coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँच करोडको खानेपानी आयोजना सुरु

म्याग्दी – म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । 

रु पाँच करोड ६० लाख लागत अनुमान गरिएको आयोजनाबाट साविकको देवीस्थान गाविसको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका चार सय ७३ घरधुरी लाभान्वित हुने खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयले जनाएको छ । 

सरकारको रु चार करोड ४८ लाख र उपभोक्ताको रु एक करोड १२ लाख लगानीमा आयोजना निर्माण हुने सव डिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले बताए । 

उनका अनुसार आयोजनाको हालसम्म पूर्वाधार निर्माणको ५० प्रतिशत काम पूरा भएको छ । मुहानको संरचना, ७।२ किलोमिटर ट्रान्समिसन र २१.२७ किलोमिटर वितरण पाइपलाइन, बीस हजार र पचास हजार लिटर क्षमत्ताको दुई वटा रिजर्भ ट्याङ्की निर्माण कार्य सकिएको इन्जिनियर केसीले बताए । 

मरुखोला, लेखानी खोला र दोभानको मुहानबाट चार इन्चको पाइप मार्फत प्रतिसेकेन्ड चार लिटरका दरले आपूर्ति हुने पानी चार वटा ट्याङ्कीबाट वितरण गरिने छ । ८५ वटा ‘भल्ब च्याम्बर’ निर्माण गरी सबै घरमा मिटरसहितको निजी धाराबाट खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष अमलाल फगामीले बताए । 

सार्वजनिक धाराको तुलनामा सजिलो, सुविधायुक्त, समयको बचत, पानीको मितव्ययी प्रयोग, आयोजनाको दिगो सञ्चालन, व्यवस्थापनमा सहजलगायतका फाइदाका कारण निजी धारा जडान गर्न लागेको अध्यक्ष फगामीले बताए । 

यस आर्थिक वर्षमा रु ६० लाख बजेट विनियोजन भएको यो आयोजनामा गत वर्षसहित हालसम्म रु ६९ लाख ९० हजार खर्च भइसकेको छ । उपभोक्ता समितिबाट निर्माणकार्य गर्ने भएकाले कम लागत र लक्ष्य अघिनै काम सकिने कार्यालयले जनाएको छ । पहिलो चरणमा एक सय ४३ घरमा यसैवर्ष खानेपानी सुविधा पुर्याउने लक्ष्य छ । 

भौतिक पूर्वाधारको काम लक्ष्य अनुसार तीव्रताका साथ भइरहेकाले थप बजेट माग गरिएको इन्जिनियर केसीले बताए । आगामी वर्ष योजना सम्पन्न गर्ने लक्ष्य छ । 

विसं २०४९ मा निर्माण भएको खानेपानी आयोजनाको संरचना र क्षमत्ताले माग धान्न नसक्नु, व्यवस्थापन र मर्मत सम्भार नहुँदा देवीस्थानमा खानेपानीको समस्या उत्पन्न भएको थियो । 

प्रकाशित: ५ चैत्र २०७३ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App