८ वैशाख २०८१ शनिबार
समाज

२३ महिनापछि अनुदान सम्झौताको काम सुरु

खोटाङ – महाभूकम्प गएको २३ महिनापछि खोटाङमा निजी आवास अनुदान सम्झौता सम्बन्धीका काम अघि बढेको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा निजी आवास अनुदान सम्झौताका लागि पूर्व तयारी स्वरुप दिक्तेलमा अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । 
दुई नगरपालिका र आठ गाउँपालिकाका कार्यकारी अधिकृत, वडा सचिव र सामाजिक परिचालक लगायतलाई सहभागी गराएर राष्ट्रिय पुननिर्माण प्राधिकरण र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । भूकम्पपछिको पुनःनिर्माणका  लागि जिल्लामा सर्वेक्षणका काम सकिए लगत्तै आवास अनुदान सम्झौताका लागि प्रकृया अघि बढाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठले बताए । निजी आवास अनुदान सम्झौता प्रकृया, रकम निकासा प्रकृया लगायतका बारेमा कार्यकारी अधिकृत, वडा सचिव र सामाजिक परिचालकलाई स्पष्ट बनाउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण क्षतिग्रस्त भएका खोटाङका १२ हजार ७८० घुरधुरीको सर्वेक्षण गरिएको छ । भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत संकलन कार्यक्रम अन्तरगत खटिएका ईन्जिनीयरमार्फत सर्वेक्षण गरिएका घरको विश्लेषणपछि वास्तविक लाभग्राहीको सूची तयार पारेर गाउँपालिका/नगरपालिकालाई जानकारी गराइने श्रेष्ठले बताए । खोटाङमा १३ हजार ७९९ घरमा क्षति पुगेको तथ्यांक थियो । ‘आवास अनुदान पाउने वास्तविक सेवाग्राही यकीन गरेर छिट्टै जानकारी पठाइने छ,’ श्रेष्ठले भने, ‘त्यसअघि हामी पुनर्निर्माण अनुदानको पूर्व तयारीको काम गरिरहेका छौँ । करिब दुई हप्तापछि अनुदान वितरण सुरु हुन्छ ।’
अनुदान पाउनका लागि लाभग्राहीको सूचीमा समावेश हुनुपर्ने, खाता खोल्नुपर्ने, अनुदान सम्झौता गर्नुपर्ने लगायतका प्रकृया पुर्याउनुपर्ने हुन्छ । खातामा पहिलो किस्तावापत ५० हजार, दोश्रो किस्तामा ८० हजार तेश्रो किस्तामा ७० हजार निकासा दिइने प्राधिकरणले जनाएको छ । १ देखि ५ वर्गमा वर्गीकरण हुने भूकम्प पिडितमध्ये ३ देखि ५ वर्गमा पर्ने लाभग्राहीले मात्र अनुदान पाउने छन् ।
भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणकालागि गठित जिल्ला समन्वय समितिका संयोजक एवं सांसद पिके राईले भूकम्पपछिको आवास निर्माणका कामलाई सफल बनाउनका लागि लाग्न कार्यकारी अधिकृत, वडा सचिव र सामाजिक परिचालकलाई आग्रह गरे ।
 

प्रकाशित: १० चैत्र २०७३ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App