coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकाका प्रमुख नदीबाट तीस मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं  – उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइको २०१ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ८५० अभियानकर्मीको सहभागिता रहेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टङ्कराज आचार्यले संयुक्त रुपमा गरेका थिए । 

सफाइ महाअभियानलाई आजै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजार थान मास्क, पाँच हजार थान पञ्जा, ५० जोर बूट र २० वटा डोको हस्तान्तरण गरे । बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौँमा सरेपछि वाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । 
यसैको सिलसिलामा बैंकको कार्यालय नजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ । टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई सङ्गठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बैंकका सञ्चालक समेत रहेका वाग्मती अभियन्ता नारायण श्रेष्ठले बताए । 

आजको सफाइ अभियानमा पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले सहभागीलाई सपथ खुवाएका थिए। 

वाग्मती सफाइ महाअभियानको २०२ औँ हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ । 

रुद्रमती सफाइको १६० औँ हप्तामा बिजुली बजार पुलमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

पूर्वसचिव किशोर थापा र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइको नेतृत्व गरेका थिए । सफाइमा ३५० व्यक्तिको सक्रिय सहभागिता थियो । 

विष्णुमती सफाइको १३२ औँ हप्तामा मनमैँजु भत्केको पुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिए । टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा आजको सफाइ अभियान सञ्चालन भएको थियो । सफाइमा ८०० अभियन्ताको सहभागिता थियो । 

तारकेश्वर नगरपालिकाको दियालो टोलमा आज विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिए । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १६२ औँ हप्तामा आज रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइ एवम् रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यो महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ । रासस 

प्रकाशित: ५ चैत्र २०७३ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App