coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिमांकनलाई थाँती राखेर गरिने संशोधन स्वीकार्य छैन : उपेन्द्र यादव

रौतहट – वर्तमान सरकारले संविधान संशोधनप्रति कुनै चासो नराखेको र संशोधनको विषयलाई लिएर मधेसी, आदिवासी, जनजाति, दलित, सिमान्तकृत तथा पिछडिएको वर्ग लगायतलाई अलमलाउने काम मात्र गरेको आरोप संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् । रौतहटको गौरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फोरम नेता यादवले संघीयताको विषयमा सिमांकनको मुदालाई थाँती राखेर गरिने संशोधन अस्वीकार्य भएको बताएका छन् । 
सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासित गरेको सहमति कार्यान्वयन नगरेकाले समर्थन फिर्ता लिएर मोर्चा आन्दोलन गइसकेको बताउँदै एसइई परीक्षापछि मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिले मधेसमात्र आन्दोलनमा रहने गरेको तर अबको आन्दोलन राष्ट्रिय चरित्रको हुने ठोकुवासमेत यादवले गरेका छन् ।
संशोधन भएर र मधेस आन्दोलनको मर्मलाई सम्बोधन भएमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै यादवले यथास्थितिमा चुनाव सम्भवै नभएको र चुनाव हुनै नसक्ने दाबीसमेत गरेका छन् । मान्छे मारेर चुनाव गर्ने हो भने चुनावको औचित्य पनि नहुने बताउँदै नेता यादवले संविधान संशोधन गरी जनतालाई अधिकार सम्पन्न बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको स्पष्ट पारेका छन् ।
वर्तमान सरकारप्रति व्यंग्य गर्दै नेता यादवले चार दिनको म्यादी सरकार भएको आरोप लगाएका छन् । कांग्रेस, एमाले र माओवादीले देशलाई भागबन्डाको राजनीति गर्ने थलोको रुपमा बनाएको आरोप लगाउँदै नेता यादवले न्यायाधीश, पुलिस, संवैधाानिक अंगको नियुक्ति समेत भागबन्डामा हुने परिपाटीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले चुनाव पनि भागबन्डामा हुने भएको आरोप लगाउँदै माओवादीले स्थानीय तहको, कांग्रेसले संसदको र एमालेले प्रदेशको चुनाव गर्नेजस्तो विकृत राजनीति विश्वको कुनै पनि कुनामा नपाइने बताएका छन् ।
यसैगरी रौतहटको गरुडा नगरपालिका अन्तर्गत महम्मदपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता यादवले पहिचान, सम्मान र स्वाभिमानका लागि मधेसी तथा आदिबासी, जनजातिहरु लडिरहेकाले जनसंख्याको अनुपातमा शासन, प्रशासन तथा नीति–निर्माण तहमा सबैको सहभागिता सुनिश्चित नभएसम्म लडाइँ जारी रहने ठोकुवा गरेका छन् ।
जनता सडकमा ओर्लेर अधिकार माग्दा कांग्रेस, एमाले र माओवादीले गोली दिने गरेको आरोप लगाउँदै नेता यादवले शान्तिपूर्ण आन्दोलनमा जनतामाथि गोली बर्साउनु भनेको लोकतन्त्रमाथि गोली बर्साउनु पनि भएको बताएका छन् ।
नेता यादवले महम्मदपुर गाविसका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका प्रतिष्ठित नेता इन्दु राय यादव, जयनगर गाविसका पूर्व अध्यक्ष एवं नेकपा एमालेका चर्चित कार्यकता वीरेन्द्र यादव तथा दीपहीका कांग्रेसका चर्चित नेता वीरेन्द्र कुमार यादवसहित सयौँजनालाई फोरम नेपालमा टीका र माला लगाई स्वागत गरेका छन् ।
 

प्रकाशित: ५ चैत्र २०७३ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App