६ वैशाख २०८१ बिहीबार
समाज

महान्यायाधिवक्ताले अन्तिम बहस नगर्ने

काठमाडौं- सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले सोमबारको पूर्ण इजलासमा अन्तिम बहस नगर्ने बताएका छन्।

यसअघि नै अन्तरिम आदेश जारी गरेका न्यायाधीशहरू इजलासमा रहेकाले आफूले बहस गर्नुनपर्ने श्रेष्ठको तर्क छ। महान्यायाधीवक्ता श्रेष्ठले भने, 'सोही मुद्दामा यसअघि जसले आदेश गर्नुभएको छ। तिनै श्रीमान्हरू हुनुहुन्छ, मेरो सुनाउने कुरै छैन। मैले बहस गरिसकेको छु।'

श्रेष्ठले बिहीबार न्यायाधीशहरू दोहोरिएको भन्दै आपत्ति जनाएका थिए। तर, कुनै पनि कानुनले एउटै मुद्दामा न्यायाधीश दोहोरिन नहुने उल्लेख गरेको छैन। उनले भने, 'सबै कुरा कानुनमा हुनुपर्छ भन्ने छैन। व्यावहारिक पक्ष पनि हुन्छ। एकपटक प्रश्न उठिसकेपछि अर्को बेन्च बस्न सक्थ्यो।'

न्यायाधीश दोहोरिएकोमा सरकारले प्रश्न उठाएपछि अर्को बेन्च बस्नुपर्ने उनको तर्क छ। सोमबार सहन्यायाधिवक्ता र उपन्यायाधिवक्तालेे बहस गर्ने उनले जानकारी दिए। 'मेरो बहस अघिल्लो बेन्चमा सुनाइसकेको छु', उनले भने।

फागुन १ मा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएको निर्णय कार्यान्वयन नगर्न/नगराउन आदेश दिएको थियो।

दोस्रोपटक फागुन १८ मा न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नुपर्ने आधार र कारणसमेत उल्लेख नभएकाले सरकारले फागुन १ मा गरेको निर्णयअनुसार पदबहाली नगर्न/नगराउन आदेशलाई निरन्तरता दिने आदेश दिएको थियो।

बिहीबार तेस्रोपटक न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने र चौबीस घन्टाभित्र पदमा रहँदा चन्दको कार्यसम्पादन मूल्यांकनसम्बन्धी अभिलेख झिकाउन आदेश दिएको थियो।

महानिरीक्षक नियुक्ति विवादसम्बन्धी सुनुवाइ आइतबार नटुंगिएपछि हेर्दाहेर्दैमा राखेर सोमबारका लागि सारिएको छ। सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा आइतबार पक्षका तर्फबाट मात्र बहस भएको थियो।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले मुद्दा सोमबारलाई सारेको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले बिहीबार सुरक्षा निकाय प्रमुख पदमा नियुक्तिसम्बन्धी संवेदनशील विषयमा विवाद देखिएकाले पूर्ण सुनुवाइमा पठाउने आदेश दिएको थियो।

आइतबार भएको बहसमा पक्षका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा, बालकृष्ण नेउपाने, तुलसी भट्ट, अधिवक्ताहरू भीमार्जुन आचार्य, ओमप्रकाश खनाल, बाबुराम कुँवर, हरि फुयाल, गोविन्द बन्दीलगायतले प्रहरी महानिरीक्षकमा चन्दलाई नियुक्ति गर्न कानुनले नदिने बहस गरेका थिए।

सोमबार मुद्दाका विपक्षी चन्दका तर्फबाट सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ताले बहस गर्नेछन्।

प्रकाशित: ७ चैत्र २०७३ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App