७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधनको निहुँमा निर्वाचन रोक्ने षड्यन्त्रः अध्यक्ष ओली

सुर्खेत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको निहुँ पारेर सरकारले निर्वाचन रोक्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। उनले बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने चेतावनी दिए।

‘सरकारले बैशाख ३१ का लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन जसरी पनि गराउनुपर्छ, संविधान संशोधनको निहुँ बनाएर निर्वाचन रोक्ने खेलमा लाग्नु हुँदैन्’ एमाले सुर्खेतमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै  अध्यक्ष ओलीले भने, ‘निर्वाचन रोक्ने षड्यन्त्र भए हामी कडा कदम चाल्न बाध्य हुनेछौं ।’ उनले एमालेको बढ्दो जनलहरले सत्ता साझेदार दलहरु आत्तिएको आरोप लगाए । ‘एमालेको जनलहरदेखि सत्ता साझेदार दलहरु डराएर निर्वाचनदेखि भाग्न खोज्दैछन्’ ओलीले भने, ‘हामी भाग्न दिँदैनौं, चुनाव गराएरै छोड्छौं ।’

अध्यक्ष ओलीले चुनावबाट बहुमत प्राप्त गरेर अर्को आर्थिक वर्षको बजेट एमाले नेतृत्व सरकारले ल्याउने दावी गरे । ओलीले तीनै तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गरे । ‘यो पटकको बजेट एमालेलाई पछ्याउँदै आउँछ, अर्को बजेट एमाले नेतृत्वको सरकारले ल्याउँछ’ उनले भने, ‘यसलाई कुनै पनि शक्तिले रोक्न सक्दैन् ।’ ओलीले नेपाली भूमिभित्र प्रदेश गरेर भारतीय सेनाले नेपाली नागरिक मार्दापनि सरकार चुप लागेर बस्नु नेपालीका लागि लज्जाको विषय भएको बताए।

ओलीले तीनै तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गरे । ‘यो पटकको बजेट एमालेलाई पछ्याउँदै आउँछ, अर्को बजेट एमाले नेतृत्वको सरकारले ल्याउँछ’ उनले भने, ‘यसलाई कुनै पनि शक्तिले रोक्न सक्दैन् ।’

‘भारतलाई माफी मगाउनुका साथै क्षतिपूर्तिको लागि पहल गर्नुको साँटो सरकार चुप लागेर बसेको छ’ उनले भने, ‘यो स्वाभिमानी नेपालीहरुका लागि लज्जाको विषय हो ।’ चाहिने र सही कुरा गर्दा छिमेकी रिसाउँछ भन्ने डर सरकारसँग रहेको उनको आरोप थियो । ओलीले छैटौं प्रदेशको समृद्धिका लागि उत्तरी चीनसँगका नाका महत्वपूर्ण हुने बताए।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बर्तमान सरकारले चुनावमा जान खुट्टा कमाइरहेको आरोप लगाए। उनले चुनाव गराउन नसक्ने भए राजिनामा दिन सरकारलाई आग्रह गरे। सरकारले निर्वाचनसँग खेलवाड गरिरहेको आरोप लगाउँदै नेता नेपालले भने, ‘निर्वाचन गराउने आँट छैन् भने तत्काल कुर्सी छोड्नु उपयुक्त हुन्छ।’ नेता नेपालले संविधानले सबैलाई अधिकार दिएको भन्दै त्यसको कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताए । ‘२०७४ माघ ७ गतेभित्र तीनै तहका निर्वाचन गरिसक्नुपर्छ’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि पनि तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुन आवश्यक छ ।’ उनले मधेसका जनता पनि चुनावमा भोट हाल्न आतुर रहेको बताए।

एमाले महासचिव इश्वर पोखरेलले हिन्दी भाषालाई सरकारी मान्यता दिन, अंगिकृतलाई राज्यका प्रमुख पदमा पुर्‍याउन र मधेसलाई पहाडबाट अलग्याउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाए।

समृद्धिका १४ आधार

नेकपा एमालेले छैटौं प्रदेशको समृद्धिका १४ आधार प्रस्तुत गरेको छ । एमालेको मेची–महाकाली अभियान अन्र्तगत शनिबार वीरेन्द्रनगरमा भएको समापन सभामा सार्वजनिक गरिएको प्रारम्भीक घोषणापत्रमा आर्थिक विकास, भौतिक पूर्वाधार, शहरी तथा बस्ती विकास, उद्योग, उर्जा, कृषि, जडिबुटी, शिक्षा, स्वास्थ्यलगायतका आधार प्रस्तुत गरिएको छ भने समृद्धिका लागि १२ वटा नारा तय गरिएको छ।

नेपालको कुल भूभागको २१.६६ प्रतिशत भूभाग ओगटेको छैटौं प्रदेशका १० जिल्ला मध्ये दुई जिल्ला मात्रै खाद्यान्नमा आत्मनिर्भर छन् । अझै दुई जिल्ला सडक सञ्जालसँग जोडिएका छैनन् । ‘भौगोलिक विकटता र अन्य प्रदेशको तुलनामा अत्यन्तै पिछडिएको क्षेत्र भएपनि समृद्धिका आधारहरु पनि धेरै छन्’ एमाले छैटौं प्रदेशका संयोजक युवराज ज्ञवालीले भने, ‘जल, जंगल, जडिबुटी, पर्यटन, कृषि, उद्योग यहाँका समृद्धिका आधारहरु हुन् ।’ उनले देशको सम्पूर्ण संभाव्य जलविद्युत क्षमतामा आधाभन्दा बढी छैटौं प्रदेशमा रहेको बताए । ‘यसका साथै कर्णालीमा पाइने बहुमूल्य जडिबुटीको सदुपयोग गर्न सकेको खण्डमा प्रदेश समृद्ध हुन समय लाग्दैन्’ उनले भने, ‘अहिले सार्वजनिक गरिएको प्रारम्भीक खाका हो, यसमा थपघट गर्न सकिन्छ ।’

एमालेले कर्णाली करिडोर, भेरी करिडोर, मध्यपहाडी राजमार्ग, माथिल्लो कर्णाली आयोजना, भेरी–बबई डाइभर्सन आयोजना, नलसिंहगाड जलविद्युत आयोजना, शारदा जलविद्युत आयोजना, तिला जलविद्युत आयोजनालगायतका साना तथा मझौता विद्युत आयोजना निर्माण, खानी, खनिज पदार्थहरुको उत्खनन् गर्न सकिएमा छैटौं प्रदेश समृद्धिको बाटोमा अघि बढ्ने उल्लेख गरेको छ । यस्तै उत्तरी छिमेकी चीनसँग जोडिएका हुम्लाको यारी, लाप्चा, चवाखोला र टाँके, डोल्पाको धो, मुगुको नाग्चे नाका सञ्चालनमा ल्याइनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

 

प्रकाशित: ५ चैत्र २०७३ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App