coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

योगी बन्ने भए उत्तर प्रदेशका मुख्यमन्त्री

नयाँ दिल्ली- विधानसभा निर्वाचनको मत परिणाम आएको सात दिनसम्म उत्तर प्रदेशको मुख्य मन्त्रीका बारेमा रहेको व्यापक कौतुहलता चिर्दै गोरखपुरका सांसद योगी आदित्यनाथ मुख्य मन्त्री बन्ने भएका छन्। शनिबार भारतीय जनता पार्टीको विद्यायक दलको 'लोक भवन' लखनऊमा भएको बैठकबाट विद्यायक दलको नेता चुनिएपछि उनी उत्तर प्रदेश राज्य ३२ औं मुख्य मन्त्री बन्ने पक्का भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनले विद्यायक दलको बैठकमा उत्तर प्रदेशको विकासका लागि सबै सांसदको साथ रहेको र दुई डेपुटी मुख्य मन्त्री चाहिने बताएका थिए।

आज उनको सपथग्रहण हुनेछ। उत्तर प्रदेशको गोरखपुरबाट पाँचौं पटक सांसद् बनेका योगी आदित्यनाथ उत्तर प्रदेशमा प्रख्यात नेताका रुपमा चिनिन्छन्। निकै लामो समयसम्म राजनीतिमा सक्रिय योगी आदित्यनाथलाई उत्तर प्रदेशको आजमगढमा सन् २००८ मा ज्यान लिने उद्देश्यले आक्रमण पनि भएको थियो।

उनको असली नाम भने अजय सिंह हो। सन् १९७२ को जुन ५ मा उत्तराखण्डको एउटा सानो गाउँमा जन्मेका सिहंले गढवाल विश्वविद्यालयबाट गणित विषयमा बिएस्सी गरेका छन्। रमाइलो पक्ष त के छ भने उनी अहिले पनि गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिरका महन्त हुन्। उनी गोरखनाथ मन्दिरका पूर्व महन्त अवैधनाथका उत्तराधिकारी हुन्। उनी हिन्दु युवाको सामाजिक, साँस्कृतिक र राष्ट्रवादी समूह युवा बाहिनीका संस्थापकसमेत हुन्।

हिन्दु हार्डलाइनर भनेर चिनिने योगी कयौं पटक आफ्नो भनाइका कारण चर्चामा रहिसकेका छन्। उनी धर्म परिवर्तन विरोधी मन्तव्यका कारण पटक पटक विवादित बन्दै आइरहेका पनि छन्। यस अघि रक्षा मन्त्री राजनाथ सिंह, रेल राज्य मन्त्री मनोज सिन्हा, भारतीय जनता पार्टीका उत्तर प्रदेशका अध्यक्ष केशव प्रसाद मौर्याको नाम उत्तर प्रदेशको मुख्य मन्त्रीमा चर्चाको विषय बनेपनि आखिरमा योगी आदित्यनाथले बाजी मार्न सफल भएका छन्। मुख्य मन्त्री बन्ने चर्चामा रहेका केशव मौर्या र दिनेश शर्मा उत्तर प्रदेशको डिपुटी मुख्य मन्त्री बन्ने भएका छन्।

प्रकाशित: ६ चैत्र २०७३ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App