८ वैशाख २०८१ शनिबार
समाज

एजुकेसन हब बन्यो भक्तपुरको लिवाली क्षेत्र

भक्तपुर- भक्तपुरको लिवाली क्षेत्र एजुकेसन हब (शैक्षिक केन्द्र) बनेको छ। भक्तपुर नगरपालिका २ स्थित सानो क्षेत्रफलको यस ठाउँमा शिशु स्याहार केन्द्रदेखि इन्जिनियरिङ कलेजसम्म छन्। १०–२० मिनेट हिँडेर चक्कर लगाउन सकिने यो ठाउँमा नौवटा शैक्षिक संस्था सञ्चालनमा छन्।

यहाँ एउटा शिशु स्याहार केन्द्र, तीन सरकारी विद्यालय, तीन बोर्डिङ स्कुल र दुईटा कलेज छन्। लिवालीस्थित भक्तपुर नगरपालिका वडा नं. २ को कार्यालय भवनको भुइँतल्लामा नगरपालिकाले शिशु स्याहार केन्द्र सञ्चालन गर्छ। यहाँ वागीश्वरी उच्च माध्यमिक विद्यालय, ब्रह्मायणी प्राथमिक विद्यालय र भीम आदर्श निम्नमाध्यमिक विद्यालय सञ्चालनमा छन्। निजी क्षेत्रबाट ख्वपिङ इंग्लिस एकेडेमी, बाल विकास इंग्लिस सेकेन्डरी स्कुल र लिसा इंग्लिस स्कुल छन्। ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ पनि यही क्षेत्रमा सञ्चालित छन्।

भक्तपुर नगरपालिकाद्वारा जग्गा एकीकरण सञ्चालन गरी सम्पन्न गरिएको यो ठाउँमा मानिसको बसोबास अत्यधिक बढ्न थालेसँगै स्कुल कलेज सञ्चालन गर्नेको संख्या बढ्दो रहेको स्थानीय लक्ष्मीकेशरी त्वायना बताउँछिन्। 'कुनै बेला स्कुल खोज्नुपर्ने यो ठाउँमा आज पाइलैपिच्छे स्कुल छन्', उनले नागरिकसँग भनिन्, 'शिशु स्याहार केन्द्रदेखि इन्जिनियरिङ कलेजसम्म सबै यहीं छन्।'

यस क्षेत्रमा रहेका शैक्षिक संस्थामध्ये सबैभन्दा पुरानो वागीश्वरी उच्च मावि हो। यो २०१५ सालमा स्थापना भएको हो। निजी स्कुलको रुपमा भने सबैभन्दा पहिला यहाँ ख्वप्रिङ इंग्लिस एकेडेमी सञ्चालनमा आएको हो। जग्गा एकीकरणको काम सुरु हुन थालेसँगै स्कुल सञ्चालन गरेको प्राध्यापक विनोद प्रजापतिले जानकारी दिए। स्कूल २०५६ फागुन ८ गतेदखि सञ्चालनमा ल्याएको उनले बताए। अहिले जग्गा एकीकरण आयोजनाको काम पनि सम्पन्न भइसकेको छ।

पछिल्लो पटक यहाँ भीम आदर्श निम्नमाध्यमिक विद्यालय सञ्चालनमा ल्याइएको हो। यो भक्तपुरको सुकुलढोकाबाट यहाँ सारिएको हो। पहिला यो स्कुल सुकुलढोकामा द्योछें  (देवता घर) मा भाडाको घरमा थियो। अहिले लिवालीमा आफ्नै भवन बनेपछि स्कुल सारिएको हो।

भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले देशमै नाम कहलिएको सरकारी स्कुलको रुपमा रहेको वागीश्वरीदेखि जिल्लाका नाम चलेका स्कुल लिवालीमा रहेको बताए।

भक्तपुर नगरपालिकाले २०५६ सालमा यो क्षेत्रको ६ सय ७८ रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गरेको थियो। नगरपालिका योजना शाखाका प्रमुख इन्जिनियर ओमहरि श्रेष्ठले नगरपालिकाले पहिलो जग्गा एकीकरण आयोजनाको रुपमा यहाँ आयोजना सुरु गरेको जनाए।

जग्गा एकीकरण आयोजना सम्पन्न भएसँगै यहाँ घर बन्ने क्रम सुरु भएको थियो। पछिल्ला वर्षमा यहाँ घर बन्ने क्रम तीव्र बनेको थियो। घना बस्तीको भक्तपुर नगरसँग जोडिएको नयाँ बस्तीका रुपमा विकास भएको यो ठाउँ अहिले घरैघरले भरिसकेको छ। जनसंख्या बढेपछि शैक्षिक संस्था सञ्चालनले समेत गति लिएको हो।

प्रकाशित: ८ चैत्र २०७३ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App