coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

युरोप-अमेरिका प्रलोभनमा करोडौं ठगी

काठमाडौं- पर्वत, कुश्मा–८ का शेरबहादुर परियारलाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै। वैदेशिक रोजगारीबाट कमाएको रकमले जीविकोपार्जन गर्ने उद्देश्य लिएका परियारले उल्टै विदेश मोहमा लाखौं रकम गुमाएपछि निद हराम भएको हो।

स्वदेशमा रोजगारीको अवसर पाउन नसकेका ३८ वर्षीय परियारले जब विदेश जाने निधो गरे त्यतिबेला सम्पर्कमा आएका आफूलाई ज्योतिष बताउने रमेश पौडेलले चिनाइदिएका ललितपुर, इमाडोल बस्ने मनोजबहादुर सिंह भन्ने अनुप सिंहले लाखौं ठगेपछि बिल्लीबाठ भएको हो।

वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान खोजेका ३८ वर्षीय परियारलाई सिंहले अमेरिका पठाउने भन्दै ३८ लाख रुपैयाँ असुल गरेका थिए। तर, अहिले सिंह परियारलाई अमेरिका पठाउनु त कता हो कता उल्टै सम्पर्कविहीन भएका छन्। सिंहको ठगीबाट परियार मात्र पीडित भएका होइनन्। उनीजस्ता वैदेशिक रोजगारीमा जान ठिक्क परेका ४० भन्दा बढी युवायुवतीलाई युरोप–अमेरिकाको प्रलोभन देखाएर एक वर्षको बीचमा सिंहले तीन करोड रुपैयाँ बढी ठगी गरेको खुलेको छ।

पर्वत, शंकरपोखरी–५ का रामहरि श्रेष्ठ, विष्णु गौतम, प्रेम श्रेष्ठ, कमल श्रेष्ठ, कृष्णकान्त श्रेष्ठलगायतले युरोप–अमेरिमा पठाउने भन्दै ठूलो रकम असुली गरेको उजुरी दिएपछि मात्रै सिंहले ठूलो रकम ठगी गरेको तथ्य खुलेको हो। रकम असुल्न सिंहले आफूलाई पूर्वयुवराजधिराज पारस शाहको फुपूको छोरा भन्दै परिचय गराएको पीडित विनोद सेवाले बताए। सिंहले विनोदलाई मात्र नभई उनकी दिदी, दाइ र भाइलाईसमेत अमेरिका पठाइदिने भन्दै २९ लाख रुपैयाँ असुल गरेका थिए।

विभागमा दर्ता गरिएको उजुरीमा सिंहले ४० मध्ये आधालाई अमेरिका र आधालाई युरोप पठाइदिने प्रलोभन देखाएका थिए। रकम असुलेपछि गएको सिंहले भिसा लागेको राहदानी लिन बोलाएको तर राहदानी नदिएपछि ठगीमा परेको आंशका उत्पन्न भएको उनले बताए। 'भिसासहितको राहदानी फिर्ता गर्न भने पनि त्यहाँ अर्कै कार्यक्रम रहेछ,' परियारले भने। अहिले रकम असुल गर्ने सिंह र परिचय गराउने ज्योतिष पौडेल फरार भएपछि उजुरी दिन बाध्य भएको उनको भनाइ छ।

सिंहले पीडित युवामध्ये केहीलाई दलित कोटाबाट अमेरिका पठाउनेसम्मका आश्वासन बाँडेका थिए। जबकि अहिलेसम्म अमेरिका पठाउन दलितको कोटा छुट्ट्याइएको छैन। पछिल्लो समयमा खाडी र मलेसिया जाने कामदारलाई मात्र नभई युरोप र अमेरिका प्रलोभन देखाउँदै ठूलो रकम ‰वाम पार्ने गिरोह सक्रिय भएको पाइएको छ। युरोप–अमेरिका प्रलोभनमा कैयौं युवायुवतीले ठगी गर्ने गिरोहको आश्वासन तुरुन्तै पत्याउने र सहजै रकम दिने गरेको देख्दा अधिकारीहरू अचम्ममा परेका छन्।

वैदेशिक रोजगार विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय युरोप र अमेरिका मोह युवायुवतीमा अचाक्ली बढेको बताउँछन्। 'युरोप–अमेरिका पठाउन सहज नभएको जान्दाजान्दै युवायुवतीले सहजै ठगी गर्ने समूहलाई रकम बुझाएको पाइन्छ,' उनले भने, 'शिक्षित युवायुवतीले समेत सहजै रकम गुमाएको देख्दा पैसा किन यति धेरै सस्तो भयो होला भन्ने लाग्छ।' उनले सर्वसाधारण सचेत नभएसम्म वैदेशिक रोजगारीको नाममा हुने ठगी रोक्न कठिन हुने बताए। सरकारी निकायले जानेर/बुझेर मात्र रकम उपलब्ध गराउन पटकपटक आग्रह गर्दै आए पनि युवायुवतीले अटेर गर्दा ठगीका घटना कम हुन नसकेको धेरैको अनुभव  छ। वैदेशिक रोजगारीको क्रममा पीडित भएकालाई कानुनी सहयोग पुर्‍याउँदै आएका अधिवक्ता कृष्णप्रसाद न्यौपाने अहिले तीन करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका सिंहले दुई वर्षअघि पनि विदेश पठाउने भन्दै युवायुवतीसँग ८४ लाख रुपैयाँ ठगी गरको उजुरी परेको थियो। सिंहले उक्त मुद्दा कसरी टुंगो लगाए भन्नेबारे विभागका कर्मचारी अलमलमा छन्।

रकम असुलेपछि मुद्दा

यतिखेर वैदेशिक रोजगारीको प्रलोभनमा रकम गुमाउने मात्र नभई एकातिर रकम गुमाउने र अर्कोतर्फ ठगी गर्ने गिरोहबाट उल्टै मुद्दा लगाएर दुःख दिने गिरोह पनि सक्रिय भएको पाइएको छ।  रकम असुलेपछि पीडितलाई रकम फिर्ता गर्न नपरोस् भनेर ठगी गर्ने समूहले विवाद सिर्जना गर्ने र त्यसपछि पीडितविरुद्ध मुद्दा दर्ता गर्ने घटना भेटिएका छन्।

जिटुजी (दुवै देशका सरकारी निकाय) प्रक्रियाबाट बाहेक कुनै पनि मेनपावरले अनुमति नपाएको इजरायल पठाउन भन्दै लुम्बिनी ल्याङ्वेज इन्स्टिच्युटले डेढ सयभन्दा बढी युवायुवतीको रकम ठगी गरेर उल्टै उनीहरूलाई करकापको मुद्दा दर्ता गरेपछि ठगीको नयाँ शैली खुलेको हो। अघिल्लो वर्ष 'पाइलट प्रोजेक्ट'को रूपमा इजरायली दूतावास र वैदेशिक रोजगार विभागले सुरु गरेको इजरायलको केयर गिभरको रोजागरी सरकारी तवरमा प्रगति हुन नसक्दा लुम्बिनी इन्स्टिच्युटले मात्र साढे एक सय बढी युवायुवतीलाई ठगी गरेको तथ्य फेला परेपछि भित्रभित्रै अन्य मेनपावरले पनि सोही धन्दा चलाएको हुन सक्ने यस क्षेत्रलाई सुक्ष्मसँग नियालिरहेका व्यक्तिहरूको अनुमान छ।

इजरायलमा मासिक एक लाख ३० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने भन्दै एक लाख ३० हजारदेखि साढे दुई लाख रुपैयाँसम्म लुम्बिनी इन्स्टिच्युटले ठगी गरेकाले कारबाहीका लागि पीडितले विभागमा उजुरी दिएका छन्। लुम्बिनी इन्स्टिच्युटलाई एक लाख ३० हजार रुपैयाँ बुझाएकी चितवन, शिवनगरकी जमुना गुरुङले रोजगारीको खोजीमा रहेका युवायुवतीलाई झुक्याएर उक्त इन्स्च्यिुटले बरबाद पारेको गुनासो गरिन्। विभागका कर्मचारीसँग सेटिङ मिलाएर इजरायलमा केयरगिभर, ड्राइभर तथा जनरल वर्करका लागि पठाउने भन्दै लुम्बिनी इन्स्टिच्युटका सञ्चालकहरू कृष्ण तामाङ र कपिल रावतले करोडौं रुपैयाँ ठगी गरेको अर्का पीडित रिना सापकोटाले बताइन्।

तामाङ र रावतले गएको वैशाखदेखि असारसम्म एक सय ५० भन्दा युवायुवतीसँग रकम असुलेको अर्का पीडित मंगलपुर–१ चितवनका खेमराज परियारले बताए। परियारका अनुसार इन्स्टिच्युट सञ्चालकले सुरुमा प्रक्रियाको लागि र दोस्रोपटक इजरायलबाट 'डिमान्ड' ल्याउने भन्दै एक सय ५० बढी युवायुवतीसँग एक लाख ३० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म असुल गरेका थिए। इजरायलमा पाँच लाख रुपैयाँ लिएर सरकारी निकायको सेटिङमा सबैलाई पठाउने आवश्वासनले आफूहरू झुक्किएको अर्का पीडित कृष्णबहादुर गुरुङले बताए।

रकम लिएको तीन महिनाभित्रै सबैलाई इजरायल पठाउने बताएका तामाङ र रावत चितवनको भरतपुरमा रहेको इन्स्टिच्युट नै बन्द गरेर सम्पर्कविहीन भएपछि ती युवायुवतीले ठगीमा परेको जानकारी प्राप्त गरेको अर्का पीडित रामजी महतोले बताए। इन्स्टिच्युट सञ्चालक सम्पर्कविहीन भएपछि आक्रोशित युवायुवतीले उक्त इन्स्टिच्युटमा काम गर्ने मदन मगर र 'डिमान्ड' ल्याउने भन्दै मदनले पठाएको रकम झिक्ने रुद्रबहादुर मगरलाई नियन्त्रणमा लिएर प्रहरीम्ाा बुझाएपछि अहिले उक्त मुद्दाले फरक रुप लिन पुगको हो।

रुद्रबहादुरले आफूलाई जबरजस्तीपूर्ण तरिकाले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको भन्दै काठमाडौं जिल्ला अदालतमा करकापको मुद्दा दर्ता गरेपछि पीडितहरू थप समस्यामा परेका छन्। वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुगेकी पीडित जमुना गुरुङले गएको कात्तिक २९ गते काठमाडौं जिल्ला अदालतमा पीडितविरुद्ध करकापको मुद्दा दर्ता भएको बताइन्। 'जसले ठगी गरेको हो। उसैले उल्टै चर्को कुरा गर्दा पनि हुँदो रहेछ,' जमुनाले भनिन्, 'ज्यान मार्ने उद्योगमा सघाउनेलाई कारबाही हुने गरेझैं ठगीमा मिलेमतो गर्नेलाई पनि कारवाही हुनुपर्छ।'

इन्स्टिच्युट सञ्चालक फरार भएपछि पीडितले बाध्य भएर इन्स्टिच्युटका कर्मचारी र 'डिमान्ड' ल्याउने भन्दै रकम लिनेलाई नियन्त्रणमा लिनुपरेको पीडितहरूको भनाइ छ। पाँचथर, अमरपुरका पीडित गणेश प्रसाईले भने, 'इन्स्टिच्युट सञ्चालक नभागेको भए कर्मचारीलाई समात्दैन्थ्यौं। सञ्चालक भागेको ठाउँ फेला पर्ला भनेर उनीहरूलाई नियन्त्रणमा लिएका हौं।' 

वैदेशिक रोजगारीको क्रममा पीडित भएकाहरूको मुद्दा हेर्दै आएकी अधिवक्ता शोभा कार्की पछिल्लो समयमा सुरुमा पीडितसँग रकम असुल गर्ने र अन्तिममा उल्टै मुद्दा लगाएर समस्यामा पार्ने धन्दा मौलाएको बताउँछिन्। वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई सशक्त कारबाही गर्न सकेको भए यस्ता अपराधमा कमी आउन सक्ने उनको भनाइ छ। 'हुँदा हुँदा अब त सुरुमा विदेशको प्रलोभनमा रकम असुल गर्ने र अन्तिममा रकम माग्दा मुद्दा लगाउन थालिएको छ। आफैं ठगी गर्नेको मुद्दा दर्ता गर्दा पर्याप्त प्रमाण खोजिनुपर्छ,' उनले भनिन्।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाह पछिल्लो समयमा वैदेशिक रोजगारीको नाममा ठगिएको भन्दै उजुरी गर्ने क्रम बढ्दा प्रहरीको नियमित काम नै प्रभावित भइरहेको बताउँछन्। 'वैदेशिक रोजगारीसँग जोडिएर अत्यधिक उजुरी पर्न थालेपछि प्रहरीले लिनै पर्ने उजुरीबाहेक धेरैजसोलाई वैदेशिक रोजगार विभाग पठाउने गरेका छौं,' शाहले भने। गत वर्ष वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै विभागमा करिब २५ सय उजुरी परेका थिए।

प्रकाशित: ७ चैत्र २०७३ ०५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App