७ वैशाख २०८१ शुक्रबार
समाज

मध्यरातमा नदी उत्खनन् गर्ने ४ जनाविरुद्ध मुद्धा

रातमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरी नियन्त्रणमा परेका चोरी निकासी र उत्खननमा संलग्न युवाहरु । तस्विर : रामहरि गजुरेल

नुवाकोट – मध्यरातमा अवैध ढंगले नदी उत्खनन गर्ने एक समूहलाई नुवाकोट प्रहरीले पक्राऊ गरी मुद्धा चलाएको छ । मध्यरातमा त्रिशुली नदीमा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिई शुक्रबार नै सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको हो । 
राती ११ बजेको समयमा प्रहरी निरीक्षक कैलाश भट्टराईको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले खड्गभञ्ज्याङ–३ बुधसिङघाटस्थित त्रिशुली नदीबाट धमाधम वालुवा उत्खननमा संलग्न ४ जना व्यक्तिहरूलाई बिहीबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा नुवाकोट सूर्यगढी गाउँपालिका–३ का २६ वर्षीय प्रभाकर अधिकारी, किस्पाङ–५ का २६ वर्षीय तोरण लामा, विदुर नगरपालिका–२ का राजेश रानामगर र सर्लाही राजघाट–६ का १७ वर्षीय अभिसेक विक रहेका छन् । उनीहरूविरुद्ध अनाधिकृत रुपमा अवैध चोरी निकासी तथा उत्खनन् गरेको आरोपमा सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाहीको लागि आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा ७ दिनको म्याद थप गरी प्रहरीले मुद्धा चलाएको छ । 
त्यसैगरी अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ । मकवानपुर पदमपोखरी गाउँपालिकाका चालक २३ वर्षीय अमृत दुलासा र विदुर नगरपालिकाका–४ का २६ वर्षीय राकेश थापा फरार रहेको र उनीहरुको खोजी भइरहेको नुवाकोट प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए ।  नदीजन्य वस्तु उत्खनन र चोरीनिकासीमा प्रयोग गरिने साइनी कम्पनीको एसवाई २२० सी नाइन नंबरको सिरियल मोडेलको एकथान स्काभेटरसहित नदीबाट तीन थान मोटरसाइकल र १५० लिटर डिजेल लगायतका विभिन्न सामग्रीहरूसमेत बरामद गरी प्रहरीले जिल्ला विकास समितिलाई बुभाएको छ । 
खुलेआम नदीको दोहन
सरकारले मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको भए पनि जिल्लाका त्रिशुली, तादी, लिखु, कोल्पुजस्ता नदीहरुमा दिनरात गिट्टी–बालुवा निर्वाध रुपमा उत्खनन हुने गरेको छ । नदीजन्य वस्तुहरूको उत्खनन र निकासीको अनुमति दिने मुख्य निकाय जिल्ला विकास समितिले आवश्यक अनुगमन र नियन्त्रणमा चासो नदिँदा अनाधिकृत तवरले प्राकृतिक स्रोत र नदीहरूको दोहन भइरहेको स्थानियवासी र सरोकारवालाहरुले आरोप लगाएका छन् । एक वर्षदेखि नुवाकोटको प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएका एसपी देवबहादुर बोहराको सक्रियतामा उत्खनन रोक्ने प्रयास भएपनि सम्बन्धित अन्य निकायको असहयोग र मिलेमतोका कारण नदीको दोहन खुलेआम भइरहेको त्रिशुली नदी बचाउ संघर्ष समितिका संयोजक उत्तम कँडेलले बताए । ‘प्रहरीले चासो र सक्रियता देखाएको छ, तर केही सफल भएपनि पूर्ण रुपमा नियन्त्रण भइरहेको छैन, संयोजक कँडेलले भने, ‘तस्करी गर्नेहरूलाई आर्थिक प्रलोभनमा परेर अन्यत्र जिम्मेवार निकायबाट मलजल र मनोबल प्राप्त भएको देखिन्छ ।’ 
यसरी मापदण्ड विपरित नदीजस्ता प्राकृतिक स्रोतको तस्करी रोक्न आफूले एक वर्षदेखि अभियान नै सञ्चालन गरिरहेको प्रहरी प्रमुख बोहरा पनि बताउँछन् । उनले अहिलेसम्म नदीमा बालुबा उत्खनन तथा चोरी निकासीका सानाठूला गरी ६२ वटा कारबाही प्रहरीबाट गरिसकेको बताए । ‘३० वटा स्काभेटर र ओसारपसारमा प्रयोग भएका थुप्रै ट्रिपरहरू नियन्त्रणमा लिएर कारबाही गरिसकेका छौँ, उनले गैरकानुनी उत्खननविरुद्ध भइरहेको कारबाही सुनाउँदै भने, ‘जिविस र प्रशासनमा त कतिपय मुद्धाहरू प्रहरीले नै चलाएर कारबाही गरिसकेको छ । तर, यस्ता गतिविधिमा संलग्नहरू अझैँ खुलेआम उत्खनन र चोरी निकासीमा सक्रिय भइरहेको देख्दा यो मनोबल र संरक्षण कहाँबाट प्राप्त भइरहेको छ’, उनले प्रश्न गरे ।
सरकारले २०७१ असारबाट लागू गरेको क्रसर तथा खानी उद्योग सञ्चालन निदेशिका अनुसार, नदीबाट ५०० मिटर नजिक क्रसर उद्योग खोल्न पाइन्न । तर, त्रिशूली र तादी नदीमा यो नियम लागु भएको छैन् । अहिले जिल्लामा यी दुई नदीहरूमा मात्रै एक दर्जनभन्दा बढी क्रसर उद्योग चलिरहेका छन् । यी उद्योगहरूले एकै रातमा बालुवाको पहाड बनाउने गरेको र अनुगमन गर्ने निकाय जिविसले चासो नदिएको स्थानियवासीहरू आरोप लगाउँछन् । 
यता जिल्ला विकास समिति नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले पनि गैरकानुनी रुपमा नदीमाथि दोहन गर्नेहरूविरुद्ध कारबाही गरिरहेको र गरिछाड्ने प्रतिवद्धता जनाउँछन् । ‘हामीले हाम्रो निकायको स्रोत साधन, र शक्तिले भ्याएसम्म रोकेका छौँ र कारबाही प्रक्रिया अघि बढाएका पनि छौँ, उनले भने, ‘यसमा जिविस, पहरी, प्रशासन, व्यवसायी र समुदायको पनि उत्तिकै समान दायित्व हुन्छ । कानुन नै मान्दैनौँ भन्नेहरुलाई कारबाहीको दायरामा ल्याउँछौँ र तह लगाउँछौँ ।’

प्रकाशित: ५ चैत्र २०७३ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App