७ वैशाख २०८१ शुक्रबार
अन्य

काप्रेचौरबासीलाई सडकै सास्ती

काप्रेचौर (सल्यान)— सल्यान काप्रेचौरबासीका लागि सदरमुकाम शारदानगरमा पुग्न एक दिन लाग्छ । यो गाविस सदरमुकामसँग सिधा सडक सञ्जालबाट टाढै छ । काप्रेचौरका सबै वडा जिल्लाको सडक सञ्जालबाट अलग छन् । यहाँका करिब चार हजार नागरिकका लागि नजिकको सडक र बजार भनेको रत्नराजमार्ग र सुर्खेत, बाँके र बर्दियाका बजार हुन् । बर्दिया बाँसगडी–१ बबईबजारबाट सुर्खेत भेरीगंगा– ८ हात्तीखालहुँदै १५ किलोमिटर कच्ची सडक पार गरेपछि यो गाविस सडक सञ्जालसँग जोडिन्छ।

बबई नदीको तिरैतिर र डाँडैडाँडाको कच्ची सडकबाट काप्रैचौर गाविसमा पुगिन्छ । सदरमुकाम सल्यान शारदा नगरपालिका पुग्न बसबाट बबईबजार–कोहलपुर–तुल्सीपुर–कपुरकोटहुँदै पुग्नुपर्छ । यसबाहेक सुर्खेतको छिन्चु–बालुवा–सग्रहीहुँदै कच्ची फेरो बाटोमा पुगिन्छ । हिँडेर जान काप्रेचौरबाट कालीमाटीहुँदै पैदल जानुपर्छ । तर, यो बाटो यात्रुबाहक गाडी गुड्न लायक छैन । ट्याक्टर, जिप र मोटरसाइकल गुड्ने बबई, हात्तीखाल काप्रेचौर सडक यात्रुवाहक गाडी गुड्न नसक्दा स्थानीयलाई सास्ती भोग्नु परेको छ ।

सामान्य किनमेल, उपचारका लागि बबई बजारमा १५ देखि २० किलोमिटर हिँड्नुपर्छ । पैदल यात्रामा चार घण्टासम्म लाग्छ । जिप, ट्याक्टर र मोटरसाइकलले एक घण्टा लगाउँछन् । कच्ची सडक हिउँदमा काम लागे पनि वर्षातमा अवरुद्धहुँदा काम नलाग्ने हुने गरेको काप्रेचौर–५ स्वामीबाँसका ललित घर्तीले बताए । ‘यात्रुबाहक गाडी गुड्ने सडक छैन र त्यो पनि वर्षातमा काम लाग्दैन,’ उनले भने, ‘सल्यानमै एकमात्र गाविस सडक सञ्जालबाट टाढा रहेका हामी नै हौँ ।’ जिल्ला सदरमुकामसँग आफ्नो पहुँच नहुने र जिल्ला विकास समिति, सडक डिभिजनका कर्मचारी यहाँ नआउने गरेको उनले गुनासो पोखे । बाँकेको कोहलपुर–खड्गवारहुँदै सल्यान घुइँयाबारी ल्याउने भनिएको सडक समेत बाँके निकुञ्ज विस्तारपछि रोकिएको छ । सल्यान–कालीमाटीहुँदै आउने भनिएको सडकको कछुवा गतिमा काम हुँदा बन्न सकेको छैन । बबई बजारहुँदै आएको सडक ग्राभेलिङ छैन।

ठाउँ–ठाउँमा पहाडबाट खसेको पहिरोले अवरुद्ध छ । खोलामा पुल नहुँदा वर्षायाममा तर्न गाह्रो हुने गरेको उनी बताउँछन् । काप्रेचौर–५ की पम्फा रासकोटीले सडकमा गाडी गुड्न सक्ने नहुँदा बिरामीले घरमै छटपटिएर बस्नुपरेको बताइन् । ‘नजिकमा बजार छैन, गाडी गुड्ने बाटो पनि छैन,’ उनले भनिन्, ‘पाँच वर्ष अघि खोलिएको कच्ची सडकमा ह्युमपाइप, ग्राभेलिङ नराख्दा काम नलाग्ने भएको छ ।’ सानो पानी पर्दा सडकमा पानी जम्ने, हिलो हुने र पहिरो झर्ने समस्या रहेको उनी बताउँछिन् । १५ किलोमिटर सडकभित्र दुई दर्जन खोला पर्छन् । खोलाले बगाएको ढुङ्गा सडकमा भरिँदा मोटरसाइकल, ट्याक्टर र जिपसम्म गुड्न नमिल्ने गरेको पम्फाले बताइन् । सडककै सास्तीले बजार पुग्न, आउन र जिल्लामा काम गर्न दुईदेखि तीन लाग्ने गरेको उनी बताउँछिन् । गाविस भित्रको बजेटबाट समेत सडक विस्तारमा चासो नदिएको स्थानीय बताउँछन् ।

नेरा मावि काप्रचौर–८ का प्रअ कृष्णबहादुर घर्तीले सडक सञ्जाल नहुँदा जिल्लासँग समग्र गाविसको सम्पर्क टुटेको बताए। सडक सञ्जाल पूरै वडामा नपुग्नु, १२ महिना गाडी गुड्न सक्ने सडक नहुँदा यो क्षेत्र शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, कृषिमा पछाडि परेको उनले बताए।

 

प्रकाशित: २ असार २०७३ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App