८ वैशाख २०८१ शनिबार
समाज

नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

पाँचखाल (काभ्रे)- नेपालमा सोमबारबाट आयोजना हुने संयुक्त सैन्य अभ्यासमा भारत, पाकिस्तान र बंगलादेशका सेनाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। आन्तरिक तथा बाह्य युद्धको चपेटमा परेका देशमा संयुक्त राष्ट्र संघका तर्फबाट शान्तिका लागि खटिने २८ देशका सेनाले नेपालमा गर्ने संयुक्त सैन्य अभ्यासमा परस्परविरोधी र बारम्बार सीमामा युद्ध गर्दै आएका भारत, पाकिस्तान र बंगलादेशका सेनाले नागरिक सुरक्षा, शान्ति अभ्यास र प्रतिआतंकबाद सम्बन्धी क्षेत्रगत अभ्यास गर्ने भएका हुन्। 

तीन क्षेत्रमा विभाजन गरिएको अभ्यासअर्न्तगत नागरिक सुरक्षा, बम तथा बिस्फोटक पर्दाथको पहिचान र निष्क्रिय बनाउने अभ्यास तथा प्रतिआतंकबादीरुद्धको क्षेत्रगत अभ्यासमा यी तीन देशका सेनासमेत एउटै समूहमा रहेर अभ्यास गर्नेछन्। सेनाले एकआपसमा रहेको विरोधाभाषको अन्तका लागि समेत यसप्रकारको अभ्यासमा सहायक हुने जनाएको छ।

नेपाली सेनाको काभ्रेपालाञ्चोकको पाँचखालस्थिते वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दुईसाता लामो संयुक्त सैन्य अभ्यास हुने भएको हो। नेपालबाट २०५६ मा सुरुवात भएको शान्ति प्रयासको तेस्रो संस्करण यसवर्ष तेस्रो पटक नेपालले आयोजना गर्ने भएको हो। यसअघि शान्ति अभ्यास दोस्रो २०६९ मा नेपालमै आयोजना भएको हो। शान्ति अभ्यास दोस्रोमा २३ देशका आठसय ५० सेना सहभागी थिए।

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको सह–आयोजनामा चैत ७ देखि सञ्चालन हुने संयुक्त सैन्य अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार उदघाटन गर्नेछन्। अभ्यास २१ गतेसम्म सञ्चालन हुनेछ।

नेपालसहित विभिन्न २८ देशका करिव एकहजार २४ जना सैनिकहरुले अभ्यासमा सहभागिता जनाउदै छन्। पहिलो पटक नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुईजना वरिष्ठ अधिकारी समेत अभ्यासमा सहभागी हुनेछन। यस्तै पहिलो पटक महिला सैनिकहरुका दुई प्लाटुनसमेत अभ्यासमा सहभागी हुनेछन्।

तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि कार्यक्षेत्रमा तैनाथ हुनु अघि संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एकआपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि ल्याउनु रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। अभ्यासमा सहभागिताका लागि  प्यासिफिककमाण्डका कमाण्डर एडमाईरल ह्यारी बी ह्यारिस आइतबार नेपाल आएका छन। 

तालिम केन्द्रका केन्द्रपति महासेनानी प्रयोग शम्सेर राणाले आईतबार अभ्यासका बिषयमा जानकारी दादै शान्ति प्रयासको तेस्रो संस्करण संयुक्त राष्ट्र संघले शान्ति प्रक्रियामा खटिने फौजका लागि लागू गर्ने तयारीमा रहेका नयाँ नियम र अभ्यासका बिषयमा केन्द्रीत हुने बताए। उनका अनुसार सहभागी २८ देशका सेनाले आफ्नो देश भित्र र बाहिर शान्ति प्रक्रियामा खटिदा गरेका अनुभव साटासाटका साथै शान्ति प्रक्रियामा देखिएका नयाँ चुनौतीरुद्धका कारवाहीका बिषयमा अभ्यास गर्नेछन्।

'युएनले ल्याउन लागेका नयाँ नीति नियम र द्धन्दको बदलिदो विश्व परिवेशका बिषयमा अभ्यास केन्द्रीत हुनेछ, नागरिकको सुरक्षा, प्रति आतंकबाद र शान्ति प्रक्रियाका विविध पक्षमा अभ्यास केन्द्रीत छ,' महासेनानि राणाले भने।

शान्ति प्रयास तेस्रोमा संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमाण्ड अर्न्तगत  विश्व शान्ति अभ्यास पहल(गोल्बल पिस अपरेशन इनिसेटिभ)मा सहभागी राष्ट्रका रुपमा नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका, मलेसिया, इन्डोनेशिया, मंगोलिया, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, रुवाण्डा, किर्गिस्तान,काजिकस्तान, बोस्निया हर्जगोभिना, घाना, पाराग्वे, उरग्वे, मेक्सिको,जोर्डन र अमेरिका सहभागी हुनेछन। यस्तै भारत, जापान, बेलायत,अष्ट्रेलिया,क्यानडा, न्युजिल्याण्ड र दक्षिण कोरिया सहयोगी पहलकर्ताका रुपमा सहभागी भएका छन।

यसरी सुरु भयो शान्ति अभ्यास

नेपालमा बढदो आन्तरिक द्धन्दका बिच २०५६ मा नेपाल, बंगलादेश, श्रीलंका र अमेरिकाले पाँचखालमै गरेको संयुक्त अभ्यास हाल ६ देशमा आयोजना भै सकेको छ। नेपालमा चारदेशका करिब ५५ जना सैन्य अधिकारीबाट सुरु भएको संयुक्त सैन्य अभ्यास १७ वर्षमा पुग्दा २८ देश र एकहजार बढिको सहभागिता हुने भएको छ।

सेनाका पूर्व उपरथि विश्वमा बढ्दो आन्तरिक तथा बाह्य द्धन्दको समाधान र रोकथामका लागि नेपालबाट अभ्यासको सुरुवात भएको बताउछन। उनले पहिलो शान्ति अभ्यासको सम्झनागर्दै भने 'नेपालमा माओवादी, बंगलादेशमा धार्मिक, श्रीलंकामा लिट्टेको जगजगीका बिचमा सुरुवात भएको हो, सार्थक प्रयास थियो त्यसैको नतिजा भन्न सकिन्छ,'।

नेपालमा २०५६ (सन २०००) मा आयोजना पछि सन २००४ मा श्रीलंकामा अभ्यास समागाम, सन २००८ मा बंगलादेशमा अभ्यास शान्ति दुत, सन २०११ मा थाईल्याण्डमा अभ्यास आयरा गार्डियन, सन २०१४ मा इन्डोनेशियामा अभ्यास गरुण कान्ति धर्म, सन २०१५ मा मलेसियामा केरिस अमन,सन २०१६ मा मंगोलियामा अभ्यास खान क्वेस्टका नामले अभ्यासको आयोजना भएको छ।

महासेनानि राणाले सबै देशमा आयोजना भएका अभ्यासको भाषागत भिन्नता रहेपनि अर्थमा शान्ति अभ्यास नै सञ्चालन भएको बताउँछन्।

शान्ति सेनामा एक लाख बढी नेपाली सेना

सन १९५८ मा द्धन्दग्रस्त लेबनानमा ६ जना अनुगमनकर्ता पठाएर सुरु भएको नेपाली सेनाको शान्ति सेनामा हाल एकलाख ११ हजार ३८ जनाले सहभागिता जनाएका छन। हाल नेपाली सेना ४१ देशमा विभिन्न नामले संयुक्त राष्ट्र संघको झण्डा मुनि शान्ति प्रक्रियामा सहभागी भइरहेका छन्। नेपालले सन १९७४ मा इजिप्टमा सेना पठाएसँगै शान्ति सेनामा उसको विधिवत सुरुवात मानिँदै आएको छ।

 

प्रकाशित: ७ चैत्र २०७३ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App