५ वैशाख २०८१ बुधबार
राजनीति

संशोधन निहुँमा चुनाव रोक्ने षड्यन्त्र : ओली

सुर्खेत- एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्र सरकार लागेका आरोप लगाएका छन्। वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने पनि उनले बताए।

'वैशाख ३१ मा स्थानीय तह निर्वाचन जसरी पनि गराउनुपर्छ, संविधान संशोधनको निहुँमा निर्वाचन रोक्न पाइँदैन्', मेची–महाकाली अभियानको सुर्खेतमा समापन गर्दै अध्यक्ष ओलीले भने, 'निर्वाचन रोक्ने षड्यन्त्र भए हामी कडा कदम चाल्न बाध्य हुनेछौं।' 'एमालेको जनलहरदेखि सत्ता साझेदार दल डराएर निर्वाचनदेखि भाग्न खोज्दैछन्' ओलीले थपे, 'हामी भाग्न दिँदैनौं, चुनाव गराएरै छाड्छौं।'

अध्यक्ष ओलीले चुनावबाट बहुमत प्राप्त गरेर अर्को आर्थिक वर्षको बजेट एमाले नेतृत्व सरकारले ल्याउने दाबी पनि गरे। 'यो पटकको बजेट एमालेलाई पछ्याउँदै आउँछ, अर्को बजेट एमाले नेतृत्वको सरकारले ल्याउँछ' उनले भने, 'यसलाई कुनै पनि शक्तिले रोक्न सक्दैन्।' ओलीले ६ नम्बर प्रदेशको समृद्धिका लागि उत्तरी चीनसँगको नाका सञ्चालन महŒवपूर्ण हुने बताए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले चुनावमा जान खुट्टा कमाइरहेको आरोप लगाए। सरकारले निर्वाचनसँग खेलवाड गरिरहेको आरोप लगाउँदै नेपालले भने, 'निर्वाचन गराउने आँट छैन् भने तत्काल कुर्सी छोड्नु उपयुक्त हुन्छ।' संविधानले सबैलाई अधिकार दिएको भन्दै त्यसको कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको उनले बताए। '२०७४ माघ ७ गतेभित्र तीनै तहका निर्वाचन गरिसक्नुपर्छ' उनले भने, 'संविधान कार्यान्वयनका लागि पनि तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनु आवश्यक छ।' उनले मधेसका जनता पनि चुनावमा भोट हाल्न आतुर रहेको बताए।

एमाले महासचिव ईश्वर पोखरेलले हिन्दी भाषालाई सरकारी मान्यता दिन, अंगीकृत नागरिकलाई राज्यका प्रमुख पदमा पुर्‍याउन र मधेसलाई पहाडबाट अलग्याउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाए। 'संविधान संशोधनका नाममा अंगीकृतलाई राज्यका प्रमुख पदमा पुर्‍याउने खेल भइरहेको छ', उनले भने, 'रैथाने नेपालीलाई विस्थापित गराउन ल्याइएको संशोधन प्रस्तावलाई कुनै पनि हालतमा पारित हुन दिन्नौं।' उनले तराई–मधेसलाई पहाडबाट अलग गराउने खेल बन्द गर्न आग्रह गर्दै तराई, पहाड र हिमालका जनताबीच द्वन्द्व बढाउने काम नगर्न सरकारलाई आग्रह गरे।

पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले ६ नम्बर प्रदेशको समृद्धिका लागि देशमा एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए। ज्वालाले दक्षिणसँग ६ नम्बर प्रदेश नजोडिएको भन्दै उत्तरतर्फका सीमा नाकासम्म सडक सञ्जाल पुर्‍याउनुपर्ने बताए। 

समृद्धिका १४ आधार

एमालेले ६ नम्बर प्रदेशको समृद्धिका १४ आधार प्रस्तुत गरेको छ। मेची–महाकाली अभियान अन्तर्गत शनिबार वीरेन्द्रनगरमा भएको समापन सभामा सार्वजनिक गरिएको प्रारम्भिक घोषणापत्रमा आर्थिक विकास, भौतिक पूर्वाधार, सहरी तथा बस्ती विकास, उद्योग, ऊर्जा, कृषि, जडिबुटी, शिक्षा, स्वास्थ्यलगायतका आधार प्रस्तुत गरिएको छ। समृद्धिका लागि १२ वटा नारा पनि तय गरिएको छ।

नेपालको कुल भूभागको २१.६६ प्रतिशत ओगटेको ६ नम्बर प्रदेशका १० जिल्लामध्ये दुई मात्रै खाद्यान्नमा आत्मनिर्भर छन्। अझै दुई जिल्ला सडक सञ्जालसँग जोडिएका छैनन्।

'भौगोलिक विकटता र अन्य प्रदेशको तुलनामा अत्यन्तै पिछडिएको क्षेत्र भए पनि समृद्धिका आधार पनि धेरै छन्' एमाले ६ नम्बर प्रदेश संयोजक युवराज ज्ञवालीले भने, 'जल, जंगल, जडिबुटी, पर्यटन, कृषि, उद्योग यहाँका समृद्धिका आधार हुन्।' उनले देशको सम्पूर्ण सम्भाव्य जलविद्युत् क्षमतामा आधाभन्दा बढी यही  प्रदेशमा रहेको बताए। 'साथै कर्णालीमा पाइने बहुमूल्य जडिबुटीको सदुपयोग गर्न सके यो प्रदेश समृद्ध हुन समय लाग्दैन्', उनले भने, 'अहिले सार्वजनिक गरिएको प्रारम्भिक खाका हो, यसमा थपघट गर्न सकिन्छ।'

एमालेले कर्णाली करिडोर, भेरी करिडोर, मध्यपहाडी राजमार्ग, माथिल्लो कर्णाली आयोजना, भेरी–बबई डाइभर्सन आयोजना, नलसिंहगाड जलविद्युत् आयोजना, शारदा जलविद्युत् आयोजना, तिला जलविद्युत् आयोजना लगायत साना तथा मझौता विद्युत् आयोजना निर्माण, खानी, खनिज पदार्थको उत्खनन् गर्न सकिए ६ नम्बर  प्रदेश समृद्धिको बाटोमा अघि बढ्ने उल्लेख गरेको छ। यस्तै उत्तरी छिमेकी चीनसँग जोडिएका हुम्लाको यारी, लाप्चा, चवाखोला र टाँके, डोल्पाको धो, मुगुको नाग्चे नाका सञ्चालनमा ल्याइनुपर्ने घोषणापत्रमा उल्लेख छ।

प्रकाशित: ६ चैत्र २०७३ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App