बताए।

प्रकाशित: ११ चैत्र २०७३ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App