८ वैशाख २०८१ शनिबार
समाज

मुसहर बस्ती ८० प्रतिशत निर्माण कार्य सम्पन्न, दङ्ग छन् मुसहरहरू

मुसहरवस्तीको अन्तिम चरणमा पुगिसकेको घर रङ्गरोगन हुँदै । तस्विर : महेशकुमार दास

महोत्तरी – बर्दिवास स्थित मुसहरबस्तीमा निर्माणाधिन एकीकृत नमुना वस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
मुसहरवस्तीमा ७२ दिन अघि निर्माण कार्य शुरु भएको र रकेटको गतिमा काम अघि बढाउँदा बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगी सकेको फाउण्डेसनले जनाएको छ । 
झन्डै ७२ दिनको अवधिमा बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न भइ सकेको फाउण्डेसनले जनाएको छ । सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हतान्तरण गर्ने लक्ष्य अनुसार दिनरात एक गरी निर्माण कार्य अगाडि बढाउँदै जाँदा अब भने बस्तीको २० प्रतिशत काम मात्र बाँकी रहेको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनसँग अझै २४ दिन काम पुरा गर्न बाँकी छ । निर्माणको गति हेर्दा बस्ती तोकिएकै समयमा निर्माण कार्य पुरा हुने विश्वास फाउण्डेसनले व्यक्त गरेको छ । 

‘हनुमान, राम र सिताको प्रयासमा हाम्रो लागि रहेको झुपडीयुग अब पक्की युगमा परिवर्तन भएको छ ।’


 एकिकृत नमुना मुसहर बस्तीमा निर्माण भइरहेको पक्की घरको तयारी अन्तिम चरणमा पुग्दा  ५० घरपरिवार मुसहर अब पक्की घरमा बस्न पाइने आसले दङ्ग देखिएका छन् । 
आफूहरूको बासको लागि बनिरहेका घरहरूमा रङगरोगन सुरु भएसँगै निलो रंगको जस्ताको छानामा सूर्यको प्रकाश पर्दा चमचम चम्केको हेर्दा मुसहरहरु खुशीले दङ्ग छन् । 
‘अबको आउँदो वर्षको जुडसितल हामीले नयाँ घरमै मनाउन पाउने भएका छौं । ’ वस्तीकी जितो सादा मुसहरले भनिन्,‘अव हाम्रो पक्की घरमा बसेर जिवन जिउने सपना साकार भयो ।’ 
गतपुस २५ गते शिलान्यास गरी निर्माण थालिएका बस्तीका घरहरुमा  छाना छाउने, रंगरोगन, शौचालय निर्माण, विद्युत् जडान, घरहरूमा झ्याल तथा ढोका लगाउने काम, घरैपिच्छे खानेपानी धारा जडान, घरको अन्तिम प्लाष्टर, रङ्गरोगन र बरण्डा, भ्यूटावर, बस्ती भित्रको सडकको पिसिसी ढलान तिब्र गतिमा काम जारिरहेको धर्मुस सुन्तली फाउण्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताएको छ । 
बस्ती निर्माणको लागि अझै पनि डेढ करोड रुपैयाँ भन्दा बढी आर्थिक अभाव रहेकोले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष तथा हाँस्यकालाकार सिताराम कट्टेल(धुर्मुस)ले थप दाताहरूलाई सहयोग जुटाई दिन आग्रह गरेका छन् । 
‘सहयोगी हातहरूको सहयोग हामीलाई निरन्तर प्राप्त भइरहेको छ तर अझै पनि निर्माण कार्य पुरा हुने रकम अभाव भएकोले थप रकम जुटाएर सहयोग पाउने अपेक्षा गरेका छौं ’ धुर्मुसले भने ‘ बस्ती निर्माणको लागि चाहिने रकम जुट्ने हामी विस्वस्त छौं । ’ 
बस्ती निर्माणमा कूल चार करोड ७८ लाख खर्च हुने अनुमागन गरिएको छ । मुसहरहरुको कूलदेवता दिनभद्रीको मन्दिर,  सामुदायिक भवन र बालउद्यानको काम पनि थालिएको छ । अत्यावश्यक पूर्वाधारसहितका ५० घर आउने नयाँ वर्ष (१ वैशाख, २०७४) का दिन मुसहरलाई हस्तान्तरण गरिने योजनाका साथ काम भइरहेको फाउण्डेसनका कोषाध्यक्ष तथा हाँस्यकलाकार सुन्तली(कुञ्जना घिमिरे)ले बताएकी छिन् ।  
पुस्तौंपुस्तादेखी गरिबी, अशिक्षा र अभावैअभावले गाँजेर राखेको मुसहर समुदायको कष्टकर दैनिकी रहँदै आएको थियो । सिकसिकाउँदो झुपडीमा जीवन कटाएकी वस्तीकी अगुवा मानकी सदाले बस्ती निर्माणमा अभियान्तको काम गरेको पत्रकार राजकरण महतोलाई ‘हनुमान’, धुर्मुसलाई ‘राम’ र सुन्तीललाई ‘सिता’को प्रतिक रहेको दावी गरेकी छिन् ।  
‘हनुमान, राम र सिताको प्रयासमा हाम्रो लागि रहेको झुपडीयुग अब पक्की युगमा परिवर्तन भएको छ ।’ मानकीले भनिन् ‘हामी मुसहरहरूको दिन फेरिन अब धेरै समय पर्खन पर्दैन । ’
फाउण्डेशनले बस्ती निर्माणको कामसँगै मुसहरहरूमा सामाजिक चेतना, शिक्षा एवम् नागरिक अधिकार र कर्तव्यबारे क्रमशः कुरा बुझाउने कार्यलाई पनि निरन्तरता दिदै आएका छन् । 

 

प्रकाशित: ९ चैत्र २०७३ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App