७ वैशाख २०८१ शुक्रबार
प्रवास

भिजिट नेपाल युरोप २०१७ को शुरुआत लण्डनबाट

लन्डन - युरोपेली नागरिकहरुलाई नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले “भिजिट नेपाल युरोप २०१७” का लण्डनमा औपचारिक शुरुआत गरिएको छ।

वेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बुधबार वेबसाइट उद्घाटन गरी कार्यक्रमको शुरुआत गरे।

सो अवसरमा बोल्दै राजदूत सुवेदीले पर्वतारोहण र पदयात्राका लागि नेपाल विश्वमै सर्वोत्कृष्ट गन्तव्यको रुपमा चिनिएको स्मरण गर्दै साहसिक, धार्मिक र सांस्कृतिक पर्यटनकालागि पनि एक विशिष्ट गन्तव्यको रुपमा रहको बताए । 

नेपाल सरकारले आफुलाई लण्डनमा मुख्यालय रहेको वर्ल्ड टुरिज्म अरगनाइजेशनकालागि स्थायी प्रतिनिधि नियुक्त गरेको बताउँदै उनले नेपालमा पर्यटन प्रबर्द्धन गर्न आफुले सक्दो प्रयास गर्ने पनि राजदूत सुवेदीले बताए।

प्रमुख अतिथि ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा सांसद वीरेन्द्र शर्माले आफुले चार पटक नेपालको भ्रमण गरिसकेको र हरेक पटक आफुले नेपाल अत्यन्त सुन्दर र नेपाली जनता अत्यन्त सहृदयी भएको पाएको बताए।

कार्यक्रमको शुरुमा ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसंपर्क प्रतिनिधि पशुपति भण्डारी, नेपाल आइरिश समाजका अध्यक्ष दीपेशमान शाक्य तथा डनमार्ककालागि मानार्थ जनसंपर्क प्रतिनिधि सोमनाथ सापकोटाले नेपालमा पर्यटन संभाव्यताकाबारे प्रस्तुति दिएका थिए। सो अवसरमा बोल्दै  भण्डारीले नेपाल जाने पर्यटकहरुमध्ये ब्रिटिश पर्यटकहरु चौथो स्थानमा रहेको जानकारी दिए।  

कार्यक्रममा ब्रिटेनस्थित विभिन्न ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधिहरु सहभागी थिए। सो समारोहमा जर्मनीका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसंपर्क प्रतिनिधि सन्तोष भट्टराई पनि सहभागी थिए।

 



 

प्रकाशित: ४ चैत्र २०७३ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App