coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

सोलुखुम्बु – स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कार्य सञ्चालन अझै सुरु हुन सकेको छैन । 

तिंला गाविसलाई साबिकको दूधकुण्ड नगरपालिकामा समेटनुपर्ने वा स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग गर्दै आएका तिंलावासीले स्थानीय निकाय कार्यान्वयनमा आउँदा तिंलालाई नेचासल्यान गाउँपालिकामा समेटेको भन्दै विरोध गरेका हुन् । गत आइतबार नेचासल्यान गाउँपालिकाको कार्यालय उद्घाटन तथा कार्य सुरु गर्न सदरमुकामबाट त्यसतर्फ गएको कर्मचारीको टोलीलाई तिंलावासीले बाटोबाटै नियन्त्रणमा लिई सदरमुकाम नै फिर्ता गरेपछि अहिले नेचसल्यान गाउँपालिकाको सबै काम ठप्प छ । 

तिंला गाविसवासीले सङ्घर्ष समिति गठन गर्दै साबिकको तिंला गाविसको भवनमा तिंला स्वायत्त गाउँपालिका लेखिएको बोर्ड राखी आन्दोलन सुरु गरेका छन् । आफूहरुलाई दूधकुण्ड नगरपालिकामा समेट्नुपर्ने वा तिंला स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग पूरा नभए सशक्त आन्दोलन गर्ने सङ्घर्ष समितिका संयोजक बालकुमार कार्कीले बताए । 

जिल्ला समन्वय समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले आन्दोलनरत पक्षको माग स्थानीय विकास मन्त्रालयमा जानकारी गराइएको भन्दै नेचासल्यान गाउँपालिकामा चाँडै कर्मचारी पठाएर काम सुरु गर्ने बताए । रासस 

प्रकाशित: ९ चैत्र २०७३ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App