६ वैशाख २०८१ बिहीबार
समाज

बिलिङ मिटर जडान नगर्ने ट्याक्सी कारबाहीमा

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टरसहितको बिलिङ मिटर जडान नगर्ने ३१ ट्याक्सीचालकलाई कारबाही गरेको छ। विभाग र ट्राफिक प्रहरीको संयुक्त अनुगमनमा दुई साताको अवधिमा ३१ ट्याक्सीलाई कारबाही गरेको हो।

प्रिन्ट भएको बिलमा ट्याक्सी नम्बर, चालकको फोन नम्बर र भाडासमेत प्रस्ट उल्लेख हुने भएकाले यात्रु ठगिनबाट जोगिन्छन्।

मिटर जडान गर्न आलटाल गर्ने ट्याक्सीचालकलाई कागजातसहित जफत गरेर कारबाही गरेको विभागका ट्याक्सी तथा टेप्पो एकाइ प्रमुख विकास ध्वजुले बताए।'प्रिन्टरसहितको बिलिङ मिटर जडान गरेपछि ट्याक्सी चालकले यात्रुबाट बढी भाडा असुल्न पाउँदैन। त्यसैले आनाकानी गरेका हुन्। मिटर जडान ट्याक्सीमा चढेपछि यात्रुले बिल पाउने भएकाले ठगी गर्न मिल्दैन,' उनले भने, 'आलटाल गर्नेलाई अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ।'

विभागका अनुसार चैतको पहिलो सातासम्म दुई हजार ट्याक्सीले मिटर जडान गरिसकेका छन्। अहिलेसम्म ४० प्रतिशत ट्याक्सीमा प्रिन्टरसहितको बिलिङ मिटर जडान गर्नुपर्नेमा जम्मा २२ प्रतिशत ट्याक्सीचालकले मात्रै जडान गरेका छन्।

नेपाल गुणस्तर तथा नापतौल विभागले राजधानीमा गुड्ने ट्याक्सीलाई लटअनुसार मिटर जडान गर्न पुस १७ गते निर्देशन दिएको थियो। ट्याक्सीले यात्रुबाट बढी भाडा असुलेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ६ महिनाभित्रै देशभर बिलिङसहितको मिटर जडान गर्न भदौ २३ गते निर्देशन दिएका थिए। ट्याक्सीचालकले तीन सय रुपैयाँ नवीकरण शुल्क तिरेर मिटर जडान गर्न सक्नेछन्। बजारमा सात हजार पाँँच सयदेखि १० हजार रुपैयाँ मूल्यका मिटर उपलब्ध छन् ।

बिलिङमा ट्याक्सीको नम्बर, ट्याक्सीचालकको फोन नम्बर र भाडासमेत प्रस्ट उल्लेख गरिने हुँदा यात्रु ठगी हुनबाट जोगिने ध्वजूले बताए।

नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले पैसा अभावमा ट्याक्सीचालकले नयाँ मिटर जडान गर्न नसकेको बताए। 'केही समयअघि महँगो मूल्य तिरेर मिटर जडान गर्‍यौं। अहिले फेरि सरकारले नयाँ प्रिन्टरसहितको बिलिङ मिटर जडान गर्न निर्देशन आएको छ। पटकपटक नयाँ मिटर फेर्दा व्यवसायीलाई ठूलो नोक्सान भइरहेको छ,' उनले भने। उनले  नयाँ मिटर जडानमा सहुलियत दिन माग गरे।  'हामी बिलिङ मिटर जडानको बाधक होइनौं तर सरकारले जडानमा सहुलियत तथा राहत दिनुपर्छ,' उनले भने।

नेपाल गुणस्तर तथा नापतौल विभाग महानिर्देशक विश्वबाबु पुडासैनी बिलिङ मिटर कार्यान्वयन गरेरै छाड्ने बताउँछन्। 'ट्याक्सीचालकले बहानाबाजी गरिरहेका छन्,' उनले भने, 'मिटर जडान नगर्नेलाई कारबाही गरेरै छोड्छौं।'

विभागका अनुसार अहिले सातामा दैनिक २५०–३०० ट्याक्सीले प्रिन्टरसहितको बिलिङ मिटर जडान गरिरहेका छन्। विभागले साउन ७ भित्रै उपत्यकाका झन्डै आठ हजार पाँच सय ट्याक्सीमा मिटर जडान गर्ने समयसीमा तोकेको छ।

प्रकाशित: ८ चैत्र २०७३ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App