८ वैशाख २०८१ शनिबार
समाज

बाग्लुङमा १० प्रतिशत व्यक्ति हात्तीपाईलेको जोखिममा

बाग्लुङ बजारको जीपपार्क चोकमा राखिएको हात्तीपाईले विरुद्ध अभियानको बुथमा औषधी सेवन गर्दै । तस्विरः संगम घर्तीमगर ।


बाग्लुङ – जिल्लामा हात्तीपाईले रोग निवारणका लागि आठौं चरणको अभियान शुरु भएको छ । शनिबारबाट जिल्लाभर औषधी सेवन अभियान शुरु भएको हो । जिल्लामा हात्तीपाईले विरुद्धको आठौं चरणको अभियानसम्म आईपुग्दा पनि जोखिम भने कायमै देखिएको छ । बाग्लुङमा अहिले पनि करिब १० प्रतिशत मानिसहरुमा हात्तीपाईलेको जिवाणु रहेको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका हेल्थ असिष्टेन्ट चुडामणी कँडेलले बताए । ‘हामीले विगत आठ वर्षदेखि हात्तीपाईले विरुद्ध निरन्तर अभियान सञ्चालन गरिरहेका छौं,’ कँडेलले भने,‘तर जोखिम कम भएको देखिएन । अहिले पनि १० जना व्यक्ति बराबर एक जनामा यसको जिवाणु पाईएको छ ।’
 लगातार ६ वर्ष औषधी खाएपछि अभियान पूरा हुनुपर्नेमा थप दोस्रो वर्षको अभियान अहिले शुरु भएको उनले बताए । ‘६ वर्षसम्म औषधी खाए हात्तीपाईलेको जोखिम रहँदैन भन्ने हो,’ कँडेलले भने,‘तर हाम्रोमा थप दोस्रो वर्षको अभियान चलेको छ ।’ बाग्लुङमा एक वर्षको अभियान सञ्चालनका लागि करिब ८१ लाख खर्च हुने गरेको कँडेलले बताए । जिल्लामा लक्षित वर्ग सबैले औषधी सेवन नगरिदिँदा अभियान सफल नभएको धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरीटेन्डेन्ट डा. सागर राजभण्डारीले बताए ।
 ‘हाम्रो जिल्लामा दुई वर्ष अगाडि नै यो अभियान पूरा भईसक्नुपथ्र्यो,’ डा. राजभण्डारीले भने,‘विभीन्न कारणले लक्षित सबैले औषधी सेवन नगर्दा समस्या भएको छ ।’ हात्तीपाईलेको औषधी सेवन गरेपछि शरिरमा रोगको जीवाणु भए, हल्का घुमाउने र वान्ता पनि हुनसक्ने भएकाले यसबारे चेतनाको अभावले पनि अप्ठ्यारो परेको उनको भनाई छ । ‘औषधीले झुम्म पा¥यो भने किटाणु मर्दैछ भन्ने बुझ्नुपर्ने हो,’ उनले भने,‘ तर यसको सेवले स्वास्थ्यलाई हानी गर्छ भन्ने गलत धारणाले गर्दा पनि गाह्रो परेको छ ।’ विगतका अभियानमा औषधी घरमा दिने चलन हुँदा घर लगेर नखाने गरेकाले पनि अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्ने व्यवस्था मिलाएको उनले बताए ।
 यो वर्ष बाग्लुङका करिब २ लाख ५७ हजारलाई हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गराउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए । ‘अभियान पूरा गर्नका लागि जिल्लाभर दुई हजार १ सय १३ स्वास्थ्यकर्मी परिचालित छन्,’ तिवारीले भने,‘ पुरानो गाविस अन्तर्गत ७ सय १७ र नगरपालिकामा ३५ स्थानमा बुथ राखेर औषधी खुवाउने कार्यक्रम चलिरहेको छ ।’ हात्तीपाईले लामखुट्टेको टोकाईबाट सर्ने फाईलेरिया नामक जिवाणुबाट सर्ने भएकाले लामखुट्टे नियन्त्रणका लागि गाउँ गाउँ र विद्यालयहरुमा चेतनामूलक अभियान सञ्चालन गर्ने बताए ।
 ‘बाग्लुङ मलेरियाको जोखिमयुक्त जिल्ला त होईन तर हात्तीपाईलेमा जोखिम देखिएको छ,’ उनले भने,‘हामीले यसबाट कसरी बच्ने भन्ने चेतनामूलक अभियानका साथै रोग लागिसकेपछि कसरी स्याहार गर्ने भन्नेबारे पनि जानकारी गराउँछौं ।’ यसवर्ष नेपालका ३० जिल्लामा हात्तीपाईले रोग अभियान सञ्चालन भएको छ । बसाईसराई, अशिक्षा, गरिवी वातावरणीय असन्तुलन र स्वास्थ्य सेवाको कमीले गर्दा हात्तीपाईले रोग फैलिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । 

प्रकाशित: ६ चैत्र २०७३ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App