८ वैशाख २०८१ शनिबार
राजनीति

‘आन्तरिक एकता भए स्थानीय नेतृत्वमा कांग्रेस वर्चस्व’

काठमाडौं-नेपाली कांग्रेसले जिल्ला–जिल्ला खटाएका प्रतिनिधिले आन्तरिक विवाद व्यवस्थापन गर्न सके स्थानीय तह निर्वाचन पार्टीको पक्षमा हुने दाबी गरेका छन् ।

पार्टी संगठनको अवस्था बुझ्न ७५ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले निर्वाचन मिति घोषणापछि गाउँसम्मै संगठन चलायमान रहे पनि आन्तरिक विवादका कारण व्यवस्थित भने हुन नसकेको बताएका छन् । उनीहरूले निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न आन्तरिक विवाद व्यवस्थापन जरुरी रहेको सुझाव दिएका छन् ।

गुटगत विवादले अधिकांश जिल्लाका समिति र एकाइले पूर्णता पाउन नसकेको जनाउँदै प्रतिनिधिहरूले स्थानीय निर्वाचनमा उम्मेदवार छनोट गर्दा गुटगत सन्तुलन, लोकप्रियता, निरन्तरतालाई ख्याल गर्न सुझाएका छन् । 

स्थानीय तह निर्वाचन मिति घोषणा भएपछि केही न केही भूमिका पाउने आशमा कांग्रेसका सबै तहका नेता तथा कार्यकर्ता सक्रिय छन् । हिमाली र पहाडी क्षेत्रका अधिकांश जिल्लामा एमालेसँग मुख्य प्रतिष्पर्धा हुने  विश्लेषण छ । तराईमधेसमा भने एमाले निकै पछि रहेको आँकलनसहित स्थानीय चुनाव सुनिश्चित गर्न पार्टी थप सक्रिय रहनुपर्ने सुझाव पनि उनीहरूको छ ।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले झापासहित देशभर पार्टी संगठन राम्रो रहेको दाबी गरे । एमाले नै मुख्य प्रतिस्पर्धी रहेको जनाउँदै झापामा खटिएका कार्कीले भने, ‘वडासम्म कांग्रेस संगठन पुगेको छ ।’ उनका अनुसार निर्वाचन मिति तोकिएसँगै कार्यकर्तामा आएको उत्साहलाई जोगाउँदै मतमा परिणत गर्नुपर्ने चुनौती छ । कार्कीले भने, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापामा रहेका दसमध्ये सात क्याम्पसमा नेपाल विद्यार्थी संघको जितले त्यहाँ अझ उत्साह बढाएको छ ।’ 

केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तह निर्वाचन मिति घोषणासँगै तल्लो तहसम्म चुनाव माहोल बनेको दाबी गरे । सबै तहका नेता तल्लो तहसम्म आ–आफ्नै ढंगबाट सक्रिय रहेको जानकारी दिँदै कञ्चनपुरमा प्रतिनिधि खटिएका पौडेलले भने, ‘नेता÷कार्यकर्तामा चुनाव जितिन्छ भन्ने विश्वास देखिन्छ।’

पौडेलका अनुसार निर्वाचन कुनै पनि बहानामा रोकिनु हुन्न भन्ने आम कार्यकर्ताको चाहना रहेको सुनाउँदै उनले भने, ‘जुन जिल्ला पुग्दा पनि चुनाव हुनुपर्छ भन्ने सबैको एउटै भावना र चाहना छ ।’ कांग्रेसप्रति जनताको विश्वास र भरोसा अझै बढेको जनाउँदै संवैधानिक व्यवस्था अनुसार माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको नेतृत्व लिन पनि कार्यकर्ताले नेतृत्वलाई सुझाएका छन्।

केन्द्रीय सदस्य बहादुरसिंह लामाले निर्वाचनले पार्टी नेता तथा कार्यकर्तामा उत्साह जगाएको दाबी गरे । ‘निर्वाचन मिति घोषणाले गाउँ तहमै उत्साह ल्याएको छ,’ सिन्धुपाल्चोकमा प्रतिनिधि खटिएका लामाले भने, ‘आन्तरिक व्यवस्थापन गर्न सके राम्रो छ, होइन भने समस्या हुन सक्छ ।’

नेता तारामान गुरुङले खोटाङ कांग्रेस एकजुट रहेको दाबी गर्दै पार्टी र भ्रातृ संगठनका सबै निकाय पूर्ण रहेको बताए । नेतृत्व र उम्मेदवार बन्न आन्तरिक प्रतिस्पर्धा हुनु अस्वाभाविक नभएको जनाउँदै स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका खोटाङ प्रतिनिधि गुरुङले भने, ‘केन्द्रबाट मेरो, तेरो नभन्ने हो त्यहाँ विवाद छैन, पार्टीले चुनाव जित्छ ।’

टिम्बुरबोटे काण्डमा सहिद भएका र तत्कालीन माओवादीले कांग्रेस कार्यालयमै हत्या गरेका कालुमान गुरुङको परिवारले राज्यबाट कुनै सुविधा नपाएकोमा नेता तथा कार्यकर्ताको तीव्र गुनासो रहेको उनले सुनाए ।

सुशील कोइराला नेतृत्व सरकारले हलेसीसहित सात गाविसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि अहिलेसम्म रकम विनियोजन नभएको जनाउँदै उनले त्यस क्षेत्रमाज खानेपानी समस्या समाधान गर्न तत्काल आयोजना अघि बढाउनुपर्ने बताए । 

संशोधनमा मिश्रित मत

तराईमधेसमा संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्नेमा एकमत देखिए पनि पहाडी जिल्लाका नेता–कार्यकर्ता भने पक्ष र विपक्षमा विभाजित देखिएका छन् । संशोधनलाई भन्दा निर्वाचनलाई प्राथमिकता राखेर अघि बढ्न पहाडी जिल्लाको दबाब छ ।

संशोधन अहिले आवश्यक नरहेको तर्क तल्लो तहबाट आएको सुनाउँदै एक प्रतिनिधिले भने, ‘दक्षिणको कुरा मानेर संविधान संशोधन किन गर्नुप¥यो भन्ने आबाज पनि सशक्त छ ।’ तराईमधेसमा भने संशोधन गर्नुपर्नेमा सबैको एकमत रहेको केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए । संशोधनसहित निर्वाचनमा जाँदा कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै उनले सबै पक्षको सहभागिता सुनिश्चित गरी निर्वाचनमा जानुपर्ने मधेसका कार्यकर्ताको चाहना रहेको सुनाए ।

संशोधन गरेर निर्वाचनमा जाँदा कांग्रेसको पक्षमा बहुमत आउने जिकिर गर्दै सप्तरीमा प्रतिनिधि खटिएका यादवले भने, ‘मधेसमा कांग्रेस पहिलो पार्टी हुन्छ भनेर एमाले त्यहाँ चुनाव नहोस् भनेर लागिपरेको छ। बाहिर जति चुनावको कुरा गरे पनि भित्र भने एमाले तयार छैन ।’

मधेसी दललाई चुनावबाट बाहिर धेकल्न एमाले लागिपरेको आरोप पनि उनले लगाए । मधेसी दललाई छाडेर निर्वाचनमा जाँदा मधेसमा अर्को विद्रोह हुनसक्ने भन्दै संशोधन गरेर मात्र चुनावमा जानुपर्ने आम कार्यकर्ताको चाहना रहेको उनले बताए ।

सप्तरीमा पार्टी संगठन राम्रो भए पनि आपसी तालमेल नभएको पाइएको उनले जनाए। ‘संगठन राम्रो छ तर आपसी तालमेल मिलेको छैन,’ उनले भने, ‘मिलाएर अघि बढ्नुपर्छ।’

केन्द्रीय सदस्य रामकृष्ण यादवले सबै तहका नेता–कार्यकर्ताको मस्तिष्कमा संविधान संशोधन रहेको बताए। संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जाँदा पार्टीको पोजिसन राम्रो हुन्छ,’ सर्लाही प्रतिनिधि खटिएका यादवले भने । महन्थ ठाकुर बाहिरिएपछि मधेसमा पार्टीमा पुगेको क्षति विस्तारै कम हुँदै गएको दाबी गर्दै उनले भने, ‘राष्ट्रिय लिडरले पार्टी छाड्दा केही न केही क्षति भएकै थियो तर पहिला जस्तो अहिले छैन ।’

कात्तिक ९ गतेको केन्द्रीय समिति बैठकले पार्टी संगठनको अवस्था बुझ्न सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । जिल्लाको वास्तविक अवस्थासहित केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन दिइए पनि अहिलेसम्म अधिकांसले बुझाएका छन् । चैत १० भित्र सबैलाई प्रतिवेदन बुझाउन भनिए पनि केही जिल्लामा अझै प्रतिनिधि पुगेका छैनन् ।

प्रकाशित: ९ चैत्र २०७३ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App