coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपभोक्ता लुट्दै सिभिल होम्स

ललितपुर- ललितपुर ठेचोमा एउटा सफा, सुग्घर र भव्य बस्ती छ, जहाँ मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका बुद्धिजीवी बसोबास गर्छन्। सिभिल होम्सले चिनिने यो बस्तीमा बस्दै आएका उपभोक्ताको कथा भने बेग्लै छ। पछिल्लो समय उनीहरू हाउजिङ कम्पनी सञ्चालकको शोषणमा परेका छन्।

हाउजिङभित्रका एक सय ९१ वटा भवनमा बस्दै आएका दुई सय परिवार सञ्चालकबाट ठगिएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापनपत्र बुझाउन उपस्थित भए। कम्पनीले तोकेका सर्त पूरा नगरेको र पानीट्यांकीमा ताला लगाइदिएपछि उनीहरूले प्रशासन गुहारेका हुन्।

'भव्य सुविधा देखेर करोडौं लगानी गर्‍यौं', सिभिल होम्स प्रालिको फेज थि्रमा बस्दै आएका जेसनदेव वैद्यले भने, 'हुँदाहुँदा सञ्चालकले खानेपानी, खुला चउरलगायत होम्सभित्रका सुविधामा ताला लगाइदिएका छन्।'

सञ्चालक इच्छाराज तामाङले गत शुक्रबारदेखि  होम्सको ट्यांकीमा ताला लगाइदिएका हुन्। ताला लगाइदिएपछि होम्समा बसेका हजार जनसंख्यालाई पिउने पानीको आपत् परेको छ। कम्पनी सञ्चालकबाट चरम शोषणमा परेको गुनासो उपभोक्ताको छ। 

'कम्पनी सञ्चालकले तोकेका सर्त पूरा गरेका छैनन्', वैद्यले भने, 'खानेपानीको ट्यांकीमा ताला लगाइदिँदा आतंक छाएको छ।' उनका अनुसार हाउजिङलाई (एक करोड ५० लाख देखि तीन करोड रुपैयाँसम्म) बुझाई घर किनेर बसेकाहरूले न्यूनतम सुविधासमेत पाएका छैनन्। 'घर किन्ने बेला कम्पनीले गरेको एउटा प्रतिबद्धता पनि पूरा गरेको छैन', उनले भने, 'सिभिल होम्समा बस्ने कोही पनि सन्तुष्ट छैनन्।'

घर किन्ने बेला कम्पनीले आकर्षक सुविधा देखाए पनि अहिले ट्वाइलेट, ढल, सडकलगायत सुविधा दिइएको छैन। सिभिल हाउजिङ प्रोजेक्टअन्तर्गत ललितपुरको ठेचोमा २०६६ सालमा निर्माण गरिएका अधिकांश घरमा प्रयोग गरिएका टायल फुटिसकेका होम्समा बस्दै आएका मोहनप्रसाद खनालले बताए। 'खानेपानीका लागि प्रयोग गरिएका अधिकांश पाइप फुटेका छन्', उनले भने, 'हाउजिङ बनाउँदा ढलपाइप सडकतिर फर्काएको रहेछ।'

सिभिल होम्स प्रालिले हालसम्म उपत्यकाका भैंसीपाटी, सुनाकोठी, गोदावरी, धापाखेल, खुमल्टार, सीतापाइला र तीनथानामा हाउजिङ निर्माण गरिसकेको छ। निर्माण सकिएका धेरै घर बिक्री भइसकेका छन्। तर, उपभोक्तालेसामान्य सुविधासमेत पाएका छैनन्। 'हामीले आवश्यक सुविधा माग्दा सञ्चालक आएर पिउनेपानीको ट्यांकीमा ताला लगाए', हाउजिङमा बस्दै आएका लेखक तथा पत्रकार नारायण वाग्लेले भने, 'प्रहरीको काम ताला खोल्ने हो तर यहाँ त पीडक पक्षलाई संरक्षण गरिरहेको देखियो।' उनले जसको सम्पत्ति हो उसैलाई नसोधी प्रहरी स्कर्टिङमा आएर कम्पनी सञ्चालक तामाङले पिउनेपानीको ट्यांकीमा ताला लगाएको टिप्पणी गरे। वाग्लेले भने, 'हाउजिङ सञ्चालक एमालेका सांसद हुन्। ठूलाबडाले गर्ने शक्ति दुरुपयोगको यो एउटा नमुनामात्र हो।'

कम्पनीले कबुल गरेका सर्त पूरा नगरेकोमा हाउजिङमा बस्नेहरू पछुताएका छन्। सञ्चालकले पाँच करोड बराबर लगानी नगरी भाग्न खोजेको र बेलाबेलामा प्रहरी र टोले गुन्डा ल्याएर तर्साउने गरेको पीडित वैद्यले गुनासो गरे। यस विषयमा कुरा गर्न खोज्दा सञ्चालक इच्छाराम तामाङ सम्पर्कमा आउन मानेनन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले खानेपानीको ट्यांकीमा लगाएको ताला खोल्न लगाई गल्ती गर्ने कम्पनी सञ्चालकमाथि कारबाही गर्ने बताए। 'हाउजिङ सञ्चालकले तोकेका सर्त पूरा गर्नेपर्छ', उनले भने, 'उपभोक्ता ठगेको भेटिएमा काठमाडौं उपत्यका नगर विकास प्राधिकरणलाई कारबाहीका लागि सिफारिस गर्छौं।'

काठमाडौं उपत्यका नगर विकास प्राधिकरण ललितपुरका आयुक्त नारायणराज भण्डारीले तुरुन्तै हाउजिङ कम्पनीको अवलोकन गर्ने र सर्त पालना नगरेको भेटिएमा कारबाही गर्ने बताए। उनका अनुसार सडक, फुटपाथ, हरियाली, स्कुल, क्लब हाउस, गोरेटो बाटो, पार्किङलगायत सुविधा हाउजिङभित्र बनाउने गरी सञ्चालकले स्वीकृति लिएका थिए।

सिभिल होम्सको हाउजिङमा बस्ने उपभोक्ताले बिजुलीको समेत समस्या खेप्दै आएका छन्।  व्यक्तिगत रूपमा निर्माण गरिएका घरमा नेपाल विद्युत् प्राधिकरणको मिटर जडान नगरिएको पीडित वैद्यले गुनासो गरे। उपभोक्ताका अनुसार कम्पनीले हरेक घरमा फोहोर खानेपानी पठाएका कारण हाउजिङभित्रका उपभोक्ता मिलेर दुइटा बोरिङमार्फत पानीको व्यवस्था गरिएको छ।

सिभिल होम्सका एउटा घरमा पनि सेफ्टीट्यांकी छैन। हाउजिङको ढल सीधै सडकमा मिसिएको उपभोक्ताको भनाइ छ। हाउजिङ सञ्चालकले सरकारबाट अनुमति लिँदा शौचालयबाट निष्कासन हुने ढल प्रशोधन गरेरमात्रै नालीमा पठाइने प्रतिबद्धता गरेका थिए। अनुगमनका क्रममा त्यस्तो भेटिए सञ्चालकलाई कारबाही गरिने आयुक्तको कार्यालय ललितपुरका प्रमुख भण्डारीले बताए।

सिभिल होम्सविरुद्ध संघर्ष

सिभिल होम्सबाट ठगिएको भन्दै हाउजिङमा बस्नेहरू संगठित हुन थालेका छन्। डा. अरुणा उप्रेतीको अध्यक्षतामा कमिटी गठन भएको छ। उपभोक्ताले 'सिभिल होम्स पीडित संघर्ष कमिटी' गठन गरेको सदस्य मोहनप्रसाद खनालले बताए। उनका अनुसार कमिटीले २४ सै घन्टा बिजुली, पानी, बगैंचा, भित्री सडकलगायत सुविधा माग गरेको छ। 

प्रकाशित: ७ चैत्र २०७३ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App