coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भीमसेनकालीन दरबारको अस्तित्व संकटमा

तस्बिर सौजन्य :  सुशीलविक्रम थापा

काठमाडौं- काठमाडौं लगनटोलस्थित भीमसेनकालीन दरबार संरक्षण अभावमा अस्तित्व मेटिने अवस्थामा पुगेको छ। भीमसेन दरबारका नामले परिचित तर उनैका कान्छा भाइ रणवीरसिंह थापाको निजी निवास रहेको यो दरबारलाई अघिल्लो वर्षको भूकम्पले क्षति पुर्‍याएपछि दरबार संकटमा परेको हो।

पुनर्निर्माणका लागि गत वैशाख २२ मा काठमाडौं महानगरपालिका, नेपाली सेना र पुरातŒव विभागबीच दरबार भत्काउने सहमति भएको थियो। तर हालसम्म कुनै पनि निकायले सहमतिअनुसार काम नगरेको रणवीरसिंहका छैटौं पुस्ता सुशीलविक्रम थापा बताउँछन्।

'दरबार पुरानै शैलीमा निर्माण गर्ने गरी भत्काउने सहमति भएको थियो', उनले भने। महानगरले चलाखी गर्दा काम अघि बढ्न नसकेको थापाको भनाइ छ। 'पहिले महानगरले क्षतिग्रस्त दरबार भत्काउने सहमतिमा हस्ताक्षर गर्‍यो, तर अहिले आर्थिक अभाव भन्दै तर्कन खोजेको छ', उनले भने। महानगरले दरबारको पर्खाल भत्काएर त्यस क्षेत्रको सडक विस्तार भने सम्पन्न गरिसकेको छ।

दरबार भत्काउने सहमतिमा हस्ताक्षर गरेका महानगरअन्तर्गत सहरी पूर्वाधार विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले पुराताŒिवक सम्पदा भत्काउने विषय आफ्नो प्राथमिकतामा नपर्ने जनाए। 'दरबार केका लागि भत्काउने?' उनले प्रश्न गरे। दरबार सेनाको स्वामित्वमा रहेको र भूकम्पले क्षति पुगेका पूर्वाधार भत्काउने जिम्मा पनि सेनालाई नै रहेकाले यस विषयमा सेनालाई बढी जानकारी हुने उनी बताउँछन्।

नेपाली सेनाले भने दरबार सुरक्षाका लागि सेना खटिए पनि दरबार संरक्षणको जिम्मा पुरातŒव विभाग मातहतमा रहेको जनाएको छ। नेपाली सेनाका प्रवक्ता उपरथी ताराबहादुर कार्कीले सेनाले दरबारको सुरक्षा दिने काम मात्र गरिरहेको बताएका छन्। 'हामीले दरबारको सुरक्षा दिने काम मात्र गरिहेका छौं, दरबार संरक्षणको जिम्मा पुरातŒव विभागको हो,' प्रवक्ता कार्कीले भने। दरबार भत्किने अवस्थामा पुगेपछि त्यहाँ रहेका महŒवपूर्ण पेन्टिङ छाउनीस्थित संग्रहालयमा सारिएको प्रवक्ता कार्कीले बताए। भूकम्पले क्षति पुर्‍याउनुभन्दा पहिले दरबारमा पुराना हतियार राखिएको थियो।

पुरातŒव विभागका सूचना अधिकारी दामोदर गौतमले दरबारको संरक्षण वा पुनर्निर्माणका विषयमा आफूलाई जानकारी नरहेको बताए। यो ऐतिहासिक दरबार सेना, महानगर र पुरातŒव विभागसँग जोडिए पनि यी निकायबीच समन्वय नहुँदा संरक्षण कार्य अघि बढ्न नसकेको बताइन्छ।

नेपालकै पहिलो गजुर भएको घर

दुई सय वर्षपहिले निर्माण भएको यो दरबारलाई नेपालकै पहिलो गजुर भएको घर मानिन्छ। चीनको ल्हासाका लागि तत्कालीन महावाणिज्य दूत (वकिल) समेत रहेका रणवीरसिंहले ल्हासाको नक्कल गरेर यो निजी निवास निर्माण गरेका थिए। त्यतिबेला ल्हासामा सम्पन्न (धनाढ्य) मानिसले घरमा गजुर राख्ने परम्परा रहेको र त्यसैको नक्कल गर्दै रणवीरसिंहले गजुरसहितको दरबार बनाएको थापा बताउँछन्।

मिति उल्लेख भएको दोस्रो पेन्टिङ

१८७० सालपछि निर्माण भएको यो दरबारमा १८८९ सालमा विश्वरूपाको वाल पेन्टिङ राखिएको थियो। उक्त पेन्टिङ नेपालका पुरानामध्ये मिति उल्लेख भएको दोस्रो पेन्टिङ रहेको थापाको दाबी छ। सो पेन्टिङलाई आफ्नै पहलमा छाउनी संग्रहालयमा लगिएको थापाले बताए। अहिले पनि केही पेन्टिङ भग्नावशेष दरबारभित्रै रहेको उनको भनाइ छ। यो दरबारमा राखिएका वाल पेन्टिङमा सुनको जलप लगाइएको थापाले बताए।

संरक्षणमा असहयोग

यस दरबारको संरक्षणका लागि आफूले पटक–पटक पहल गर्दा पनि असफल भएको थापा बताउँछन्। भूकम्पले दरबार भत्काउनुपहिले नै यसको संरक्षणका लागि सेनासँग आग्रह गरे पनि तत्कालीन नेतृत्वले असहयोग गरेको थापाको भनाइ छ। 'मैले नेपाली सेनाका तत्कालीन प्रमुख गौरवशमशेर राणालाई यो दरबार संरक्षणका लागि पहल गर्न आग्रह गरेको थिएँ। उनले आश्वासन त दिए तर संरक्षणका लागि पहल गरेनन्,' थापाले भने। समयमै संरक्षण गरेको भए दरबार सुरक्षित रहने उनको भनाइ छ।

निजी दरबार कसरी सरकारका नाममा गयो?

१८९४ सालमा भीमसेन थापाको पतनपछि उनीसँगै सम्पूर्ण परिवारको जायजेथा सरकारले कब्जा गरेको थियो। पछि १९९४ मा सरकारले सबै जग्गा फुकुवा गर्‍यो। रणवीरसिंहले आफ्नो नाममा रहेको उक्त दरबार फिर्ता लिएनन्। यसको कारण बताउँदै थापा भन्छन्, 'उहाँका चार छोरा थिए। यो दरबार फिर्ता लिँदा दाजुभाइले बाँड्नुपर्ने अवस्थाका कारण भत्काउनुपर्ने पनि हुन सक्थ्यो। त्यसैले आफ्नो चिनोका रूपमा रहिरहोस् भनेर उक्त दरबार सरकारकै नाममा रहेको हो।' सरकार मातहत आएयता दरबारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ।

सुरुमा पाँच तला रहेको यो दरबारलाई १९९० सालको भूकम्पले भत्काएको थियो। पछि यो दरबार चार तलामा सीमित भयो। सुरुमा झिंगटीको छानो रहेको दरबारमा भूकम्पले एक तला भत्काएपछि जस्तापाता लगाइएको थियो। यो दरबारको माथिबाट तल झर्दा चारवटा भर्‍याङ छन्। तत्कालीन परिस्थिति र सुरक्षालाई ध्यान दिएर धेरै बाटो बनाइएको हुन सक्ने थापाको तर्क छ।

 

 

प्रकाशित: ७ चैत्र २०७३ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App