७ वैशाख २०८१ शुक्रबार
खेल

स्वाइन्सटाइगर अमेरिकातर्फ

सिकागो,(एएफपी)– जर्मनीका पूर्वकप्तान तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बास्टेन स्वाइन्सटाइगर मेजर लिग सकर क्लब सिकागो फायरसँग अनुबन्धित भएको इङ्लिस प्रिमियर लिग क्लबले मंगलबार जनाएको छ।

जर्मनीले २०१४ मा विश्वकप जित्दा स्वाइन्सटाइगर टोलीका मुख्य खेलाडी थिए । युनाइटेडमा स्वाइन्सटाइगरको बसाइ सुखद हुन सकेको थिएन । नयाँ प्रशिक्षक जोजे माउरिन्हो आएपछि पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका उनी अमेरिका जाने निर्णयमा पुगेका हुन् ।

जर्मनीबाट १ सय २१ खेलमा २४ गोल गरिसकेका ३२ वर्षे स्वाइन्सटाइगरको मेडिकज जाँच तथा भिसा प्रक्रिया बाँकी छ ।

‘म्यानचेस्टर युनाइटेडका धेरै साथीहरूलाई छाडेर जानुपर्दा मलाई दुख लागको छ,’ स्वाइन्सटाइगरलाई उद्धृत गर्दै युनाटेडको वेबसाइटमा लेखिएको छ, ‘तर, सिकागो फायरमा मलाई चुनौती सामना गर्ने मौका दिएकोमा क्लबलाई धन्यवाद छ ।’

केही समयअघि मात्र पूर्व नम्बर एक टेनिस खेलाडी अना इभानोभिकसँग विवाहबन्धनमा बाँधिएका स्वाइन्सटाइगरले  प्रशिक्षक माउरिन्हो र टोली सहयात्रीहरूलाई धन्यवाद दिए ।

‘माउरिन्होसँग काम गर्दा मलाई रमाइलो लाग्थ्यो । खेलाडी साथीहरू तथा अन्य स्टाफहरूलाई सुन्दर भविष्यका लागि शुभकामना,’ स्वाइन्सटाइगरले भने, ‘गत वर्ष एफए कप जित्दा टोलीको हिस्सा हुन पाउँदा म गौरवान्वित छु । क्लबको जोस र उत्साहलाई म सधैं सम्झिरहनेछु । र सिकागोमा नयाँ अध्याय सुरु गर्न यो उपयुक्त समय हो । त्यसतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।’

युनाइटेडले उनका लागि एक वाक्यमा मात्र खर्चिएको छ । क्लबको वेबसाइटमा लेखिएको छ, ‘अमेरिकामा उनको नयाँ करियरका लागि क्लबका तर्फबाट शुभकामना ।’

सिकागोका जनरल म्यानेजर नेल्सन रोडरिग्वेजले सोमबार स्वाइन्सटाइगरको आगमनले क्लबप्रति जिम्मेवारी र प्रदर्शनमा आशा बढेको बताएका थिए ।

‘हाम्रो टोलीमा यस्तो सदस्य थपिएको छ, जसले सबै स्तरको उपाधि जितेको छ । त्यसले क्लबको महŒव बढेको छ,’ रोडरिग्वेजलाई उद्धृत गर्दै सिकागोको वेबसाइटमा लेखिएको छ, ‘अब हामीले सकेसम्म उच्च प्रदर्शन गनुपर्छ । घरेलु स्तरमा हामीले यसअघि पनि राम्रो गरिरहेका थियौं अब अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो गुर्नपर्छ ।’

२०१५ मा युनाइटेडसँग अनुबन्धित हुनुअघि स्वाइन्सटाइगरको क्लब करियर बायर्न म्युनिखका बितेको थियो । क्लब स्रोतका अुनसार उनी ४५ लाख डलर तलबमा १ वर्षका लागि अनुबन्धित भएको जनाइएको छ । यससँगै उनी मेजर लिग सकरमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका थिए ।

‘मेरो करियरमा सदैव मैले राम्रा अवसर पाएँ । त्यहाँ मैले सकारात्मक प्रतिफल दिने प्रयास गरेको छु,’ स्वाइन्सटाइगरलाई उद्धृत गर्दै सिकागोको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सिकागो फायरमा जाँदा पनि केही फरक छैन । नेल्सन र क्लब प्रमुख भेल्जको पाउनोभिकसँग कुरा गरेपछि क्लबको लक्ष्य र सिद्धान्तबाट म प्रभावित भएँ । उक्त परियोजनामा म सक्दो सहयोग गर्नेछु ।’

स्वाइन्सटाइगरको स्थानान्तरण म्यानचेस्टर युनाइटेडबाट सुरु भएको पाउनोभिकले बताए । ‘दुईबीचको वार्ता स्वस्फुर्त प्राकृतिक, प्रेरणादायी भयो,’ पाउनोभिकले थपे, ‘एक समय हामीबीच व्यक्तिगत कुराहरू पनि भए । त्यससले एकअर्कालाई बुझ्न थप सहयोग गर्‍यो भन्ने लाग्छ।’

सिकागोले मेजर लिग सकरमा मध्यम सुरुआत गरेको थियो । पहिलो २ खेलबाट ४ अंक जोडेको सिकागो गत साता एटलान्टासँग ४–० ले पराजित भएको थियो ।

 

 

प्रकाशित: ९ चैत्र २०७३ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App