coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शवदाह गृहले नानी संकलन बढायो

काठमाडौं- पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको प्रयोगसँगै आँखाको नानी संकलन बढेको छ। आर्यघाटमा आँखाको नानी संकलन गरिरहेको नेपाल आँखा बैंकले पहिलाभन्दा दोब्बर संकलन हुने गरेको जनाएको छ। 'नानी संकलन पहिलाभन्दा दोब्बर बढी हुन्छ', नेपाल आँखा बैंकका प्रबन्धक शंखनारायण त्वयनाले भने।

मानिसको मृत्यु भएको आठदेखि १२ घन्टाभित्र आँखाको नानी (कर्निया) विशेष प्रविधिको माध्यमबाट निकालेर सुरक्षित राखिन्छ।

केन्द्रीय आँखा बैंकको तथ्यांकअनुसार शवदाह गृह सञ्चालनमा आउनुअघि मासिक औसत १० वटा नानी संकलन हुन्थे। हाल शवदाह गृहमा मात्रै मासिक औसत २५ नानी संकलन हुने गरेको छ।

चिकित्सकका अनुसार मानिसको मृत्यु भएको आठदेखि १२ घन्टाभित्र आँखाको नानी (कर्निया) विशेष प्रविधिको माध्यमबाट निकालेर सुरक्षित राखिन्छ। तर, आँखामा अबिर परेको छ, आँखाको ढक्कन खुलै छ भने एक घन्टापछि निकालेको पनि काम लाग्दैन।

यस्तो नानी विभिन्न कारणले दृष्टिविहीन भएका मानिसको आँखामा प्रत्यारोपण गरेर दृष्टि दिन सकिन्छ। मृतकको आँखाबाट निकालेको नानी १४ दिनभित्र प्रत्यारोपण गरिसक्नुपर्ने र नगरे स्वतः नष्ट हुने प्रबन्धक त्वयनाले  बताए।

विद्युतीय शवदाह गृह सञ्चालन हुनुअघि आर्यघाटमा फोहोर, खुला ठाउँजस्ता अप्ठेराका कारण नानी सुरक्षित निकाल्न बाधा परेकाले पनि भनेजति संकलन हुन नसकेको प्रबन्धक त्वयनाको  भनाइ छ। 'कहिले चिताबाटै निकाल्नुपर्थ्यो, जहाँ पायो त्यहींबाट निकालिन्थ्यो', उनले भने। विगतमा आँखा दान दिएपछि मृतक स्वर्ग जाँदैनन् भन्ने परम्परागत मान्यताले पनि नानी संकलन भनेजति हुन नसकेको उनले बताए।  विद्युतीय शवदाह गृहमा शव ल्याउने प्रायः आधुनिक सोचका हुने भएकाले पनि नानी संकलन बढेको त्वयनाको अनुभव छ। 

शवदाह गृहमा शव लिएर आउने आफन्त सचेत हुनु, परामर्श, नानी निकाल्ने स्थानको उचित व्यवस्थापनजस्ता  कारणले  बढी नानी संकलन भएको नेपाल आँखा दान समाजका अध्यक्ष निर्मल बज्राचार्यले बताए।

नेपालमा आँखाको नानीका कारण हुने अन्धोपन दोस्रो स्थानमा छ। तर, नानी मागअनुसार पूर्ति हुन अझै नसकेको प्रबन्धक त्वयनाले  बताए। बर्सेनि आठ हजार नानी माग हुने गरेको तथ्यांक छ। आपूर्ति कति छ भन्ने यकिन तथ्यांक आउन नसकेको त्वयनाले बताए।

विद्युतीय शवदाह गृह गत वर्ष सञ्चालनमा आएको हो। त्यसयताको एक वर्षमा १ सय ६१ नानी संकलन भइसकेको आँखा बैंकले जनाएको छ।

अन्धविश्वासका कारण अहिले पनि पर्याप्त नानी संकलन हुन नसकेको आँखा दान समाजका अध्यक्ष बज्राचार्यले बताए। जीवित हुँदै आँखा दान इच्छा व्यक्त गरेका र मृत्युपछि आफन्तले दिएको खण्डमा आँखाको नानी झिकिन्छ। हालसम्म आँखा दान गर्न इच्छा व्यक्त गर्नेको संख्या ३७ हजार पुगिसकेको छ।

विभिन्न कारणले आँखामा चोटपटक लागेर आँखाको नानी बिग्रिने क्रम बढी भएको त्वयनाले बताए। बढीजसो कृषिजन्य काम गर्ने क्रममा आँखाको नानी घोचिँदा, भिटामिन 'ए' को कमी, आँखा पाकेर खत बसेमा, फुलो परेमा आँखाको नानीको बाहिरी झिल्ली नष्ट हुन्छ र दृष्टि क्षमता गुम्छ। यस्तो अवस्थामा नानी प्रत्यारोपण गरे दृष्टि फर्किन्छ।

कर्नियाका कारण दृष्टि गुमाउन पुगेकालाई आँखा दान गरेर दृष्टि दिन सकिने भएकाले आँखा दान गर्न तत्पर हुनुपर्ने त्वयनाको सुझाव छ।

यसैबीच, नेपाल वुमन ग्लोबल नेटवर्कको अग्रसरतामा दुई साताअघि १४ महिलाले मृत्युपर्यन्त आँखादान गरेका छन्। 'हामीबीच सहमति भइसकेको छ, अब कागजी प्रक्रियामा जान्छौं', नेटवर्ककी सदस्य प्रतिभा अर्यालले भनिन्। नानीको आवश्यकतालाई ध्यानमा राखी नेटवर्कले यो कार्य अघि बढाएको जनाएको छ।

प्रकाशित: १० चैत्र २०७३ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App