८ वैशाख २०८१ शनिबार
समाज

खोटाङमा पुलको केवल जडानका काम सुरु

खोटाङ– खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोसीमा निर्माणाधिन पक्की पुलको मेन केवल (लट्ठा) राख्ने काम सुरु गरिएको छ । म्याद नाघेको ४ वर्षमा पनि पूरा हुन नसकेको खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुलको दुबैतर्फका पिलरको क्याट–वे जडानका काम पूरा भएपछि मेन केबल (लट्ठा) राख्ने काम सुरु गरिएको हो । दुबै पिलरको टपलाई जोडेर झोलुंगे पुलजस्तो देखिने दुई वटा क्याट–वे राख्ने काम पूरा भएपछि मेन केवल जडानका काम सुरु गरिएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए । क्याट–वे राख्ने काम सकिएको झण्डै महिना दिनपछि जयराम पुलको मेन केवल राख्ने काम थालिएको हो । हाल मेन केवल जडानका लागि उपकरण फिटिङ गर्ने काम भइरहेको छ । ‘निर्माणस्थलमा ३८ वटा ठूलो लट्ठा आइसकेको छ,’ कार्कीले भने, ‘मंगलबार क्रेन पनि ल्याइसकेका छौँ, बढीमा महिना दिनभित्र मेन केवल जडानका काम पूरा हुन्छ ।’ जयराममा पुलमा टाँग्ने ३८ वटा ठूला लट्ठा ल्याइसकिएको छ । 
खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले गाविस जोड्ने जयरामको पुल जिल्लाको प्रमुख नाका हो । जिल्लाको भविष्यसँग जोडिएको जयराममा पुल नबन्दाको प्रत्यक्ष असर अन्य विकास निर्माणमा समेत परिरहेको छ । सो पुलको क्याट–वे राख्ने काम माघ १३ गते पूरा भएको थियो । नदीका वारिपारी ठड्याइएका दुबै पिल्लरमा ३८ वटा मेन केवल टाँग्ने काम सकिएपछि ढलानका काम हुने जनाइएको छ । पुस ९ गते चार जना चाइनिज प्राविधिक जयराममा आएपछि पुलमा लट्ठाको काम सुरु गरिएको हो । लामो समयसम्म पुलको पिलरमात्र ठडिएको ठाउँमा लट्ठा हाल्न थालिएपछि पुल निर्माणले गति लिनेमा जिल्लाबासी आशावादी देखिन थालेका छन् । 
२०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले निर्माणको सम्झौता गरेको पुलको हालसम्म सिभिलतर्फका काम पनि ९० प्रतिशत पूरा भएको साईड इन्जिनियर कार्कीले बताए । मेन लट्ठासँगै सिभिलका काम आगामी दुई महिनाभित्रै पूरा गर्ने लक्ष्य राखिएको छ । 
निर्माणमा सम्बद्ध ठेकेदार कम्पनीले सुरु गरिएको ६ वर्ष बित्दा समेत पूरा नभएको पुलको काम यही हिउँदभित्र पुरा गर्ने बताए पनि जिल्लाबासीले भने पत्याएका छैनन् । 
करिब १० करोडको लागतमा निर्माण गर्ने भनिएको डेढ सय मिटर लामो मोटरेबल पुलको सिमेन्ट सम्बन्धी काम कालिका र स्टिल सम्बन्धी काम हुलासले जिम्मा लिएको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाले जनाएको छ । पुल निर्माणको ठेक्का लिएका हुलास इन्जिनियरिङ र कालिका कन्स्ट्रक्सनको आन्तरिक कलहका कारण पुल निर्माण कार्य ढिलाई भएको बताइएको छ । ‘आफैँले गर्छु’ भनेको समयमा पुल नबनाएकामा कालिका कन्ट्रक्सनका प्रमुख पाण्डे र हुलास इन्जिनियरिङका प्रमुख गोल्छाप्रति जिल्लाबासी असन्तुष्ट छन् । 
तोकिएको मितिमा दुधकोसीको पुलको काम सम्पन्न हुन नसकेपछि पुल निर्माणकालागि तीन पटक म्याद थप गरिसकिएको छ । तेश्रो पटक थपिएको पुल निर्माणको म्याद पनि गत माघ मसान्तमै सकिएको छ । ठेकेदार कम्पनीले निरन्तर काम गरे छोटो समयमै पुल निर्माणको काम पूरा हुने देखिएको सांसद पिके राईले बताए । ‘उहाँ (मन्त्री बिक्रम पाण्डे)ले पुलको काम चाँडै सक्छु भन्नु भाछ,’ सांसद राईले भने, ‘हामी सबैले आक्रामक तरिकाले आवाज उठाउन आवश्यक छ ।’ 
सुरु गरिएको ६ वर्ष बित्दा समेत पुल निर्माणको काम पुरा नहुँदा विगत ४ वर्ष यता अस्थायी बेलिब्रिज ‘राख्ने र झिक्ने’ शिर्षकमै राज्यको वार्षिक ६० लाख रकम खर्च हुँदैआएको छ । विगत ४ वर्ष यता बेलिब्रिज राख्न र झिक्नमै राज्यको २ करोड ४० लाख भन्दा बढी रकम खर्च भइसकेको छ । मोटरेबल पुलको सट्टा उपयोग हुँदैआएको फेरी नदीले बगाएपछि दुधकोसीमा हरेक हिउँद याममा बेलिब्रिज राख्ने र वर्षामा झिक्ने गरिएको छ । प्रायः जेठ अन्तिम सातातिर निकालेको बेलिब्रिज पुःन मंसिरताका राख्ने गरिएको छ । जिल्ला सिधा सडक सञ्जालबाट विच्छेद भएपछि तराईबाट जिल्ला भित्र्याइने उपभोग्यवस्तु दुधकोसीमा भरियामार्फत झार्नु, नदी तार्नु र पुःन गाडीमा चढाउनुपर्ने बाध्यता शुरु हुन्छ । भरियालाई ज्यालामा बोकाएर उपभोग्यबस्तु नदी तार्दा जिल्लामा मूल्या वृद्धि हुने गरेको शुरु भएको उद्योग वाणिज्य संघका अध्यक्ष लयालुले बताए । 
पुलको अभावमा खोटाङमा पहिलोपल्ट २०६४ साल पुस–२० गते मनाङ एयरको हेलीकप्टरमार्फत बा १ ख १४२० र १४२२ नम्बरको दुई वटा आइसर ट्रक भित्र्याइएको थियो । त्यसपछि सेनाको हेलीकोप्टरबाट पनि जीप ल्याइएको थियो । सडक तथा पुल नहुँदा केही व्यवसायीले पाटपुर्जा खोलेर भरियालाई बोकाएर जिल्लामा जीप भित्र्याएका थिए । 

प्रकाशित: ९ चैत्र २०७३ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App