coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याग्दीका चौध ठाउँमा तातोपानीका मुहान

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् । 

प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका १३ सिङ्गा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । 

नेपालमा नै प्रसिद्धि कमाउन सफल तातोपानी कुन्डमा वार्षिक २० हजारको हाराहारीमा बिरामी डुबेर उपचार गर्न आउने गरेका छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताए । 

यहाँ बाथ, ग्याष्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्तो कठिन रोग लागेका व्यक्ति डुबेर उपचार गर्नका लागि आउने गरेका छन् । 

त्यसैगरी मुदीको बगर, दरवाङको भाले वास्ने ताल, भुरुङतातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौवटा तातोपानीका मुहान फेला परेका स्थानीयवासीले बताएका छन् । 

म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मुलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सीयससम्मको तातोपानी निस्कने गर्दछ । सिङ्गातातोपानी ,भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोापानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन । 

म्याग्दीमा रहेका यस्ता प्राकृतिक तातोपानीका मुहानलाई व्यवस्थित गरी प्रचारप्रसार गर्नसक्ने हो भने बिरामीले स्वास्थ्य लाभ लिनुका साथै उपचार पर्यटनमार्फत स्थानीयवासीले आयआर्जन गर्नसक्ने बलियो सम्भावना रहेको नेकपा एमालेका राजकुमार थापाले बताए । रासस 

प्रकाशित: ५ चैत्र २०७३ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App