coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मोबाइल नम्बर एउटै राखेर कम्पनी परिवर्तन गर्न सकिने

काठमाडौं- आफूले प्रयोग गरिरहेको टेलिकम कम्पनी मन परेन भने उही नम्बर राखेर कम्पनी परिवर्तन गर्न पाइने भएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेको हो।

जस अनुसार कुनै ग्राहकले नेपाल टेलिकमका सेवा मन परेन भने एनसेल वा एनसेलको सेवा मन परेन भने नेपाल टेलिकमको सेवा प्रयोग गर्न पाउने छन्। तर, यसरी सेवा प्रयोग गर्दा आफूले प्रयोग गरिरहेको नम्बर परिवर्तन गर्नुपर्ने छैन। यस नियम अनुसार मुलुकमा सञ्चालन भइरहेका ६ वटा दूरसञ्चार कम्पनीका ग्राहकले आफ्नो नम्बर त्यही राखेर आफूलाई मन परेको कम्पनी छान्न पाउने छन्।

यो व्यवस्था मिलाउन प्राधिकरणले काम अघि बढाइसकेको छ। जसलाई मोबाइल नम्बर पोर्टाबिलिटी (एमएनपी) भनिन्छ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले ग्राहकको नम्बर एउटै राखेर कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेको बताए। 'हामीले ग्राहकको नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेका छौं,' अर्यालले भने, 'यसो भएमा कुनै पनि ग्राहकलाई चलाइरहेको सेवा मन परेन भने कम्पनी परिवर्तन गर्न सक्छन्।'

प्राधिकरणले एमएनपी लागू गर्न अन्तर्राष्ट्रिय परामर्शदातालाई आह्वान गरेको थियो। जस अनुसार चार कम्पनीले काम गर्न इच्छा देखाएका छन्। अर्यालका अनुसार भारतबाट दुई तथा बेलायत र नेदरल्यान्डबाट १–१ कम्पनी आएका छन्। बेलायतबाट लौरास्का एसोसिएट आएको छ। भारतबाट अन्र्स्ट एन्ड योङ र नेदरल्यान्डबाट रविल कन्सल्टिङ छन्।

प्रस्तावित कम्पनीबाट थप प्रस्ताव माग गर्ने तयारी प्राधिकरणले गरेको छ। 'उनीहरूबाट आर्थिक र प्राविधिक प्रस्ताव माग गर्दैछौं,' अर्यालले भने, 'उनीहरूको प्रस्ताव अध्ययन गरेर एक कम्पनी छानिनेछन्।'

परामर्शदाताले ग्राहकले कसरी एक कम्पनीबाट अर्को कम्पनीमा परिवर्तन गर्ने भन्नेमा प्राविधिक सहयोग गर्नेछन्। कम्पनी परिवर्तन गर्ने प्रावधान बनाउनुअघि उसले एउटै नम्बर राखेर कम्पनी परिवर्तन सम्बन्धी निर्देशिका तयार गर्नुपर्ने हुन्छ। त्यसैगरी, सिममा कति ब्यालेन्स त्यसको हिसाब कसरी गर्ने, सेवा प्रदायक कम्पनीबीच कस्तो प्रावधान राख्ने जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने हुन्छ।

यो ग्राहकको हितका लागि गर्न लागिएको अर्यालको भनाइ छ। कुनै पनि ग्राहकले कम्पनीको सेवा अनुसार कम्पनी परिवर्तन गर्न पाउनु अधिकार हो तर त्यसो गर्दा उसको नम्बर परिवर्तन भयो भने उसको धेरै सम्पर्क टुट्न सक्छ। यसै विषयलाई ध्यानमा राखेर विश्वमै नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ।

'यो अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको प्रावधान हो,' अर्यालले भने, 'हाम्रो पनि धेरै कम्पनी भएकाले ग्राहकलाई त्यो सुविधा दिन लागिएको हो।' यसअघि पनि कम्पनी परिवर्तन गर्ने भनेर काम अघि बढाइएको थियो। उसबेला नेपाल टेलिकमको एकलौटी बजार थियो। एनसेलको ग्राहक धेरै कम भएकाले कम्पनी परिवर्तन सम्बन्धी नियम (एमएनपी) लागू गर्न अप्ठेरो परेको थियो। 'त्यो बेला नेपाल टेलिकमका ग्राहकभन्दा एनसेलका ग्राहक अत्यन्तै न्यून थिए,' अर्यालले भने, 'अहिले झन्डै बराबर जस्तै भएकाले यो नियम लागू गर्न सकिने अवस्थमा हामी छौं।'

हाल मुलुकमा ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनी छन्। सरकारी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले कुल टेलिकम बजारको झन्डै ९९ प्रतिशत हिस्सा ओगट्छन्। त्यसबाहेक स्मार्ट टेलिकम, युटिएल, एसटिएनएस र स्याटेलाइट टेलिकम सञ्चालनमा छन्।

प्राधिकरणको वार्षिक प्रतिवेदन ०७२/७३ अनुसार नेपाल टेलिकमका मोबाइल ग्राहक संख्या एक करोड २७ लाख ९९ हजार छ। एनसेलका ग्राहक एक करोड ४१ लाख ४५ हजार छन्। स्मार्ट टेलिकमको १३ लाख ९७ हजार पाँच सय, युटिएलको पाँच लाख ९० हजार, नेपाल स्याटेलाइटको तीन लाख ७१ हजार ६ सय ग्राहक छन्।

प्रकाशित: ८ चैत्र २०७३ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App