७ वैशाख २०८१ शुक्रबार
राजनीति

७ ठाउँमा ७ छाप

इलाम- स्थानीय निकाय पुनर्संरचना भएर ‘स्थानीय तह’मा परिणत भएपछिको पहिलो निर्वाचनमा कसरी भोट हाल्ने भन्ने जिज्ञासामा हुनुहुन्छ?  मतदाताले स्थानीय तहको निर्वाचनमा स्थानीय निकायभन्दा केही फरक तरिकाले भोट हाल्नुपर्ने भएको छ।

                तपाइँले पाउने मतपत्रमा आफूले रोजेका ७ उम्मेदवारलाई सातै ठाउँ भोट हाल्नुपर्छ। नगरपालिका भए त्यसको प्रमुख वा उपप्रमुख, गाउँपालिका भए अध्यक्ष र उपाध्यक्षका लागि १–१ भोट, आफ्नो वडाको वडाध्यक्षलाई १, आफ्नै वडाका २ खुला सदस्यलाई १–१ र २ महिला वडा सदस्यहरूलाई १–१ भोट हाल्नुपर्छ। महिला वडा सदस्यमध्ये पनि १ जना दलित समुदायको प्रतिनिधि हुनेछिन् । तर, मतपत्रमा नाम नभई सम्बन्धित उम्मेदवारलाई प्रदान गरिएको चिह्नमात्रै हुने भएकाले धेरै मतदाता झुक्किन सक्ने सम्भावना छ।

                मतपत्रको पहिलो कोठामा नगरपालिकाको बासिन्दा भए प्रमुखलाई र गाउँपालिका भए अध्यक्षलाई भोट हाल्ने ठाउँ हुनेछ। दोस्रो कोठामा नगरको भए उपप्रमुख र गाउँपालिकाको भए उपाध्यक्षलाई भोट हाल्नुपर्छ । तेस्रो कोठामा आफ्नो वडाको वडाध्यक्षलाई भोट हाल्नुपर्नेछ । पहिलो, दोस्रो र तेस्रो कोठामा १–१ वटामा मात्रै चुनाव चिह्न हुनेछन् । राजनीतिक दलबाट उठेको उम्मेदवार भए सम्बन्धित दलकै चुनाव चिह्न र स्वतन्त्र उठेको भए उसलाई प्रदान गरिएको चिह्न कोठामा राखिएका हुन्छन्।

                चौथो कोठामा २ खुला वडा सदस्यलाई २ ठाउँमै छाप लगाउनुपर्छ । दुवै उम्मेदवार दलबाटै उठेका भए पहिलो कोठामा एउटा र दोस्रोमा दुईटा उस्तै चुनाव चिह्न हुनेछन् । ‘कुन उम्मेदवारलाई एउटा र कुनलाई २ वटा चिह्न प्रदान गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ,’ निर्वाचन आयोगका केन्द्रीय प्रवक्ता सूर्य शर्माले नागरिकसँग भने, ‘कुनै आधारमा आधारित रहेर उम्मेदवारको चुनाव चिह्न प्रदान गरिनेछ।’ स्वतन्त्र रूपमा उठ्ने उम्मेदवारलाई बेग्लै चिह्न तोकेर दिइने उनले बताए।

                पाँचौं कोठामा महिला र दलित महिलालाई बेग्लाबेग्लै भोट हाल्नुपर्छ । यहाँ पनि दलित महिलाका लागि कति वटा र अर्की महिलाका लागि कतिवटा चुनाव चिह्न प्रदान गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेको प्रवक्ता शर्माले बताए । ‘मतदातालाई एउटा कोलममा दलित महिला र अर्को कोलममा अर्की महिलालाई मतदान गर्न सक्नेगरी व्यवस्था मिलाइने छ,’ शर्माले भने । मतदाताले बेग्लाबेग्लै पदमा उठेका बढीमा ७ जनालाई ७ भोट हाल्न पाउँछन्, । २ वडा सदस्यबाहेक एउटै पदमा उठेका २ जनालाई मतदान ग¥यो भने बदर हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २ वडा सदस्यलाई चाहिँ मतपत्रको कोठामा ठाडो रूपमा मतदान गरेपनि बदर मानिने छैन।

                १९ वर्षअघि स्थानीय निकायको निर्वाचन हुँदा मतदाताले जम्मा ७ जनालाई सातै ठाउँमै भोट हाल्नुपर्थ्यो। तर, त्यतिबेला वडा सदस्यमा १ महिलामात्र अनिवार्य थियो । स्थानीय तहको आउँदो चुनावमा भने २ वडा सदस्य अनिवार्य महिला, त्यसमा पनि १ जना दलित समुदायकै महिला हुनुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन ऐन–२०७३ ले गरेको जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले बताए। नगरपालिका वा गाउँपालिकाको प्रमुख या उपप्रमुखमा पनि महिला उम्मेदवार नै उठाउनुपर्ने व्यवस्था ऐनमा छ । तर, प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षमध्ये १ मा महिला उम्मेदवारको व्यवस्था रहेपनि २ मध्ये १ पदमा महिला मात्रै विजयी हुने अवस्था भने छैन ।

                पुरुषले त्यही पदकी महिला उम्मेदवारलाई पराजित गर्न सक्ने भएकाले विजयी हुँदा भने नगर प्रमुख वा उपप्रमुख र गाउँपालिका अध्यक्ष वा उपाध्यक्षमध्ये १–१ महिला नआउन सक्छन्। १ दलको अध्यक्षले अर्को दलको अध्यक्ष उठेकी महिला र १ दलको उपाध्यक्षले अर्को दलबाट उठेकी महिलालाई पराजित गर्ने सम्भावना भएकाले दुवै पदमा विजयी चाहिँ पुरुष–पुरुष नै हुन पनि सक्छन् । सरकारले तोकेअनुसार आउँदो वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुनेछ । निर्वाचनमा देशभरबाट ३६ हजार ६ सय ५४ उम्मेदवार स्थानीय तहको जनप्रतिनिधिका रूपमा निर्वाचित हुनेछन्।

 

प्रकाशित: ४ चैत्र २०७३ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App