४ वैशाख २०८१ मंगलबार
राजनीति

कृषिको मौलिकता जोगाउन सहकारीको भूमिका : मन्त्री चौधरी


काठमाडौँ – कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल कृषि केन्द्रीय सहकारी सङ्घले काठमाडौँमा विहीबार आयोजना गरेको ‘किसानको पोको’ बिक्री कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषिलाई व्यावसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने बताए । 

कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको मन्त्री चौधरीको भनाइ थियो । 

अन्नबालीमा मुरली मकै, पुराना रैथाने जातका धान, कोदो, फापर, जुनेलो, सिलम, अदुवा, राजमा, चना, आलस, टाटेसिमी, मस्याङ्, कोइरालो, रहर, खेसरी, मुसुरोलगायत सहकारीमार्फत संरक्षण गरी बिक्री वितरणमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । 

पछिल्लो पटक नेपालमा भित्रिएका बहुर्राष्ट्रिय कम्पनीका बीउबिजनले नेपालको मौलिक स्वादलाई विस्थापित गरेको छ । स्थानीय प्रजातिका खाद्यन्नबाली लोप हुन थालेको छ । जनसङ्ख्या बढिरहेका कारण कृषिको आधुनिकीकरण हुनुपर्ने भनाइले स्थानीय जातको बीउबिजनको सट्टामा बहुर्राष्ट्रिय कम्पनीका बीउबिजन भित्रिएका छन् । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले भूमिहीन सीमान्तकृत र कृषि मजदुरका हातमा खेतियोग्य जमिन नहुन्जेल कृषिको दिगो विकास असम्भव रहेको बताए । 

राष्ट्र बैंङ्कका पूर्वगभर्नर समेत रहेका डा खतिवडाले ३५ प्रतिशत जनताका हातमा व्यावसायिक खेती गर्ने जग्गा नभएकाले कृषिमा दिगो विकास नभएको बताए । नेपालको कृषि गणना २०६८ अनुसार कृषि मजदुरको सङ्ख्या २० प्रतिशत तथा भूमिहीन सीमान्तकृत वर्गको सङ्ख्या १५ प्रतिशत रहेको छ । 

“थोरै व्यक्तिका हातमा प्रचुर जमिन रहे पनि त्यो वर्गले खेती नै नगर्ने भएकाले नेपाली कृषि परनिर्भरतातर्फ उन्मुख भएको हो,” खतिवडाले भने । 

पूर्वसहकारी मन्त्री केशव बडालले सामूहिक र सहकारीखेती कृषिमा आशालाग्दो भएकाले जग्गाको अवैधानिक खण्डिकरण रोक्नुपर्नेमा जोड दिए । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम पाठकले कृषि भूमिलाई एकीकरण गर्नुपर्ने बताए । रासस 

प्रकाशित: १० चैत्र २०७३ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App