मुस्लिम समुदायभित्रका दलित

शुक्रबार, ११ चैत २०७३, ०९ : ४० विशाल रानामगर

2


बाँके सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटरपूर्वको एउटा गाउँ। करिब अढाई सय घर रहेको गाउँको अधिकांश घर माटोको गारो र फुसको छानोले बनेका छन्। गाउँभित्र मुस्किलले तीन मिटरको बाटो छ, बाटोमै जोडिने गरी घर बनाइएका छन्। बिहानपख त्यही साँघुरो बाटोमा कोही भाडा माझिरहेका हुन्छन्, कोेही दाँत माझिरहेका भेटिन्छन्। गाउँकै बीचमा रहेको सानो चेाकमा बिहानैदेखि भीडभाड हुन्छ। चोकमै दर्जनभन्दा बढी फुच्चे पसल छन्। केही पकौडा, समोसाका, केही पान अनि गुटखाका। अनि केहीचाहिँ किराना र मासुका। यो नेपालभित्र बाँकेमा मात्र बसोबास रहेको किंघरियन जातिको बसोबास रहेको किंघरियनपुर्वा गाउँको बिहानी दृश्य हो।

मुलुकभर १३ सयको हाराहारीमा रहेका किंघरियन मुस्लिमभित्रको पनि दलित समूहमा गनिन्छ। छुट्टै संस्कार र पहिचान भएको यो समुदायलाई मुस्लिमभित्रै गणना गरिनाले यतिखेर अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ।

कुनै समय गाउँ नै 'किंगरी' बजाएर गुजारा चलाउँथ्यो जसका कारण उनीहरुको समुदायको नामै किंघरियन रहन गयो। किंघरियनलाई मुस्लिम समुदायभित्रको दलित जातिका रूपमा चिनिन्छ। किंगरीलाई किंघरियनहरु 'चिकारा' पनि भन्छन्। यो काठ तथा भेडा, बाख्राको छालाबाट बनाइने सारंगीजस्तै आकार भएको एक प्रकारको बाजा हो। किंघरियनहरु किंगरी बजाउँदै विभिन्न गाउँ डुलेर पैसा अनि खानेकुरा संकलन गरी ल्याउने र परिवार चलाउने काम गर्थे। अहिले यो पेसा लोप हुँदै गएको छ। किंघरियन जातिमा हाल एकमात्र व्यक्ति छन् सुफी मोहम्मद किंघरियन जसले अहिले पनि किंगरी बजाएर गाउँ सहर डुल्दै मागेर परिवार पालिरहेका छन्।

करिब ६ पुस्ताअगाडि किंघरियनहरु भारतको राजस्थानबाट नेपाल आएर तत्कालीन बाँकेको पुरैनी गाविसको वडा नं. ७ र ८ मा बसोबास गर्ने गरेका यो समुदायका वृद्ध बताउँछन्। हाल यो गाउँ नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २८ मा पर्छ। पछिल्लो जनगणनाअनुसार नेपालमा यिनीहरूको संख्या १ हजार ३ सय ५० को हाराहारीमा छ। भारतको लखनउ, बहराइच, गोण्डा, बारबंकी क्षेत्रमा यो जातिको बसोबास देखिएको छ। यो समुदायका ७५ वर्षीय फैज किंघरियन आफ्ना पुर्खाले किंगरी बजाएरै परिवार पाल्ने गरेको सुनाउँदै गुनासो भन्छन्– तर अहिलेका धेरै केटाकेटीलाई आफ्नै पुख्यर्ौैली पेशाबारे थाहा छैन। कसैले सुनाइहाले पनि लाज मान्ने गर्छन्।

यो समुदायका व्यक्ति किंगरी बजाएर माग्ने पेशा त गर्थे नै, साथै राजारजौटा हुने समयमा उनीहरूका दरबार पुगेर नाचगान गर्ने, सफेडा, बिरहा तथा बरेठा नाच गीत देखाउने पनि गर्थे। यतिबेला भने पेशा जारी नरहेकाले केही जंगलबाट दाउरा तथा फल टिपेर ल्याउँछन्, बेच्छन् र गुजारा चलाउँछन्। ३ जना भने कामका लागि विदेशिएका पनि छन्।

गाउँमै एउटा प्रावि छ। अनि मदरसा पनि। त्यस विद्यालयमा ९४ बालिकासहित २४० किंघरियन बालबालिका भर्ना भएका छन्। प्रधानाध्यापक सुमन शाह भने यी बालबालिका छात्रवृत्ति बाँड्ने बेलामा मात्र आउने गरेका गुनासो सुनाउँछन्। विद्यालयले केही समयअघिमात्र महिनामा कम्तीमा पाँच दिन विद्यालय आउने विद्यार्थीका अभिभावकको भेला डाकेको थियो जसमा ८९ जनामात्र उपस्थित हुनुले पनि यो समुदायमा शैक्षिक पहुँचको अवस्था प्रष्ट हुन सक्छ।

यो समुदायमा बालविवाह गर्ने प्रचलन कायमै छ। अनि विद्यालय छाड्ने दर पनि २५ प्रतिशतभन्दा बढी छ। पुरुषप्रधान संरचना रहेको यो समुदायमा प्रायः १२ देखि १४ वर्षकै बीचमा विवाह हुने गरेको समुदायबाट पहिलो पटक एसएलसी पास गरेका राहिल किंघरिया बताउँछन्। नेपाल विद्युत् प्राधिकरण नेपालगन्जमा कार्यरत राहिल यो समुदायबाट सरकारी जागिर खाने पहिलो व्यक्ति पनि हुन्। उनीपछि उनका दुई छोराले एसएलसी पास गरेका छन् भने भारतमा उच्च शिक्षा हासिल गरिरहेका छन्। यी तीनबाहेक अरु कसैले एसएलसी पास गर्न सकेका छैनन्।

राहिलका अनुसार हाम्रा पुर्खाले गाउने, बजाउने र माग्ने पेसा गरे पनि अहिलेका युवा भने मजदुरी, कपडा बेच्ने, दाउरा बेच्नेखालका काममा लागेका छन्। यिनै राहिलको पहलमा गाउँमै खुलेको मदरसामा १९२ विद्यार्थी पढिरहेका छन्। निकै पिछडिएको अवस्थामा भए पनि सरकारी कार्यक्रमहरू नपाउँदा जीविकोपार्जन सहज हुन नसकेको मदरसा अहमदिया दारुल इस्लामका व्यवस्थापन समिति अध्यक्ष खालिद हुसैन किंघरियाको भनाइ छ।

मुस्लिम समुदायभित्र पनि दलितका रूपमा हेरिने किंघरियनहरूको विवाद मिलाउने आफ्नै तरिका छन्। यसका लागि उनीहरूको आफ्नै 'मान्य समूह' छ। गाउँलेको सहमतिमा चौधरी, नायब र कोतवालका रूपमा बनाइने मान्य समूह नै उनीहरूको अदालत/प्रशासनिक निकाय सबै हो। जसमा कोतवालले गाउँमा खबर पु्र्‍याउने, नायबले सल्लाह दिने र चौधरीले निर्णय तथा कारबाही गर्ने काम गर्छन्।

हाल पनि कोतवालको भूमिकामा रहेका ६५ वर्षीय याकुब किंघरिया 'मान्य' परम्पराले समुदायको विवाद समुदायमै समाधान गर्न सहयोग पुगेको बताउँछन्। 'कोर्ट कचहरी गर्दा समय र पैसाको बर्बादी हुन्छ त्यसैले गाउँमै मिलाउने कोसिस गरिन्छ', याकुब भन्छन्– कुनै विवाद मान्यले समाधान गर्न नसकेमा मात्र प्रहरीकोमा जाने गरिन्छ।

किंघरियनलाई सरकारले मुस्लिम समुदायकै रूपमा गणना गर्ने भएकाले उनीहरूको एकिन तथ्यांक पाउन मुस्किल छ। जबकि किंघरियन समुदाय मुस्लिम जाति नै भए पनि उनीहरुको चालचलन/रहनसहनमा भिन्नता छ। यही कारण पनि अल्पसंख्यक किंघरियनको अस्तित्व जोगाउन र विकासको मूलधारमा ल्याउन लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। नत्र उनीहरूको पहिचान नै लोप हुने खतरा देखिएको छ।

द्वन्द्व तथा शान्ति विषयमा स्नातकोत्तर अध्ययनरत







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

बलिउड अभिनेत्री मनिषा कोइरालाले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई सुझाव दिएकी छिन्।  डा. केसीको समर्थनमा शनिबार आयोजित...

‘धडक’को सुखद सुरुआत

‘धडक’को सुखद सुरुआत

शुक्रबारबाट प्रदर्शनमा आएको जाह्नवी कपूर र ईशान खट्टरको फिल्म ‘धडक’ले सुखद सुरुआत गरेको छ। फिल्मले पहिलो दिन ८.७१ करोडको कारोबार...

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका व्यवसायी तथा विज्ञहरुकोे थिंक ट्याङक ग्रुप वनाउनु भएको छ र त्यसको पहिलो बैठक...

महादेव पदमार्ग

महादेव पदमार्ग

मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै...