काठमाडौं– स्वास्थ्य मन्त्री गगन थापाले समाज रुपान्तरणका लागि सामाजिक कार्यकर्ताको अहम् भूमिका रहने बताएका छन्।
एघारौं विश्व सामाजिक कार्य दिवस–२०१७ को अवसरमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै थापाले भने, ‘पेशागत तथा व्यावसायिक सामाजिक कार्यकर्ताले विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्।सामाजिक कार्य विषयको संस्थागत गर्न विशेष कार्य योजना र नीति निर्माण जरुरी छ।’
‘पेशागत तथा व्यावसायिक सामाजिक कार्यकर्ताले विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्।सामाजिक कार्य विषयको संस्थागत गर्न विशेष कार्य योजना र नीति निर्माण जरुरी छ’, स्वास्थ्यमन्त्री थापाले भने।
विश्वविद्यालयमा पढाइने हरेक विषयलाई समयानुकूल परिमार्जन गर्न सके त्यसबाट प्रजातान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न टेवा पुग्ने उनले बताए।
सामाजिक कार्य विषय पढाइ हुने विभिन्न कलेजलाई एकत्रित गरी विषयगत तथा पेशागत सामाजिक कार्यकर्ताको पहिचान खोज्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक राष्ट्रिय समितिका सभापति एवं परिकल्पनाकार सरोज गिरीले जानकारी दिए।
‘अझै पनि सामाजिक कार्यलाई अन्य विषयजस्तै स्वीकार्न नसकिएको अवस्था छ, सामाजिक कार्यकर्ताको भूमिकाको सही मूल्यांकन गरियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,’ गिरीले भने।
कार्यक्रममा सामाजिक कार्य विषयलाई संस्थागत र व्यावसायिक बनाउन विशेष योगदान पुर्याउने त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित सामाजिक कार्य विषय स्नातकोत्तर कार्यक्रमका संस्थापक संयोजक सहप्राध्यापक डा.मृगेन्द्रबहादुर कार्की र सामाजिक कार्य विषयमा सन् १९८२ मा स्नातकोत्तर डिग्री हासिल गर्ने डा.डिल्लीराम अधिकारीलाई सम्मान गरियो।
कार्यक्रममा विभिन्न ७५ कलेजका ७ हजार ५ सय विद्यार्थी तथा ५ सय सामाजिक कार्यकर्ताको सहभागी भएका गिरीले जानकारी दिए।
प्रकाशित: ९ चैत्र २०७३ १३:४५ बुधबार