८ वैशाख २०८१ शनिबार
खेल

संकटमा अर्जेन्टिनाको विश्वकप यात्रा

मोन्टेभिडियो- लियोनल मेसी र उनको अर्जेन्टिना अनुपस्थित भए आगामी विश्वकप कस्तो होला? उत्तर सहज र सोझो छ, 'खल्लो हुन्छ।' रुसमा अर्को वर्ष हुने २०१८ विश्वकपमा अर्जेन्टिना अनुपस्थित हुने सम्भावना बलियो बन्दैछ। बिहीबार हुने महत्वपूर्ण खेलमा चिर प्रतिद्वन्द्वी चिलीको सामना गर्ने तयारीमा रहेको दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना छनोट चरणबाटै बाहिरिने संघारमा पुगेको छ।

पछिल्लो पटक सन् १९७० को विश्वकपमा छनोट हुन असफल भएको अर्जेन्टिना २०१६ मा पेरु र भेनेजुएलासँग लगातार बराबरीमा रोकिएको थियो। पाराग्वे र ब्राजिलसँग हार भोगेपछि टोलीको विश्वकप पुग्ने यात्रा कठिन बनेको थियो।

यद्यपि गत नोभेम्बरमा घरेलु मैदानमा कोलम्बियालाई ३–० ले पराजित गर्दै पाँचौं स्थानमा उक्लिएको अर्जेन्टिनाले शीर्ष चारमा रहेर स्वतः छनोट हुने आशा जीवित राखेको थियो। अर्जेन्टिनाले १२ खेलबाट १९ अंक जोडेको छ।

बिहीबार ब्युनस आयर्समा चौथो स्थानको चिलीविरुद्ध हुने खेल गुमाए सोझै छनोट हुने अर्जेन्टिनाको सम्भावना थप कमजोर बन्नेछ। त्यस्तै कोलम्बियाले घरेलु मैदानमा बोलिभियालाई पराजित गरे दुई पटकको विश्वविजेता अर्जेन्टिना छैटौं स्थानमा झर्नेछ।

छनोट चरणअन्तर्गत सान्टियागोमा गत मार्चमा सम्पन्न खेलमा चिलीमाथि अर्जेन्टिना २–१ ले विजयी भएको थियो। तीन महिनापछि घरेलु मैदानमा सम्पन्न कोपा अमेरिकाको फाइनलमा पेनाल्टीमा जित हात पार्दै चिलीले त्यस हारको बदला लिएको थियो।

कोपा अमेरिकामा पराजित भएपछि प्रशिक्षक जेरार्डो मार्टिनोले अर्जेन्टिनी टिमबाट राजीनामा दिएका थिए। मार्टिनोको बर्हिगमनपछि टोलीले विश्वकप छनोट चरणमा लय गुमाएको थियो।

चिलीको पहिलो रोजाइमा देखिएको समस्या अर्जेन्टिनाका प्रशिक्षक इडुगार्डो बौजाका लागि एक मात्र सान्त्वना बन्न सक्नेछ। निलम्बनका कारण आर्टुरो भिडाल टोलीमा हुने छैनन् भने  फिटनेसको समस्यासँग जुधिरहेका आर्सनलका स्ट्राइकर एलेक्स सान्चेजले पनि खेल्ने सम्भावना न्यून छ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत बिहीबार मोन्टेभिडियोमा हुने अर्को खेलमा ब्राजिलले उरुग्वेको सामना गर्दै छ। ब्राजिलले नयाँ प्रशिक्षक टेटेको नेतृत्वमा लगातार ६ जित हात पारेको छ। कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएपछि टेटे गत वर्ष प्रशिक्षकमा नियुक्त भएका थिए।

 १२ खेलबाट २७ अंकका साथ ब्राजिल विश्वकप छनोटनजिक पुगिसकेको छ। उरुग्वे ४ अंकले पछि रहँदै दोस्रो स्थानमा छ। बिहीबार सातांै जित हात पार्न सके ब्राजिलको विश्वकप यात्रा पक्का हुनेछ।

तर चोटका कारण मैदानबाहिर रहेका म्यानचेस्टर सिटीका स्ट्राइकर ग्याब्रियल जिजसको स्थानमा कसलाई खेलाउने भन्ने निर्णय टेटेका लागि टाउको दुखाइ बन्न सक्छ। जिजसले गत वर्ष ६ खेलमा ५ गोल गर्दै आफ्नो महत्व दर्साएका थिए।

टेटेले लिभरपुलका रोबर्टो फिर्मिन्हो र फिलिप कोउटिन्होमध्ये एकलाई नेइमारसँगै अग्रपंक्तिमा प्रयोग गर्न सक्नेछन्। उरुग्वेका प्रशिक्षक ओस्कार टावारेजले भने आफूसँग नेइमारलाई रोक्ने योजना भएको बताएका छन्।

‘मसँग उनलाई रोक्ने फर्मुला भए पनि म तपार्इंहरूलाई यो किन बाँडू?,’ उनले भने। बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज निलम्बनका कारण टोलीमा हुने छैनन्, त्यसैले उरुग्वेको अग्रपंक्ति केही कमजोर बन्न सक्छ। स्वारेजको अुनपस्थितिमा इडिन्सन काभानीले डिएगो रोलानसँग अग्रपंक्तिको जिम्मेवारी सम्हाल्नेछन्। बिहीबार हुने अन्य खेलमा तेस्रो स्थानको इक्वेडर र सातौं स्थानको पाराग्वेले एकअर्काको सामना गर्दै छन्।

प्रकाशित: १० चैत्र २०७३ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App