८ वैशाख २०८१ शनिबार
समाज

क्याम्पसको सहयोगार्थ धार्मिक महोत्सव सुरु

कशल यात्रापछि धार्मिक महोत्सवस्थल प्रवेश गरिरहेका सहभागी महिला । तस्बिर : दमन राई

खोटाङ – खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ धार्मिक महोत्सव सुरु गरिएको छ । दिक्तेल बहुमुखी क्याम्पसलाई मुलुककै नमूना क्याम्पस बनाउनका लागि आवश्यक रकम जुटाउन शनिबारदेखि धार्मिक महोत्सव सुरु गरिएको हो । सदरमुकाम दिक्तेलबजारमा कलश यात्रा निकालेपछि स्थानीय माटिकोरे खेलमैदानमा महोत्सव सुरु गरिएको हो । बाली विज्ञान विषयमा कक्षा ११ र १२ को कक्षा सञ्चालनका लागि आवश्यक रकम जुटाउन दिक्तेलकै पञ्च माविले फागुन १९ गतेदेखि २६ गतेसम्म  श्रीमद भागवत धान्याञ्चल सप्ताह महायज्ञ सञ्चालन गरेको केही हप्ता नबित्दै दिक्तेल क्याम्पसले पनि धार्मिक महोत्सब सुरु गरेको हो । २०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायतर्फका विषय थप गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नकालागि श्रोत जुटाउन सर्वधर्म धार्मिक महोत्सब आयोजना गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवी रिजालले बताए । धार्मिक महोत्सब दिक्तेलका स्थानीय एक सय वर्षीय ज्येष्ठ नागरिक बैजनाथ आचार्यले उद्घाटन गरेका हुन् । धार्मिक महोत्सवका कारण माटिकोरे खेलमैदान हजार दर्शक अट्ने मुण्डाल, व्यास पीठ, लिलामञ्च, अतिथि कक्षा, हवनकुण्ड, भण्डारस्थल, धान्यञ्चल, तुलादान, पूजा मण्डप लगायतले सजिएका छन् । 
क्याम्पसको शैक्षिक तथा भौतिक बिकासकालागि ‘दिक्तेल बहुमुखी क्याम्पसको सुनौलो अभियान, कार्यक्रम बिस्तार एबं गुणस्तर सुधार हाम्रो अभियान’ भन्ने नारासहित सुरु गरिएको सर्वधर्म महोत्सब चैत्र १२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यपक डा. शुकराज राईले बताए । क्याम्पसलाई आर्थिकरुपमा बाजबुत बनाउनका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजालको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय महोत्सव मूल आयोजक समितिले महोत्सव आयोजना गरेको हो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० सालदेखि दिक्तेल क्याम्पसमा पहिलोपल्ट मानबिकी संकायतर्फ नेपाली बिषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएको थियो । यस शैक्षिकसत्रबाट समाजशास्त्रतर्फको कक्षा सुरु गर्ने तयारी भएको क्याम्पसमा धार्मिक महोत्सवबाट जम्मा हुने रकमबाट अन्य संकायतर्फका विषय थप गरिने प्राध्यपक डा. राईले बताए । ‘दिक्तेल बहुमुखी क्याम्पससँगैका क्याम्पसले शिक्षाका क्षेत्रमा फड्को मारिसकेको छ, हाम्रो क्याम्पस अरुभन्दा पछि पर्यो,’ प्राध्यपक डा. राईले भने, ‘शैक्षिक कार्यक्रम थप गर्न र शैक्षिक गुणस्तर बृद्धिकालागि चाहिने रकम संकलन गर्न धार्मिक महोत्सव सुरु गरेका हौँ ।’ 
क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिकालागि आर्थिक अभाव भएकाले धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष जीवन श्रेष्ठले बताए । ‘मुलुककै नमूना क्याम्पस बनाउनकालागि उत्तिकै श्रोत आवश्यक पर्ने रहेछ,’ श्रेष्ठले भने, ‘त्यो श्रोत जुटाउने उपयुक्त माध्यम धार्मिक महोत्सव ठहराइएकाले महोत्सव गरिएको हो ।’ 
धार्मिक महोत्सव सञ्चालनकालागि १०८ राष्ट्र शान्ति धार्मिक महोत्सबका संकल्पकर्ता गोबिन्दशरण महाराजजी र मीरादेवीले प्रवचन दिँदै छन् । महायज्ञबाट पञ्च माबिले ८६ लाख भन्दा बढी रकम संकलन गरेको थियो । 

प्रकाशित: ५ चैत्र २०७३ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App