७ वैशाख २०८१ शुक्रबार
अर्थ

वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधान भिड्दै

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु भएको छ। मुलुकको आर्थिक नीतिदेखि औद्योगिक र व्यावसायिक वातावरण निर्माण तथा निजी क्षेत्रका उद्योगी व्यवसायीको हकहित संरक्षणसम्ममा महासंघको भूमिका रहने हुँदा यसको नेतृत्व चयनले देशव्यापी चर्चा पाउने गर्छ।

चैत २९ गते हुने महासंघको ५१औं साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। आइतबार विराटनगर र बुटवलमा कार्यक्रम आयोजना गरी वर्तमान कार्यसमितिका जिल्ला–नगर उपाध्यक्ष किशोरकुमार प्रधान र एसोसिएट उपाध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे। महासंघको विधान केही महिनाअघि संशोधन गरी वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रवधान राखिएकाले यसपालि वरिष्ठ उपाध्यक्ष मै कडा प्रतिस्पर्धा हुन लागेको हो।

गोल्छाले बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको '५१ औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि उम्मेदवार घोषणा सभा'मा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे। प्रधानले फागुन २२ गते नै घोषणा गरिसकेका थिए। तैपनि आइतबार विराटनगरमा एक कार्यक्रम गरी प्रधानले दोहोर्‍याएर उम्मेदवारी घोषणा गरे। प्रधानको प्यानलबाट जिल्ला–नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरु सुरज वैध, विनोद श्रेष्ठ र कुशकुमार जोशीको उपस्थिति थियो। कार्यक्रममा प्रधानले भने, 'मेरो उम्मेदवारी सबै उद्योगी व्यवसायीको हितका लागि हो।'

गोल्छा प्यानलबाट जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ भिड्दैछन्। उनी अहिले महासंघमा वस्तुगततर्फका उपाध्यक्ष छन्। एसोसिएटबाट चन्द्रप्रसाद ढकाल र वस्तुगत तर्फबाट उमेश प्रधानले उम्मेदवारी गरिसकेका छन्। गोल्छा प्यानलको कोषाध्यक्षमा ज्ञानेन्›लाल प्रधान भिड्ने पक्का भएको छ।

प्रधान प्यानलमा वस्तुगततर्फको उपाध्यक्षमा शंकर पाण्डे भिड्दैछन्। पाण्डेले शनिबार काठमाडौंमा उम्मेदवारी घोषणा गरिसकेका छन्। प्रधान प्यानलमा एसोसिएट उपाध्यक्ष र कोषाध्यक्षमा उम्मेदवार घोषणा हुन बाँकी छ। केही दिनभित्रै ती पदका प्रत्याशी पनि घोषणा हुने प्रधानले बताए।

यसपालि महासंघको विधान संशोधन गरेर कोषाध्यक्षको समेत व्यवस्था गरिएको हो। महासंघमा पहिले कोषाध्यक्ष पद रहे पनि बीचमा हटाएको थियो।

प्रधान २१ वर्षदेखि महासंघमा आवद्ध छन्। प्रधानले महासंघलाई नयाँ उचाइमा पुर्‍याउन उम्मेदवारी दिएको बताए। 'महासंघको निहुरिएको शीरलाई उच्च बनाउने छु,' आइतबार नागरिकसँगको कुराकानीमा प्रधानले भने, 'मैले पुरानो र नयाँ पुस्ताबीच पुलको काम गर्नेछु।' उनले स्वदेशी वस्तुको प्रयोग तथा निर्यात बढाउने उद्योगको संरक्षण र रोजगारी सिर्जना गर्न पहल गर्ने बताए। 

प्रधानको हिमालयन ह्युम पाइप, हिमालयन पोल इन्ड्रस्ट्रिज, लक्ष्मीराज इन्टरप्राइजेज, लक्ष्मीराज निर्माण सेवा, प्रधान ब्रिक उद्योग लगायत उद्योग छन्।

२०२२ सालमा स्थापना भएको महासंघको ५१औं साधारण सभा हुन लागेको हो। स्थापना ताका काठमाडौं, विराटनगर, वीरगन्ज र बुटवलमा मात्र उद्योग वाणिज्य संघ थिए। चारवटा संघ मिलेर निजी क्षेत्रकै छाता संगठनको रुपमा उद्योग वाणिज्य संघ स्थापना गर्ने निर्णय सहित लोकनाथ जोशीको संयोजकत्वमा एक समिति बनाइएको थियो। उक्त समितिले राजा महेन्द्रको उपस्थितिमा एक समारोहबीच तत्कालीन नेपाल उद्योग वाणिज्य संघ घोषणा गरेको थियो। तात्कालीन उद्योग वाणिज्य संघ (हालको महासंघ) को पहिलो अध्यक्ष लोकनाथ जोशी थिए। भवानी राणा १९औं अध्यक्ष हँुदैछिन्। 

 

प्रकाशित: ७ चैत्र २०७३ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App