काठमाडौं- सिएमजी क्लब संकटाले नेपालगन्ज गोल्डकपको फाइनल यात्रा पक्का गरेपछि एक किशोरले भने, 'यो संकटा भनेको कुन क्लब हो। नाम नै सुनेको थिइनँ। यसपालि जतासुकै जितेको जित्यै छ। फुटबलमा यस्ता जोसिला नयाँ क्लब आउनुपर्छ, त्यसो भयो भने मात्र नेपाली फुटबल उँभो लाग्छ।'
सोमबार अन्तिम चारमा नेपाल पुलिस क्लबमाथि विजय हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेपछि नेपालगन्जका गणेश राईले राखेको जिज्ञासा थियो त्यो।
गणेश मात्र होइन, फुटबलका धेरै युवा समर्थक संकटाको सफलताबाट आश्चर्यचकित छन्। वर्षको अन्त्यतिर आइपुग्दा संकटाले घरेलु फुटबलमा ७ प्रतियोगिताको फाइनल खेलिसकेको छ। त्यसमा तीन उपाधि जितेको टोली चार पटक उपविजेता भएको छ। नेपाली फुटबलमा पछिल्ला दई दशकदेखि राज गरिरहेकामध्ये रुस्लान थ्री स्टार यसपालि कुनै पनि प्रतियोगितामा सहभागी छैन। त्यसबाहेक लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लबजस्ता महारथीलाई पन्छाउँदै झन्डै दुई दशकदेखि सुस्ताएको संकटाको उपलब्धिमा युवा पुस्ता चकित भएको हो।
रोशन र उनीजस्ता युवा पुस्ताका लागि संकटा नयाँ क्लब भए पनि वास्तविकता फरक छ। नेपाली फुटबलमा उनले भनेजस्तो संकटाको आगमन भएको होइन, यो त लामो समय देशको फुटबल थेगेको क्लबको पुनरागमन हो। घरेलु फुटबलमा संकटाले सफलता आत्मसात् गर्नु नौलो होइन। देशभित्र यो खेलमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने क्लबमा पर्छ संकटा।
काठमाडौंको मुटु टेबहालस्थित क्लबले ३८ वर्षअघि खचाखच दर्शकसामु दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज शिल्ड जितेको थियो। क्लबले ६ दशकभन्दा लामो इतिहास बनाउँदै गर्दा समर्थकहरू अझै कोसी–११ लाई हराउँदै त्रिभुवन च्यालेन्ज शिल्ड जितेको त्यो फाइनल सम्भि्कन्छन्।
नेपाली फुटबलकै पुरानोमध्येको संकटा क्लबले त्यसपछि थुप्रै आरोहअवरोह भोग्यो। फुटबल विकासक्रमसँगै खेलभित्रको राजनीतिका धेरै महत्वपूर्ण मोडमा पनि संकटा मुख्य यात्री रह्यो।
२०४२ सालमा जितेको शहीद स्मारक 'ए' डिभिजन लिग संकटाको पछिल्लो ठूलो उपलब्धि थियो। त्यसयता घरेलु फुटबलमा प्रभाव घट्दै गएको टोली यसपालि तीन उपाधिमा कब्जा जमाउनुअघिसम्म प्राण धान्न मात्र सक्रिय रह्यो। कुनै बेला प्रशासनिक, आर्थिक तथा राजनीतिक मुद्दाका कारण फुटबल नखेल्ने अवस्थासम्म पुगेको क्लब अहिले पुरानो साख ब्यँुताउने क्रममा छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा समेत कार्यरत क्लबका अध्यक्ष इन्द्रमान तुलाधर समुदायको मायामा पुरानो साख फर्काउने अभियानमा लागेको बताउँछन्। भन्छन्, 'संकटा नेपाली फुटबलमा अनुभवी क्लब हो। समयले क्लब व्यवस्थापनलाई बलियो बनाएको छ। संकटा समुदायमा आधारित जनताको क्लब हो। विगतमा भोगेका चुनौती र अप्ठ्यारो अवस्थाले हामीलाई झन् बलियो बनेर अगाडि बढ्न सिकायो। भविष्यमा पनि राष्ट्रलाई आवश्यक पर्ने उत्कृष्ट खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो।'
तुलाधर अनुभवले खारिएको व्यवस्थापनका कारण टोलीले सफलता हासिल गरिरहेको बताउँछन्। 'हामीले अहिले ९ नयाँ खेलाडी अनुबन्धित गरेका छौं। अझै केही खेलाडी थप्ने तयारी छ। सबै सफलता व्यवस्थापनको कारणले हो,' तुलाधरले थपे, 'अरू क्लब सक्रिय नभएर हामी सफल भएका होइनौं। संकटाले आर्मी, पुलिस, एपिएफजस्ता बलिया विभागीय टोलीलाई हराउँदै सफलता हात पारिरहेको छ। यसले हामी आफंै बलियो भएको प्रमाण दिन्छ।'
क्लबको इतिहास पल्टाउने हो भने देशलाई धेरै कुशल फुटबलर दिएको जस संकटाको पोल्टामा जान्छ। २०३३ देखि २०४३ सालसम्मको अवधि संकटाको स्वर्णिम समय थियो। यही समयमा क्लबले देशमा हुने लिग, त्रिभुवन च्यालेन्ज शिल्डलगायत सबैखाले प्रतिष्ठित प्रतियोगिता जितेको थियो।
एन्फाका पूर्वअध्यक्ष कमल थापा र गणेश थापासहित ईश्वरमान तुलाधर, जीवन शाही, रजतमान तुलाधर, किरण खड्का, अजर मानन्धर, मनोरञ्जन डंगोल, सानुराजा शाक्य, नरेन्द्रमान सिंह, वीरेन्द्रमान सिंह, राजमान तुलाधर, प्रकाश नेपाली, सुरेन्द्र सिख्राकार, राजेश तुलाधर, राजु शाह, कुमार महर्जनजस्ता खेलाडी आफ्नो समयमा संकटा टिमका सदस्य थिए।
नेपाली राजनीतिमा नयाँ परिवर्तन आइरहेका बेला टेवहालका युवाहरुले २००७ सालमा संकटा क्लब गठन गरेका थिए। त्यति बेला एनआरटी, आरसिटी, महावीर, नरशमशेर ११, डिल्ली बजार ११, ठमेल ११ जस्ता क्लब नेपाली फुटबलमा स्थापित क्लब थिए। धेरै क्लबलाई राणा र अन्य प्रभावशाली व्यक्तिको साथ थियो। प्रजातन्त्रणको आगमनले नेपाली समाजमा उत्साह छाइरहेका बेला संकटा क्लब गठन भएको थियो।
एनआरटी क्लबबाट धेरै स्थानीय खेलाडीले फुटबल खेल्ने अवसर नपाएपछि संकटा क्लब जन्मिएको हो।
पाका संकटाकर्मीहरूको स्मरणमा भएअनुसार २००७ सालमा टेबहालका युवाले एनआरटीबाट छुटि्टएर ब्वाइज स्पोर्ट्स क्लब गठन गरे। पछि तत्कालीन टोल संघका सभापति सूर्यनारायण मालीले क्लबलाई समुदायमा लोकप्रिय बनाउन २००८ सालमा संकटा ब्वाइज स्पोर्ट्स क्लब नाम राखिदिए। लोकप्रिय संकटा मन्दिरको नामसँग जोडिएको संकटा क्लबले त्यही वर्ष बालसखा दल क्षेत्रपाटीले गरेको नकआउट प्रतियोगिता (४० र ४८ इन्च उचाइ भएका खेलाडीले खेल्ने) गरेको थियो। संकटाले त्यही प्रतियोगिता जित्दै नेपाली फुटबलमा विजयी यात्राको सुरुआत गरेको थियो।
युवा खेलाडीको बाहुल्य भएका कारण संकटाले फुटबलमा एक पछि अर्को सफलता हासिल गर्दै गयो।
२०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको अवसरमा ६० इन्च उचाइको राज्याभिषेक कप नकआउट फुटबलमा संकटाले दोस्रो स्थान हासिल गर्यो। यो संकटाको सफलतायात्राको सुरुआत थियो। त्यसको दुई वर्ष नबित्दै १५ सालमा तत्कालीन नेपाल फुटबल संघले गरेको बी डिभिजिन लिग च्याम्पियन बन्दै संकटा शीर्ष डिभिजनमा प्रवेश गरेको थियो। ए डिभिजन लिग २०३१ सालमा जित्दासम्म संकटा नेपाली फुटबलमा प्रभावशाली क्लबको रूपमा स्थापित भइसकेको थियो।
स्थापनादेखि संकटाले आर्थिक र थुपै्र राजनीतिक अवरोध सामना गरेको छ। तर फुटबलका लागि टेबहालका युवाहरू जस्तोसुकै अवस्थामा पनि एकजुट हुने गरेका कारण संकटाले अस्तित्वलाई जोगाइराखेको अध्यक्ष तुलाधरको बुझाइ छ। २०२७ सालमा संकटा शीर्ष डिभिजनबाट रेलिगेसनमा परेर पहिलोपल्ट बी डिभिजनमा झरेको थियो। तर लगत्तैको वर्ष क्लब पुन ए डिभिजनमा फर्कियो।
एक सिजन ए डिभिजनमा संकटाका दुई रातो र सेतो टिम थिए। २०३३ सालमा बनाएको बी डिभिजन क्लबले लिग जितेपछि संकटाका दुई टोलीले ए डिभिजनको हैसियत बनाएका थिए। तर आर्थिक कारण क्लबले दुबै टोलीलाई ए डिभिजनमा जोगाइराख्न सकेन। र अर्को वर्ष बी डिभिजनमा टोली रेलिगेसनमा पर्यो। २०६० मा संकटा पुनः बी डिभिजनमा झरेको थियो। तर १ वर्षपछि पुनः क्लब ए डिभिजनमा फर्कियो। त्यसको २ वर्ष अघि क्लबले आर्थिक अभावका कारण फुटबल नखेल्ने निर्णय गरेको थियो।
संकटाका महासचिव रमेशध्वज बस्नेत क्लबको विकासमा फुटबल राजनीतिले असर गर्ने गरेको बताउँछन्। उनले भने, 'फुटबल नेतृत्वले क्लबको बारेमा धेरै सोच्नै सकेन। फुटबल विकासको नाममा राजनीतिक रूपमा नीति बने। खेलाडी केन्द्रित योजना भएका कारण संकटाजस्तै अन्य क्लबलाई टिक्नै समस्या भएको हो।'
संकटाले सिजनमा उत्कृष्ट नतिजा निकालिरहे पनि क्लब आर्थिक रूपमा अझै घाटामा रहेको बस्नेतले बताए। उनले भने, 'मुख्य कुरा एन्फाले क्लबलाई कसरी व्यवस्थित बनाउने भन्नेमा सहयोग गर्नुपर्छ। फुटबल खेल्न आर्थिक रूपमा गाहो छ। तर टिम समन्वय, प्रायोजक र सरकारी निकायको सहयोग भए केही सहज हुन्छ।'
फुटबल विकासको गतिसँगै हिँड्ने प्रयास गरेको संकटाले २०५६ सालमा काठमाडौं मललाई मुख्य प्रायोजकका रूपमा भिœयाएको थियो। १५ वर्षका लागि वार्षिक ८ लाख रुपैयाँ पाउने गरी संकटाले काठमाडौं मलसँग सहकार्य सम्झौता गरेको थियो। तर त्यो सम्झौता ३ वर्षभन्दा अगाडि बढ्न सकेन। क्लबले २०६९ सालमा सिएमजीसँग ४ वर्षको लागि सम्झौता गरेको छ। सम्झौताबापत क्लबले वार्षिक १५ लाख पाउँछ।
आर्थिक अभाव नै क्लबका लागि मुख्य चुनौती भएको बताउँछन् तुलाधर। क्लबलाई सक्रिय बनाइराख्न तीन कुरा महत्वपूर्ण हुने तुलाधरको बुझाइ छ। उनले भने, 'अहिले फुटबलमा टिक्न मुख्य चुनौती व्यावसायिक व्यवस्थापन, सरकारको सहयोग र वार्षिक खेलतालिका स्पष्ट नहुनु हो। व्यवस्थापन व्यावसायिक हुने, सरकारले सहयोग गर्ने र एन्फाले स्पष्ट वर्षभरिको खेलतालिका बनाउने हो भने क्लबलाई धेरै सजिलो हुन्छ।'
प्रकाशित: ५ चैत्र २०७३ ०२:४२ शनिबार