८ वैशाख २०८१ शनिबार
विचार

बेखुसी जागिरे

विश्व बैंकको एक अध्ययनले जागिरे नेपालीमध्ये अत्यन्तै न्यून संख्यामात्रै आफ्नो कामप्रति सन्तुष्ट रहेको देखाएको छ। यसबाट स्वदेशमा उपलब्ध रोजगारीको स्तर, त्यसबाट प्राप्त हुने आम्दानी तथा समाजमा त्यसले दिलाएको प्रतिष्ठासमेत कमजोर रहेको बुझ्न सकिन्छ। विश्व बैंकको पछिल्लो अध्ययनले करिब ०.२५ प्रतिशत नेपालीमात्र स्वदेशको रोजगारीबाट सन्तुष्ट रहेको देखाएको छ। केही समयदेखि युवावर्ग वैदेशिक रोजगारीमा जाने क्रम घटेको देखिएको छ। तर पनि स्वदेशमा उपलब्ध रोजगारीबाट कुनै सन्तुष्टि नमिल्नुका साथै शिक्षा र योग्यताअनुसारको काम नपाउनाले विदेशिने क्रम निरन्तर घट्ने अवस्था आउला नै भन्न सकिन्न। लामो समयदेखि बहुराष्ट्रिय कम्पनी तथा ठूला लगानीका उद्योग नेपालमा खुल्न सकिरहेका छैनन्। कतिपय उद्योगीले लगानी प्रतिबद्धता जनाइसक्दा पनि काम अघि बढ्न सकेको छैन। सञ्चालनमा रहेका कतिपय ठूला उद्योग नै पनि विभिन्न बाधा–व्यवधान खप्दै आएका छन्। यही कारण देशको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदानमा गिरावट आइरहेको छ। एक दशकअघि उत्पादनमूलक उद्योगको योगदान १० प्रतिशतभन्दा बढी रहेकोमा चालू आवमा त्यसको आधामात्र हुने अवस्था छ।

अहिले प्रतिव्यक्ति आम्दानी औसतमा ८० हजार ९ सय २१ रुपैयाँ वार्षिक रहेको छ। तर, बजारभाउको असन्तुलित वृद्धिसामु यो रकम निकै कम हो। जागिरमा आधारित मध्यमवर्गको आम्दानी बजारभाउअनुरूप वृद्धि हुन सकिरहेको छैन। तिनको आम्दानी नियमित र दिगो पनि छैन। सामान्य दैनिक आवश्यकता परिपूर्ति गर्न पनि ठूलो संघर्ष गर्नुपर्ने हुनाले जागिरे नेपालीले असुरक्षित महसुस गर्दै आएका छन्। एउटै कामबाट दैनिकी सहज ढंगमा नचल्ने हुनाले कतिपय दक्ष जनशक्ति वैकल्पिक कामको खोजीमा लाग्न बाध्य छ। यही कारण पनि तिनीहरू बेखुसी भएका हुन्। यस्तो बेखुुसीले विशेषज्ञता हासिल गर्नमा पनि असर पारेको छ। अर्कोतिर नेपालमा कामको सम्मान गर्ने संस्कार पटक्कै छैन। हरेक कामको आआफ्नै महŒव हुन्छन् र ती सम्मानित छन् भन्ने भावना विकास हुन सकेको छैन। चाकरी–चाप्लुसी र अनियमितताको संस्कारले आक्रान्त छ, हाम्रो प्रशासन संयन्त्र। जागिर तथा निश्चित आम्दानीको ग्यारेन्टी भएका कतिपय सेवामा सिनियरबाट भोग्नुपर्ने अपमानजनक व्यवहारले तिनलाई खुसी हुन दिएको छैन। यसले सेवाप्रवाहमा समेत नकारात्मक असर पारेको छ। साना तहका कर्मचारी ठूला भनिएका हाकिमबाट प्रताडित छन्। शोषणको नमूना बनेका छन् कतिपय निजी क्षेत्र पनि। जागिर खानका निम्ति आवश्यक भनसुन, घुस, नातासम्बन्धजस्ता अनैतिक औजार बलिया बन्नाले प्रतिभावान्हरू पलायन हुन बाध्य छन्। यसकारण पनि युवापुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुन पुगेका हुन्। विदेशमा जे काम गरे पनि मनग्गे पैसा आउनेमात्र होइन कामको सम्मान हुने कारणले युवा स्वदेशमा बस्न नरुचाउने बनेका छन्। यस्तो अवस्थाको अन्त्य हुनु जरुरी छ।   

बितेका दुई दशक नेपालको राजनीति सबैभन्दा खराब अवस्थाबाट गुजि्रयो। एक दशक लामो माओवादी सशस्त्र द्वन्द्वले लगानीकर्तालाई तर्सायो। राजनीतिक संक्रमणका कारण नीतिगत व्यवस्था लगानीमैत्री बन्न सकेन। उद्योग तथा उद्योगीमाथि आक्रमणका शृंखलाबद्ध घटना भए। विभिन्न दलनिकट रहेका मजदुर संगठनहरूका अव्यावहारिक माग र उद्योग–प्रतिष्ठानभित्रै व्याप्त तिनको राजनीतिले लगानीकर्तामा त्रास उत्पन्न हुन पुग्यो। राजनीतिक आडमा कालोबजारी तथा भ्रष्टाचार निकै मौलाउन पुग्यो। यस्तो अवस्थाका कारण उद्योगीहरू पनि उत्पादनमूलक काम नगरी अन्य मुलुकबाट सामान ल्याई व्यापार गर्नुमा आफ्नो सुरक्षा र फाइदा देख्न थाले। यस्ता कामले रोजगारी सृजना नगर्ने हुनाले स्वदेशमा बेरोजगारको संख्या बढ्न थाल्यो। यसले मुलुकको राजस्वमा समेत प्रतिकूल असर पारेको छ। नेपालको रोजगार बजारमा बर्सेनि करिब ५ लाख जना काम खोज्न निस्कन्छन्। यो संख्यालाई काम दिने क्षमता न सरकारसँग छ न त निजी क्षेत्रसँग नै। निजी र सरकारी गरी करिब १० प्रतिशतले मात्रै रोजगारी पाउँछन्। यही कारण पनि युवापुस्ता वैदेशिक रोजगारीमा जानु बाध्यता बनेको छ। सम्भावनायुक्त कृषि पनि पेसाका रूपमा विकास हुन सकेको छैन। सरकारका तर्फबाट कृषिमा लाग्न प्रोत्साहन दिने कुनै योजना बन्न सकेको छैन। यही कारण कृषि पेसा–व्यवसाय नबनी जीवन धान्ने मेलोमा सीमित रहन पुग्यो। यस्तो बेला जसरी हुन्छ बढी उद्योगधन्दा, कलकारखाना खोल्नु, लगानीमैत्री वातावरण निर्माण गर्नु र रोजगारीको अवसर वृद्धि गर्नुको विकल्प छैन।

प्रकाशित: २७ असार २०७३ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App