८ वैशाख २०८१ शनिबार
समाज

पर्यटक तान्दै ललितपुरका गाउँ

ललितपुर- हिजोआज उपत्यकाबासी भीडभाड र धुवाँधुलोदेखि हैरान छन्। केही छिन वा एक दिन भए पनि उनीहरू शान्त ठाउँ खोज्छन् तर त्यो सहरनजिकै होस्। उनीहरूको चाहनाबमोजिम अहिले उपत्यका नजिकका ग्रामीण बस्तीमा होमस्टे र स्थानीय उत्पादन पनि फस्टाउन थालेका छन्।

यसमध्ये धेरै उपत्यकाबासीले रुचाउने पर्यटकीय स्थल हो– दक्षिण ललितपुर। सातदोबाटोबाट झन्डै ३० किमी दूरीमा रहेका होमस्टे र हरियाली गाउँबस्तीमा पर्यटकको आकर्षण बढ्दै गएको छ। यहाँको भौगोलिक सुन्दरता, तामाङ र मगर बस्तीले यहाँ पुग्ने जो कोहीलाई मोहित पार्छ।

सरकारले २०५६ मा ग्रामीण पर्यटन अवधारणा ल्याएपछि ग्रामीण क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुँदै गइरहेकोे छ। दक्षिण ललितपुरलाई सार्क राष्ट्रकै नमुना गाउँको रुपमा पनि परिचित गराउन स्थानीय लागिपरेका छन्। 'भौगोलिक रुपले पछि परेको दक्षिण ललितपुरलाई हामीले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै र्छौँ,' दक्षिण ललितपुरको गिम्दीस्थित मगरगाउँका स्थानीय प्रशान्त थापामगरले भने। उनका अनुसार यो क्षेत्र गाउँलेकै प्रयासमा पर्यटकीय नमुना बस्ती बन्न थालेको छ।

दलचोकी, नल्लु, भारदेउ, गोटीखेललगायत स्थानमा होमस्टे बनिसकेका छन्। तामाङ संस्कृति झल्कने परम्परागत कला संस्कृतिलाई यहाँ आउने पाहुनाले मन पराएका छन्।

यहाँ पर्यटक तान्ने गर्ने धेरै वस्तु रहेको चौघरेका स्थानीय अगुवा वेद लामाले बताए। मनोरम दृष्य, स्थानीय कला, संस्कृति, आतिथ्य सत्कार र पारिवारिक वातावरणले दक्षिण ललितपुर पर्यटकको रोजाइमा परेको छ। स्थानीय युवाले गाउँगाउँमा गर्ने संास्कृतिक महोत्सवले पनि पर्यटकलाई झन् लोभ्याएको  लामाले बताए।

यहाँ आउने पर्यटकलाई जनजाति समूहले झाँकी, पहिरन तथा नाच देखाउने गरेका छन्। कालेश्वर महादेव मार्गमा पर्ने पार्वती डाँडा र कालेश्वर महादेव डाँडाको पूर्वी, दक्षिणी मोहोडामा चट्टान आरोहण गर्नकै लागि पनि अहिले आन्तरिक पर्यटक आउन थालेका छन्।

पर्वतीय क्षेत्रमा साइकल प्रयोग गरेर यात्रा गर्न रुचाउनेका लागि यहाँ माउन्टेन बाइकिङको व्यवस्था छ। माउन्टेन बाइकिङका लागि टीकाभैरव, दलचोकी, शंखु, इकुडोल सडक र गोटीखेल, बुखेल, इकुडोल, भट्टेडाँडा सडक उपयुक्त मानिन्छ।

ललितपुरको दक्षिण भेगका तामाङ बस्तीबाट अधिकांश अग्ला–होचा डाँडाकाँडासँगै हिमाल, तोरी फूलेका समथर फाँट अवलोकन गर्न पाउँदा मनै फुरुंग हुने स्थानीय बताउँछन्।

यहाँबाट काठमाडौं, ललितपुर, लेले र भक्तपुरसँगै मनोरम धवलागिरि, अन्नपूर्ण, मनास्लु, मुस्ताङ, माछापुच्छ्रेलगायत हिमाल अवलोकन गर्न सकिन्छ।

ललितपुर दक्षिण भेगमा जंगल सफारी, चराचुरुंगी अवलोकन साथै यहाँका स–साना खोलामा माछा मार्न पनि पाइन्छ। चौघरेदेखि ठोस्ने खोलासम्मको सडक आसपासमै वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ।

मुख्य मोटरबाटो दायाँबायाँमा मृग, खरायो, कालिज, तित्रा, काँडेभ्याकुर, भदराई, बट्टाई, ढुकुर, सारस, हुचिल, लाटोकोसेरो, कोइली, सुगा, भंगेरा, बाजलगायत वन्यजन्तु र पंक्षी अवलोकन गर्न सकिन्छ।

यहाँको बस्ती घुमघामका लागि मुख्य तीन बाटा छन्। माथिल्लो लेले–गोटीखेल सडक कालोपत्रे भइसकेको छ। लेले–भट्टेडाँडा–माल्टा कान्तिराजपथ अन्तर्गत पर्ने सडक भएकाले अहिले सडक विस्तार पनि भइरहेको छ। त्यस्तै, लेले–देवीचौर–घुसेलसम्म फराकिलो सडक पुगिसकेको छ।

बिजुली नपुगेको स्थानमा स्थानीयले सोलार बत्तीको व्यवस्था गरेको गोटीखेलका स्थानीय सागर न्यौपानेले बताए। 'यहाँको अर्को आकर्षण भनेको उपत्यकाको एक मात्र चिया बगान क्षेत्र पनि हो,' उनले भने, 'स्थानीयबासीले पाँच वर्षदेखि गोटीखेलमा चियाखेती गर्दै आएका छन्।'

यहाँका होमस्टेमा पुग्ने पाहुनाले ढिँडो, गुन्द्रुक, लोकल कुखुराको मासु, खुवा, सिस्नोलगायत परिकार खान पाउने उनले बताए।

यहाँबाट वैतरणीधाम, गुप्तेश्वर गुफा, चमेरे, नागगुफा, रमिते डाँडा, कालेश्वर महादेवस्थान, गढीलगायत स्थानमा अवलोकन गर्न पनि सकिन्छ। त्यस्तै, यहाँ एक दिनदेखि १२ दिनसम्म पदयात्रा गर्न  सकिने व्यवस्था छ। सरकारी तवरबाट यस्ता स्थानमा पर्यटकीय आकर्षणका लागि विशेष कार्यक्रम गर्नुपर्ने स्थानीयको माग छ।

प्रकाशित: ४ चैत्र २०७३ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App