४ वैशाख २०८१ मंगलबार
राजनीति

जलजला गाउँपालिकाको केन्द्रले बिवाद चर्कियो

पर्वत- जलजला गाउँपालिकाको केन्द्र विवाद चर्किदै गएको छ। जिल्लाका अन्य गाउँ,  नगरपालिकाले कार्यालय सञ्चालनमा ल्याएपनि जलजला गाउँपालिकाको कार्यालय सञ्चालन हुन पाएको छैन।

जिल्ला प्राविधिक समितिले मिलनचोक केन्द्र रहनेगरी पठाएपनि स्थानीय तह पुर्नसंरचना आयोगले साविकको माझफाँट गाविस कार्यालयलाई केन्द्र तोकेको छ। त्यसको बिरोधमा सदरमुकाम कुश्मामा दैनिक विरोध प्रदर्शन हुन थालेको छ। पायक पर्ने ठाउँमा केन्द्र नतोक्दासम्म आन्दोलन नरोकिने भन्दै धाइरिङ, नाग्लीवाङ, बनौ, शालिजाका बासिन्दा आक्रोशित भएका छन् ।

जलजला नगरपालिकास्थित धाइरिङका नेपाली कांग्रेसका सभापति राजु आचार्यले साविक माझफाँट गाविसको कार्यालय सबै गाउँपालिकाबासीका लागि पायक नपर्ने दाबी गरे । ‘मिलेर बसेका जनतालाई केन्द्र अपायक ठाउँमा तोकेर भिडाउने काम भएको छ’ उनले भने–‘केन्द्र सुधार नगरेसम्म आन्दोलन रोक्दैनौ।’

माझफाँटको मल्लाज र मिलनचोक मध्ये केन्द्र कहाँ राख्ने बिषयमा विवाद बढ्दै गएपछि जलजला गाउँपालिकाको कार्यालय स्थापना नै हुन पाएको छैन। साविकको माझफाँट, बासखर्क, लेखफाँट र शालिजा गाविसका केही भागले मल्लाजमा केन्द्र राख्नुपर्ने माग छ।

त्यस्तै साविकका धाइरिङ, नाग्लीवाङ, बनौ र शालिजा गाविसका बाँकी भागले मिलनचोक केन्द्र राख्नुपर्ने माग गर्दै आएका छन् । चैत ३ गते नै जलजला गाउँपालिकाको कार्यालय स्थापना गर्ने भनिएपनि असन्तुष्ट स्थानीयको अबरोधले सञ्चालनमा आएको छैन । आइतबार असन्तुष्ट जलजला गाउँपालिकाका सयौले कुश्मामा नाराबाजी र प्रदर्शन गरे ।

शनिबार गृहजिल्ला पर्वत आएका स्थानीय तह पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई कालोझण्डा देखाएका थिए।  उनीहरुले जनताको भावना नबुझी लहडमा केन्द्र तोकिएको भन्दै नाराबाजी गरेका थिए । धाइरिङका दीपक आचार्यले स्थानीय जनतालाई असुबिधा पर्नेगरी केन्द्र तय गरेका कारण आफुहरु बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए।

प्रकाशित: ६ चैत्र २०७३ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App