८ वैशाख २०८१ शनिबार
समाज

अठार वर्षपछि सीमा प्रशासन कार्यालय सञ्चालन

पाँचथर – जिल्ला प्रशासन कार्यालय पाँचथरले सीमा प्रशासन कार्यालय स्थापना गरी सेवा दिन थालेपछि स्थानीयवासी हर्षित भएका छन् । 

जिल्लाको सुदूरउत्तर दुर्गम च्याङ्थापु र फलैंचा गाउँपालिकामा सीमा प्रशासन कार्यालयबाट सेवा दिन थालिएपछि त्यहाँका नागरिकमा हर्ष छाएको छ । 

द्वन्द्वकालमा बन्द रहेको उक्त कार्यालय १८ वर्षपछि सुरु भएको हो । सेवा सुरु भएसँगै नागरिकता, जन्म तथा मृत्यु दर्ता र अन्य सिफारिसका कार्यमा सहयोग पुगेको छ । ती काम सदरमुकाम पुगेर गर्दा दुई दिनको समय र पाँच हजार रुपैयाँ खर्च लाग्ने तर अब त्यसो नहुने स्थानीयवासी श्याम बेघाको भनार्इ छ । 

आर्थिक तथा भौगोलिक कठिनाइको कारण त्यस क्षेत्रका नागरिक सदरमुकाम आइपुग्न सक्दैनन् । त्यहाँका नागरिकलाई थप सेवा, सुविधा तथा सुरक्षा दिन सशस्त्र प्रहरी बल र बैङ्कसमेत राख्नुपर्ने माग रहेको स्थानीयवासी दिल्ली दाहालले बताएका छन् । 

प्रशासन, सुरक्षा र गाविस कर्मचारी पर्याप्त नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन । ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा रहेको गाविसका नागरिकलाई यस क्षेत्रबाट सेवा दिन सबै प्रकारको सरकारी कार्यालय राख्ने पहल भइरहेको स्थानीय मोहन धौलारीको भनार्इ छ । 

भौगोलिक कठिनाई भए तापनि सुरक्षा कर्मीबाट नियमित गस्ती हुने गरेको छ । सुरक्षाकर्मीको सङ्ख्या पर्याप्त नभएको र खुल्ला सीमा भएर पनि सीमा प्रहरी चौकीले सुरक्षा प्रदान गर्दैआएको सुरक्षाकर्मी रीता भट्टराईले बताए । 

नागरिकलाई थप सेवा दिने प्रयास भइरहेको र उक्त स्थानको सुरक्षा सेवा मजबुत बनाउन समेत पहल गरिरहेको पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिएका छन् । रासस 

प्रकाशित: १० चैत्र २०७३ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App