८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पपछिको पुनर्निर्माण :ठडिँदै स्वास्थ्य संस्था


सिन्धुपाल्चोक – बिनासकारी भूकम्पबाट क्षतिग्रस्त जिल्लामा स्वास्थ्य संस्थाको पुनर्निर्माणले तीव्रता पाएको छ । क्षतिग्रस्त आधाभन्दा बढी स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेका छन् । अस्थायी टहरो, टेन्ट र त्रिपाल छोडेर पुनर्निर्मित भवनबाट स्वास्थ्य संस्थाले सेवा प्रवाह थालेका छन् । दर्जनभन्दा बढी स्वास्थ्य संस्था बनिरहेका छन् । 


प्रिफ्याव र सेमिपर्मानेन्ट संरचनाका ४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न, जिल्ला स्वास्थ्य कार्यालयसहित १६ स्वास्थ्य चौकीका भवन निर्माणाधीन

    ‘ठूलो संख्यामा स्वास्थ्य संस्था भवन बनेसँगै सेवा प्रवाहमा सुविधा भएको,’ प्रमुख जनस्वास्थ्य अधिकृत डा. सुरेन्द्रकुमार चौरसियाले नागरिकसँग भने । उनका अनुसार निर्माण सम्पन्न स्वास्थ्य संस्था भवन पक्की नभएर ‘सेमिपर्मानेन्ट’ (केही वर्ष काम दिने) संरचना बनेका हुन् । स्वास्थ्य मन्त्रालयसँगकै सम्झौता र स्वीकृतिमा दातृ निकाय र संघसंस्थाले स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई तीव्रता दिइरहेको डा. चौरसियाले बताए । 
    गएको वर्ष वैशाख १२ को भूकम्पले ८९ स्वास्थ्य संस्थामध्ये एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र र ५७ स्वास्थ्य चौकी भवनसहित ६० संरचना ध्वस्त बनाएको थियो । जिल्लाको शैक्षिक संस्थापछि सबैभन्दा बढी क्षति स्वास्थ्य क्षेत्रले बेहोरेको थियो । ‘प्रिफ्याव’ र सेमिपर्मानेन्ट संरचनाबाट प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेसहित ४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयसहित १६ स्वास्थ्य संस्था भवन निर्माणाधीन छन् । 
    कार्यालयका अनुसार एमडिएम नामक फ्रान्सेली संस्थाले १८ स्वास्थ्य चौकी पुनर्निर्माण गरेको छ । अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा १२ स्वास्थ्य संस्था बनेका छन् । रेडक्रस सोसाइटीमार्फत चार, वल्र्ड भिजनको सहयोगमा चार, सेभ द चिल्ड्रेनबाट तीन र वनहर्ड वल्र्डवाइडको लगानीमा एक स्वास्थ्य संस्था भवन निर्माण भएको छ । स्वान नामक संस्थाले बनाएको चार स्वास्थ्य भवनमध्ये दुई सेमिपर्मानेन्ट र दुई अस्थायी संरचना छन् । 
    रेडक्रस मार्फत थप १० र मन्त्रालयको बजेटमा भीमटार, डाँडापाखर, लाँगार्चेसहित चार स्वास्थ्य चौकी भवन निर्माणाधीन छन् । मन्त्रालयमार्फत पुनर्निर्माण भइरहेका भवनको संरचना भने पक्की हो । युएसएआइडीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेको पक्की भवन पुनर्निर्माण भइरहको प्रमुख डा. चौरसियाले जानकारी दिए । उनका अनुसार मन्त्रालयकै बजेटमा जिल्ला स्वास्थ्य कार्यालय भवनको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । 
    ठूलोधादिङ, मार्मिङ, शिखरपुर, महांकाल लगायत केही स्वास्थ्य चौकी अझै जस्ताको अस्थायी टहरोमा सञ्चालित रहेको कार्यालयले जनाएको छ । ती संस्थाको पुनर्निर्माण सुरु हुन सकेको छैन । क्षतिग्रस्त जिल्ला अस्पताल अझै टेन्टमा सञ्चालनमा छ । जिल्ला अस्पताल बनाउन चासो दिएको चीन सरकारले प्रारम्भिक अध्ययन गरिरहेको डा. चौरसियाले बताए । 
    भूकम्पबाट जोगिएको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची स्त्तरोन्नति हुँदै छ । यो केन्द्रलाई १५ शैयामा विस्तार गर्न मन्त्रालयले बजेट बिनियोजन गरे पनि जग्गा अभावमा स्त्तरोन्नतिको काम थाल्न नसकेको डा. चौरसिया बताउँछन् । उनका अनुसार क्षतिग्रस्त जलवीर प्राथमिक स्वास्थ्य केन्द्र पुनर्निर्माण गर्न मन्त्रालयले नै अध्ययन गरिरहेको छ । सेमिपर्मानेन्ट संरचनाबाट केन्द्रले सेवा दिइरहेको छ । 

प्रकाशित: ५ चैत्र २०७३ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App