६ वैशाख २०८१ बिहीबार
समाज

सगरमाथा आरोहणका लागि बाटो निर्माण शुरु

राधा ढुंगाना

सोलुखुम्बु- यस बर्षको सगरमाथा आरोहणका लागि बाटो निर्माण कार्य आजबाट सुरु भएको छ। आधार शिबिरबाट बाटो निर्माणका लागि ८ जना आइसफल डक्टरहरुले काम थालेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ । उनीहरुले सगरमाथाको क्याम्प दुइ सम्म बाटो बनाउने छन् । हिमाल आरोहणको मौसम सुरु हुन लागेपछि बाटो निर्माण सुरु गरिएको हो । हिमालमा बाटो बनाउने ब्यक्ति आइसफल डक्टरहरु फागुन २४ गते नै आधार शिबिर पुगेको भएपनि हावाहुरी र हिमपातले प्रभाबित बनाएपछि बाटो निर्माणमा ढिलाइ भएको हो । बौद्ध परम्परा अनुसार हरेक बर्ष जस्तै गत बुधबार पूजा गरेर आजबाट बाटो निर्माण सुरु गरिएको एसपिसिसिका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

उनीहरुले एक बर्षमा हिमपातका कारण भत्कीएका पुराना बाटोको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्याङहरुको ब्यबस्थापन लगायतको काम गर्नेछन् । बाटो निर्माणका लागि ८ जना आइसफल डक्टर सहित १० जना सोलुखुम्बुको नाम्चेबजारबाट फागुन २२ गते नै सगरमाथाको आधारशिबिर तर्फ लागेका थिए । बाटो बनाउनेहरुमा आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरि शेर्पा, याङडा शेर्पा, मिङमातेम्बा शेर्पा, फुछेतार शेर्पा र फुकितार शेर्पा रहेका छन् । उनीहरु संगै दुइ जना कुक पनि रहेको सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपिसिसि नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राइले जानकारी दिए । उनीहरुले बाटो निर्माणका लागि एक हप्ता सम्म आधार शिबिर मै प्रशिक्षण समेत लिएका थिए ।

सगरमाथा देखि ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि प्रयोग गरिने आधार शिबिर एउटै हो । आधार शिबिरबाट क्याम्प दुइ सम्म तीन वटै हिमालको आरोहणका लागि बाटो पनि एउटै प्रयोग हुँदै आएको छ। आइसफल डक्टरहरुले बाटो बनाइसकेपछि आरोहीहरु सगरमाथा आरोहणका लागि आधार शिबिरबाट उकालो लाग्ने गर्दछन्। 

 

 

प्रकाशित: ८ चैत्र २०७३ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App