८ वैशाख २०८१ शनिबार
समाज

आत्मनिर्भर बन्दै महिलाहरू

मदनपोखरा पाल्पाली ढाका पसलमा सीतम भण्डारी । तस्बिर : मुक्तिप्रसाद न्यौपाने

पाल्पा – हस्तकला तथा साना उद्योगहरुबाट जिल्लाका महिलाहरू आत्मनिर्भर बन्दै गएका छन् । हाते सीप र कलाको प्रयोग गरी बनाईएका बच्चाका लागि खेलौना तथा गुडिया, घर, कार्यालय सजावटका सामाग्रीहरु कुसनहरूसँगै सिलाई कटाई र व्युटिपार्लरबाट महिलाहरु आत्मनिर्भर बन्न थालेका हुन् । 
हातले बनाएका सामाग्री पाल्पा घुम्न आउने पर्ययटकको रोजाई बन्दै गएको छ । जिल्लाका सबैजसो घरेलु ढाका उद्योगहरुमा महिलाहरू काम गर्ने गर्दछन् । यतिमात्र होईन दुई दर्जन बढी महिलाहरूले हस्तकलाको पेसालाई व्यवसायिक रुपमा अंगालेका छन् । सिलाईकटाई र ब्युटीपार्लरमा संलग्न हुने महिलाहरू पनि उत्तिकै मात्रामा रहेका छन् ।
महिलालाई व्यवसायिक र अत्मनिर्भर बनाउन हस्तकला, सिलाइकटाई, ब्युटीपार्लर, ढाका, मोबाइल मर्मत लगायतका तालिमहरू सञ्चालन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बालकृष्ण गैरेले बताए । उनी भन्छन्, ‘हस्तकलाको उत्पादन र प्रयोगमा पनि वृद्धि भएको छ । कमजोर आर्थिक अवस्था भएका महिलाहरुकालागि व्यवसायिक बनाउन सिलाई मेशिन तथा व्युटिपार्लरका औजार समेत वितरण गरिएको छ । हस्तकलाको व्यवसायिक उत्पादन र बिक्रीले महिला आत्मनिर्भर बनेका छन् ।’ गैरेले भन्छन्, ‘विगत बीस वर्षको अवधिमा जिल्लाका एक हजार बढी महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सिलाईकटाई तालिम प्रदान गरिएको थियो ।’ उनी भन्छन्, पचास प्रतिशत भन्दा बढी महिलाहरू तालिमपछि स्वरोजगार बनेका छन् । केहीले आफूलाई आवश्यक सामाग्रीहरू आफैँ तयार गर्ने गरेका छन् ।  
दोभान–२ पाल्पाकी हरिकला थापा मगरलाई अहिले नयाँ समान उत्पादन  र हस्तकलाको तालिम दिने कामले भ्याइनभ्याई छ । जिल्ला सदरमुकाम तानसेनको लहरेपिपलमा उनले प्रतिक्षा हस्तकला सञ्चालन गरेकी छिन् । तीन हजारको लगानीबाट व्यवसाय सुरु गरेकी उनले मासिक ४० देखि ५० हजारसम्म बचत हुने बताईन् । उनी भन्छिन्, कपडा, कपास, फाइवरको कच्चा सामग्रीबाट खेलौना, कुसन, चुरा, ऐना, फूल, झोला, बुटिक सामाग्रीहरुको माग बढेको छ । थापा भन्छिन्, ‘झण्डै चार सय जनालाई तालिम प्रदान गरिसके । अहिले धेरै दिदिबहिनीले कुसन तथा खेलौना बनाएरै गुजारा गरेका छन् ।’
पाल्पाको पहिचानको रुपमा रहेको ढाका उद्योगहरुमा अहिले झण्डै एक सय बढी महिलाहरूले रोजगारी पाईरहेका छन् । मदनपोखरा ढाका सञ्चालन गर्दै आएकी सितम भण्डारीले आठ जना महिलाहरुलाई रोजगारी प्रदान गरेको बताईन् । उनी भन्छिन्, महिलाले सानो सीपबाट राम्रो आम्दानी गर्न सक्छन् । ‘मासिक पचास हजारसम्मका ढाकाबाट उत्पादित सामाग्रीहरुको बिक्रिबाट आम्दानी हुन्छ । ढाकामा नै जीवन अडेको छ,’ भण्डारीले भनिन् । अहिले ढाकाका वस्तुहरुमा विविधिकरण गरि धेरै महिलाहरुलाई रोजगारी प्रदान गर्ने योजना समेत रहेको उनी बताउँछिन् । 
 घरेलु सामानको उत्पादन र बिक्रीबाट घरपरिवार चलाउन कुनै समस्या नभएको तानसेन बडीज्ञान टोलकी देवी सारुले बताईन् । मासिक २० देखी २५ हजार आम्दानी हुन्छ । घरमै बसेर पनि हस्तकलाका सामग्री बनाउन सकिने रहेछ । रामपुरकी सिता रानाले आफ्नै लगानीमा तीन महिने सिलाई कटाई तालिम लिएर कपडा पसलमा काम गर्न थालेकि छिन् । उनले सिलाई कटाई काम गर्दा दैनिकी नै फेरिएको र घरपरिवार सञ्चालन गर्न सजिलो भएको बताईन् । कपडा सिलाएर मासिक रुपमा २० हजार रुपैँयासम्म आम्दानी गर्न सफल भएको उनी बताउँछिन् । सिलाईकटाई व्यवसायमा रमाउने रामपुर बजार क्षेत्रमा दुई सय बढी महिलाहरु रहेकाछन् । रानाले सिलाई व्यवसाय आम्दानीको लागी बलियो भरपर्दो र दिगो स्रोत बनेको बताउँछन् ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख तुलसा अर्यालले महिलाहरू आयआर्जनमा समावेश हुँदा उनीहरूको दैनिक दिनचर्चा फेरिएको बताईन् । उनी भन्छिन्, महिलाहरु आत्मनिर्भर हुँदा आत्मसम्मानमा वृद्धि हुनुका साथै जिवनस्तरमा वृद्धि भएको छ । 

प्रकाशित: ४ चैत्र २०७३ ०५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App