coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पर्ममा घर ठड्याउँदै महिला

दोलखा (नेगल)- आँगनछेउ ढुंगाको चाङ छ। आँगनको भित्ता र डिलैडिल लहरै १३ जना महिला धमाधम गिटी कुटिरहेका छन्। त्यही लहरको बीचमा छिन् मुजुर तामाङ। ढुंगा कुट्दा निस्केको धुलोले उनको अनुहार ढपक्कै छोपेको छ। 'तीन दिन भयो, कुट्न थालेको, अब दुई दिनमा त पुग्ला कि!', मुजुरले मुख फोरिन्।  

छिमेकी मोती तामाङको घरआँगनमा तीन दिनदेखि लगातार टकटके (हम्मर) चलाइरहेकी छन् उनीहरु। ज्यालामजदुरीका लागि होइन, पर्म (आलोपालो श्रम साटासाट) मा मोतीको घर बनाउन खटिइरहेका छन्।

'आज मोतीको काम गरिरहेका छौं, पालैपालो सबै मिलेर घर बनाउँदै छौं', उनले सुनाइन्।

मुजुरलाई न चुनावको चटारो छ, न गाउँमा मत माग्न आउनेका कुरा सुन्ने फुर्सद। चिन्ता छ त मात्र वर्षायामअघि नै कसरी घर ठड्याउने भन्ने?'

सदरमुकाम चरिकोटबाट ४.५ किलोमिटर हवाई दुरीमा रहेको नेगल गाउँ पुग्न दोलखा बजारबाट सात किलोमिटर घुमाउरो र अफ्ठेरो खालको ओरालो सडक यात्रा गर्नुपर्छ।

गाउँभरिका ६३ धुरीमध्ये ५७ घर तामाङ समुदायकै छ। ३ मगर र ३ धुरीमा दलित।

झुरुप्पको यो बस्तीलाई दुई वर्षअघिको भुइँचालोले झिरिप्पै ढालिदियो। कसैले वास्ता गरेनन्। गत साल चौधरी फाउन्डेसनले ६३ धुरीलाई नै घर बनाइदियो तर सानो एककोठे। जुन परिवार धान्न पर्याप्त थिएन। फाउन्डेसनले बनाइदिएको घर राखनधरन र सुत्ने कोठाका रुपमा प्रयोग गरेका स्थानीयले आफ्नै खर्चमा अस्थायी कटेरो बनाए।

यसपालि बल्ल उनीहरु घर बनाउन जुटेका छन्। मोतीका अनुसार ६३ मा तीन जनाले बल्ल घर बनाउन सुरु गरेका छन्। मोतीसहित मुजुर हरि पाखि्रनले नयाँ घर बनाउन नगरपालिकामा नक्सा पासका लागि आवेदन गरेका छन्।

तीन जनाबाहेक गाउँभरि सबै घर बनाउने तरखरमा छन् तर प्रायः पुरुष वैदेशिक रोजगारी र गाउँबाहिर रहेकाले ज्यामी नपाएका कारण सुरु गरिहाल्न सकेका छैनन्।

'हुर्केबढेका छोरा र पुरुष रोजगारी सिलसिलामा कि विदेश कि राजधानी छन्', मोतीले सुनाइन्, 'त्यसैले महिलाजति मिलेर गिटी कुट्दै निर्माण सामग्री जोहोमा लागेका छौं, अब निर्माण सामग्री जोहो गरिसकेपछि ज्यामीको व्यवस्था गरी जग बसाल्न सुरु गर्छौं'।

गाउँभन्दा केही तल रहेको तामाकोसी नदीछेउको नागदहबाट स्थानीयले बालुवा ल्याएर झारिसकेका छन्। गाउँकै छेउबाट बोकेर ल्याई एक ठाउँमा थुपारेर महिलाहरु गिटी कुट्दै छन्।

'घर बनाउन हामी सबै आलोपालो श्रम गरिरहेका छौं', मुजुरले भनिन्, 'जेठसम्म त मेरो पालो आइसक्छ कि?'

मुजुरका श्रीमान ज्यामी काम गर्छन्, दुई छोरामा जेठो विदेश र कान्छो राजधानीतिर छ। ज्याला नलिई आलोपालो सहयोगको रुपमा श्रम गरिरहेका स्थानीय महिलालाई घरमूलीले खाजा भने खुवाउँछन्।

स्थानीय कतिपयले ढलान घर बनाउने योजना बुनेका छन् भने कतिपयको ढुंगाकै बनाएर जस्ताको छानो छाउने धोको छ।

'के गर्नु, काठ पाइँदैन। त्यसैले गिटी र बालुवा प्रयोग गरेर चौकोस बनाउने तयारी गरेको छु', मोतीले भनिन्। अरु निर्माण सामग्री सदरमुकामबाट ल्याइएको छ।

स्थानीय अगुवा स्टालिन श्रेष्ठका अनुसार मजदुर अभावका कारण नेगल गाउँका बासिन्दाले पर्ममा काम चलाउँदै आएका छन्। गाउँमा घर बनाउने काममा बूढापाकाले सघाइरहेका छन् भने महिलाहरुसमेत उत्तिकै सक्रिय छन्। गाउँभरिका सबैले पहिलो किस्ताबापतको रकम थापिसकेका छन्। ज्यामी नहुँदा सबैले काम सुरु गर्न नसकेको स्थानीय हरिबहादुर पाखि्रनले बताए।

स्थानीयलाई चुनावभन्दा पनि घर बनाउने चिन्ता रहेको हरिबहादुरले सुनाए।

सदरमुकामनजिक रहे पनि विकासका दृष्टिले पछि परेको नेगलवासीको एउटै धोको छ। गाउँ भएर जाने दोलखा नागदह सडक स्तरोन्नतिको। 'यति बाटो राम्रो भइदिए, हामी पनि गाउँलाई चम्काउँथ्यौं होला नि!' हरिबहादुरले भने।

प्रकाशित: ७ चैत्र २०७३ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App