७ वैशाख २०८१ शुक्रबार
समाज

करेन्ट लगाएर मारिदै नदीका माछा

भेरी नगरपालिका वडा नं १ रिम्ना स्थित भेरी नदीमा करेन्ट लगाएर माछा मार्दै  स्थानीयहरू । तस्विर : जनक केसी

जाजरकोट– जिल्लाको ग्रामीण भेगमा रहेका नदी र खोलाहरूमा केही वर्षदेखि करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनेको छ । स्थानीय प्रशासनको  लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण खोला र नदीमा  करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको छ ।
 खुलेआम खोला र नदीमा करेन्ट लगाएर माछा मार्ने गरिएपनि प्रहरी र अन्य निकायले केही पनि नगरेको स्थानीयहरूको गुनासो छ । धेरै जसो खोला नदीहरूमा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने  गरिएको  लहँका स्थानीय बद्री पन्तले बताए । 
उनले पूर्वको नलसिंहगाड, भेरी नदी र झुम्रे खोलामा स्थानीय र  विकासका काममा खटिएका मजदुरहरूले खुलेआम करेन्ट लगाएर माछा मार्ने गरेको  बताए । 
  खोला र नदीमा  करेन्ट लगाएर माछा मार्दा माछाको प्रजाति नै सखाप हुने मात्र नभई अन्य जीव जन्तु समेत नास हुने खतरामा पुगेको पन्तले बताए ।   
त्यस्तै जिल्लाका पश्चिमी क्षेत्रका बिराखोला, साना खोला, छेडागाड, सरु खोला, झाप्रा खोला, रिसांग खोला लगायतका खोला र नदीहरूमा  पनि स्थानीय र अन्य व्यक्तिहरूले  करेन्ट लगाएर  तिव्र रुपमा माछा मार्ने गरेका छन् । 
 प्रहरी लगायत विभिन्न संघसंस्थाका ब्याट्री र तारको दुरुपयोग गर्दै खोलामा  करेन्ट लगाएर माछा मार्ने चलन तिव्र बनेको स्थानीय सरोकारवालाहरू बताउँछन् । 
 करेन्ट लगाएर माछा मार्ने काममा स्थानीय र सडक तथा अन्य संरचना निर्माणमा संलग्न मजदुरहरू र निर्माण व्यवसायीहरू नै रहेको  नागरिक अगुवा राजेन्द्र विक्रम शाह बताउँछन् । 
उनले प्रहरीले कडाइ नगरेका कारण ग्रामीण भेगका नदी र खोलाहरूमा करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनेको बताए । पारिस्थितिक प्रणालीमा नै नकरात्मक असर पर्ने गरी गरिने यस प्रकारका काम रोक्नका लागि स्थानीय प्रशासन र प्रहरीले कडाइ गर्न आवश्यक रहेको उनले बताए । 
उता जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भावेस रिमालले खोलामा करेन्ट लगाएर माछामार्ने काममा आफुहरूको तर्फवाट निकै कडाइ गरिएको बताए । 
उनले सो कार्यमा पहिलो पटक संलग्नलाई सम्झाइ बुझाइ गरी पठाइएको र धेरै पटक  करेन्ट लगाइ माछा मार्नेलाई कारवाही गर्ने गरिएको बताए ।  तर उनले को–को कति बेला कारवाहीमा परे भनेर खुलाएनन् । 
कतै कसैले खोला या नदीमा करेन्ट लगाउने  गरेको पाइएमा प्रहरीलाई खवर गर्न पनि उनले आग्रह गरे । करेन्ट लगाएर माछा मार्ने जो भएपनि आफुहरूले कानुनी कारवाही गर्ने उनको भनाई छ । 
करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनेपछि अहिले जिल्लाका खोला र नदीहरूमा माछाका भुरा मात्र नभइ अन्य जीवजन्तुहरू पनि  प्रयाप्त मात्रामा देखिन छोडेको सरोकारवालाहरू बताउँछन् । नदी र खोलाहरूमा  करेन्ट लगाएर माछा मार्ने काम द्वन्द्वका बेला सुरक्षाकर्मीहरूले  गरेको र अहिले त्यही कुरा स्थानीय र अन्य व्यक्तिहरूले सिकेको  बताइएको छ ।   
   
 

प्रकाशित: ९ चैत्र २०७३ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App