coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आनन्द बजारमा हराएको  नेपाल प्रहरीको पेस्तोल फेला

भीमदत्तनगर – चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ । 

कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो । स्थिति सामान्य बनाउन खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको चिनियाँ एक थान पेस्तोल र सात राउन्ड गोली सीमा क्षेत्रमा हराएको थियो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले हराएको पेस्तोल र म्यागजिन केही दिन भेटिएको जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट हराएको पेस्तोल खोज्न छानबिन टोली गठन गरी खटाइएको थियो । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केही दिनअघि पेस्तोल फेला पारेको हो । 

कल्भर्ट निर्माणका विषयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर पुनर्बास नगरपालिकाका गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए। सरकारले गौतमलाई सहिद घोषणा गर्नाका साथै रु १० लाख उनको परिवारलाई दिने घोषणा गरिसकेको छ । 

घटनामा स्थानीयवासी टीकाराम चापागाईँ गम्भीर घाइते भएका थिए । उनको उपचार जारी छ । आनन्द बजार भएर नेपाल–भारत आवागमन अझै सहज हुन सकेको छैन । घटनापछि नेपालीले भारतीय सीमावर्ती बसही बजारमा किनमेलमा जान समेत छाडेका छन् । आनन्द बजारमा सशस्त्र प्रहरीको अस्थायी चौकी खडा गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ । रासस 

प्रकाशित: ९ चैत्र २०७३ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App