७ वैशाख २०८१ शुक्रबार
अन्य

मनसुन अगाबै बाढी त्रासदी

यसैसाता लाटामाण्डौ–९, तिलतालीमा यस्तै दृश्य देखियो । साँझ अकस्मात परेको भारी मुसलधारे वर्षाले पन्ध्र मिनेट नपुग्दै गाउँ नै जलमग्न पार्‍यो। गाउँको किनारमा रहेको सुख्खा खोलामा आएको बाढी एकाएक गाउँमा पस्यो । बाढीसँगै ठूलठूला ढुङ्गा, रुख, माटो तथा बालुवा पनि सँगै आए । यसक्रममा गाउँलेका घर–घरमा पानी पसिसकेको थियो। त्यो दृश्यले गाउँलेलाई त्रसित पार्‍यो। गाउँलेमा ‘गाउँ नै बगाउने’ डर उत्पन्न भयो र भागाभाग गर्न थाले । यसक्रममा एक वृद्ध महिला घाइते हुन पुगिन्।

बाढीले मानवीय क्षति भन भएन। तर, व्यापक धनमाल तथा खेतीयोग्य जमिनमा क्षति पुगेको छ । स्थानीयले आफ्नो जीवनमा त्यस्तो बाढी कहिल्यै नदेखेको प्रतिक्रिया दिए । ‘दिउँसो त, पानी पर्ने सुरसार थिएन। आकाशमा बादलको धर्सा पनि थिएन। एकैचोटी ठूलो मेघ (वर्षा) आयो । मेघपछि ठूलो बाढी पनि,’ स्थानीय बृद्धा लाली टमटाले भनिन्, ‘बाढीसँगै ढुङ्गा, रुख पनि थिए । त्यो देख्दा साह्रै डर लाग्यो। अब त बाँचिन्न होला सोचेकी थिएँ।’ आफ्नोे उमेरसम्म तिल्तालीमा यस्तो बाढी नदेखेको उनी बताउँछिन्। ‘यस्तो बाढी कहिल्यै देखेन । धन्न ज्यान गएन,’ उनले भनिन्।

बाढीले गाउँका धेरैजसो घरको जगमा क्षति पुर्‍याएको छ। खेतीयोग्य जमिनमा ढुङ्गा, बालुवा र माटो ल्याएर थुपारिदिएको छ। बाढी घरभित्र पसेकाले घरमा राखिएको अन्न, धनमाल तथा लत्ताकपडामा क्षति पुगेको छ। घटनापछिको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यसहित टोली घटनास्थल पुगेको थियो। सोही क्रममा घटनामा पीडित स्थानीयलाई तत्कालका लागि राहत उपलब्ध गराउन गाविस तथा जिल्ला विकास समितिलाई निर्देशन गरिएको थियो ।

बाढीपछि सोही ठाउँ भएर डोटी–डडेलधुरा जोड्ने केआइसिंह राजमार्ग पनि केही समय अवरुद्ध बनेको थियो।

यस्तै दिपायल सिलगढी नगरपालिका–८ खैरेतोलामा बिहीबार साँझ ५ बजेतिर आएको बाढीले क्षति पुर्‍याएको छ। स्थानीय औलेखोलाले एउटा घर बगाइदिएको छ। साथमा सोही ठाउँमा रहेका अन्य १० वटा घरमा बाढीको जोखिम बढाएको स्थानीय नरेश खड्काले जनाएका छन्। सोही ठाउँमा रहेको अर्को जुनीबाटा खोलाले एकजनालाई बगाएर घाइते बनाएको छ । दिपायल सिलगढी नगरपाललिका–११ तिखाका लक्षी खड्कालाई खेत जोतेर फर्किने क्रममा खोलले बगाएको थियो । उनीसँगै गोरु समेत बगेका थिए।

यस्तै शनिबारको वर्षाले सातफरी गाविसमा रहेको सातफरी माध्यामिक विद्यालयको एक कोठा भत्ँिकदा कोठामा राखिएका चार थान कम्प्युटर र प्रिन्टरमा नोक्सानी पुगेको प्रधानाध्यापक यज्ञराज बिनाडीले बताए । एक साता अघि बनलेग गाविसको बानेडुग्रीसैनमा पनि यस्तै प्रकृतिको बाढी गाउँमा पस्दा पूरै गाउँको खेतीयोग्य जमिनमा क्षति पुगेको थियो।

मनसुन सुरु नभई सकेको भए पनि डोटीका धेरैजसो ठाउँमा यसपटक यस्तो किसिमको वर्षा भइहेको छ । जसले अकस्मात ठूलो क्षति पुर्‍याइरहेको छ। जल तथा मौसम विज्ञान विभाग काठमाडौंका अनुसार प्रिमनसुन समयमा पहाडी क्षेत्रमा यस्ता प्रवृतिका वर्षा हुने गर्छन्। विभागका मौसमविद् बरुण पौडेलले  यस्ता वर्षा डोटीमा मात्रै नभई देशभर भई रहेको बताए। उनले भने, ‘यो समयमा विशेषगरी पहाडी क्षेत्रमा छोटो समयमा धेरै पानी पर्ने, गड्याङगुडुङ हुने चट्याङ पर्नेसम्मका समस्या आउन सक्छन्।’ यस्ता वर्षा सबै ठाउँमा एकैसाथ नहुन पनि सक्ने उनले बताए।

 

प्रकाशित: २ असार २०७३ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App