७ वैशाख २०८१ शुक्रबार
समाज

खोटाङको दश स्वास्थ्यचौकीको सामाजिक परीक्षण

खोटाङ – खोटाङको १० स्वास्थ्यचौकीको सेवा प्रवाहका विषयमा पहिलोपल्ट सामाजिक परिक्षण गर्ने तयारी गरिएको छ । स्वास्थ्य संस्थाको सेवा, नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, श्रोत परिचालन, अनियमितता, पारदर्शीता र प्रभावकारिता बारे यतार्थ विवरण सार्वजनिक गर्दै सुधारका लागि पहिलो चरणमा दश स्वास्थ्यचौकीको सेवाको विषयमा सामाजिक परिक्षण गर्ने तयारी गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले आइतबार आयोजित सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा पहिलो चरणमा जिल्लाका १० स्वास्थ्यचौकीबाट सामाजिक परिक्षण सुरु गर्ने जानकारी दिएको हो । गत वर्षको वार्षिक सुचकका आधारमा उत्कृष्ट दश तथा सबैभन्दा कमजोर दश स्वास्थ्य संस्थामध्येबाट छानिएका स्वास्थ्यचौकीको सामाजिक परिक्षण गर्न लागिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लेखनाथ तामाङले बताए । 
जनस्वास्थ्य कार्यालयका अनुसार यसपल्ट उत्कृष्ट दश मध्येबाट ऐसेलुखर्क, दुर्छिम र बाक्सिला स्वास्थ्यचौकी, मध्यमस्तरका डाँडागाउँ र फाक्टाङ स्वास्थ्यचौकी तथा सबैभन्दा कमजोर मध्येबाट बाम्राङ, लफ्याङ, डुम्रेधारापानी, नुनथला र मंगलटार स्वास्थ्यचौकीको सामाजिक परिक्षण गर्ने तयारी गरिएको छ । ‘स्वास्थ्य संस्थाबाट सेवा प्रवाहको अवस्थाका विषयमा समिक्षात्मक निष्कर्ष निकाल्दै सुधारका लागि कार्ययोजना बनाउन सामाजिक परिक्षण गर्न लागिएको हो,’ जनस्वास्थ्य निरीक्षक तामाङले भने, ‘छनौटमा परेका स्वास्थ्य संस्थाको उपलव्धी, परिवर्तन र सुधारका पक्षलाई पारदर्शीरुपमा लेखाजोखा गरेर यतार्थ विवरण सार्वजनिक गर्ने काम हुन्छ ।’
सामाजिक परिक्षणकाक्रममा स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेका आमा सुरक्षा कार्यक्रम, निशुल्क स्वास्थ्य उपचार सेवा, निशुल्क औषधि वितरण, एकीकृत नवजात शिशु तथा बालस्वास्थ्य व्यवस्थापन, परिवार नियोजन, खोप सेवा र पोषण कार्यक्रम लगायतका सेवाको विषयमा तेश्रो पक्षबाट सामाजिक परिक्षण गरिने जनस्वास्थ्य निरिक्षक तामाङले बताए । यस बाहेक स्वास्थ्य संस्था र व्यवस्थापन, स्वास्थ्य सेवाको गुणस्तर लगायतका विषयलाई समेत परिक्षण गरिने छन् । सामाजिक परिक्षण जिल्ला समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी राजन बिसीले स्वास्थ्य संस्थालाई प्रभावकारी बनाउन सबैको भूमिका रहनुपर्ने बताए । 
 

प्रकाशित: ६ चैत्र २०७३ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App